पोखरा स्पोर्टस अवार्डमा युकेश र सुस्मी सर्बोत्कृष्ट, श्रेया पपुलर

पोखरा, २४ जेठ

टिभीएस अपाचे पोखरा स्पोर्टस अवार्ड–२०७५ मा युकेश गुरुङ र सुस्मी श्रेष्ठ सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको वर्ष सर्बोत्कृष्ट खेलाडी पुरुषमा प्याराग्लाइडिङका युकेश गुरुङ र वर्ष सर्बोत्कृष्ट खेलाडी महिलामा फूल कन्ट्याक्ट कराँतेकी सुस्मी श्रेष्ठले अवार्ड जितेका हुन् । वर्ष सर्बोत्कृष्ट खेलाडी विधामा युकेशले फूल कन्ट्याक्ट कराँतेका रुपक नेपाली र स्क्वासका अमृत थापालाई पछि पार्दै अवार्ड जिते । उनले बतास अर्गनाइजेसनको तर्फबाट टिभीएस अपाचे मोटरसाइकल प्राप्त गरे । युकेश अठारौं एसियाली खेलकुदमा रजत पदक बिजेता टोली प्याराग्लाइडिङका एक महत्वपूर्ण सदस्य हुन् । प्याराग्लाईडिङमा धेरै नै अंकले पछि परेको नेपाली टिमलाई युकेशले ह्वात्तै अंक ल्याएर पदक दिलाउन सफल भएका थिए । त्यस्तै आठौं राष्ट्रिय खेलकुदमा पनि युकेशले स्वर्ण पदक जितेका थिए ।

वर्ष सर्बोत्कृष्ट महिलामा सुस्मीले सुटिङकी श्रेया केसी र सफ्ट टेनिसकी प्रीति बराललाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनले बतास अर्गनाइजेसनको तर्फबाट एकथान स्कुटर प्राप्त गरिन् । गतवर्ष भारतमा आयोजित सेकेण्ड साउथ एशियन रिजनल कन्ट्रिज क्युकोसिन कराँते च्याम्पियनसीप खुला तौल समुहमा स्वर्ण, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मा खुला तौल समूहतर्फ काश्य, नेदरल्याण्डमा भएको २९ औं यूरोपियन च्याम्पियनसीप क्युकोसिन कराँतेमा खुला तौल समूहमा कास्य पदक जितेकी थिईन् ।

jutta mela

उदीयमान वर्ष खेलाडी विधामा त्रिकेटका अर्जुन कुमालले अवार्ड जिते । वर्ष उत्कृष्ट ३ को नोमिनेसनमा परेका आर्चरीकी अनुस्का शेरचन र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगरलाई पछि पार्दै अवार्ड जितेका हुन् । थाईल्यान्डमा भएको एसीसी यु–१६ इलाइट कपमा नेपाललाई च्याम्पीयन बनाउँदा अर्जुनको महत्वपूर्ण योगदान थियो ।

वर्ष उत्कृष्ट प्रशिक्षकमा फूल कन्ट्याक्ट कराँतेका दीपक गोदारले अवार्ड जिते । उनले ह्याण्डबलका भीमसेन शाक्य र हक्कीका राजेन्द्र पाठकलाई उछिन्दै अवार्ड चुमेका हुन् । आठौं राष्ट्रिय खेलकुदमा गोदारका ५ खेलाडीले स्वर्ण पदक जितेका थिए भने उनका चेलाहरुले विदेशमा हुने विभिन्न च्याम्पीयनसीपमापनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

मञ्चले उत्कृष्ट संघ विधामा कास्की जिल्ला बास्केटबल संघलाई अवार्ड प्रदान गरेको छ । संघले वर्षभरिनै विभिन्न प्रतियोगिता गर्नुका साथै खेलाडी उत्पादनमासमेत महत्वपूर्ण योगदान दिएकाले अवार्ड प्रदान गरिएको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

त्यस्तै, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार विनोद लामिछाने पुरस्कृत भएका छन् । मञ्चले गत वर्षबाट शुरु गरेको सो पुरस्कारबाट यस वर्ष लामिछानेलाई सम्मान गरिएको हो । लामिछाने पोखराबाट प्रशारण हुने पोखरा टेलिभिजन र रेडियो वाराहीमा आबद्ध छन् ।

श्रीया बनिन् वर्ष पपुलर खेलाडी

सुटिङ १० मिटर एयर पेस्तोलकी श्रीया केसी वर्ष चर्चित (पपुलर) खेलाडी बन्न सफल भएकी छन् । चौथो टिभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड विधामा राखिएको वर्ष चर्चित खेलाडीमा अन्य ८ जना खेलाडीलाई पछि पार्दै उनले अवार्ड जितेकी हुन् । सफ्ट टेनिसकी प्रीति बरालले पछ्याएपनि श्रीयाले उनलाई एक हजार भन्दा मतान्तरले पछि पारेको आयोजकको तर्फबाट अवार्डको प्रतिभा छनौट समितिका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । वर्ष पपुलर खेलाडीमा वर्ष उत्कृष्ट खेलाडी पुरुष तथा महिला र उदीयमान खेलाडी गरी ९ जना मनोनयनमा थिए ।

अवार्ड प्राप्त गर्नेहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, समामाजिक विकास मन्त्री नरदेवी पुनलगायतले सम्मान गरेका थिए ।

गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले गण्डकी प्रदेशका एकमात्र अन्र्तराष्ट्रिय स्वर्णपदक बिजेता चित्रबहादुर गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गरेको छ । चौथो टिभीएस अपाचे पोखरा स्पोर्टस अवार्ड वितरण समारोहमा गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व सम्मानित खड्गबहादुर रानाभाटलगायतले चाँदी जडित ट्रफी, सम्मानपत्र, दोषल्ला, माला लगाएर सम्मान गरेका थिए ।

गुरुङ गण्डकी प्रदेशका एकमात्र स्वर्ण पदकधारी पूर्व खेलाडी हुन् । २७ वर्षको उमेरदेखि मात्र व्यवसायीक खेल खेल्न शुरु गरेका उनले नेपालका लागि ३ महत्वपूर्ण अन्र्तराष्ट्रिय खेलमा पदक दिलाएका छन् । १९८९ मा बेइजिङमा भएको चौधौं एसियन बक्सिङ च्याम्पीयनसीपमा काश्य पदक दिलाएका गुरुङले १९९० मा भएको एघारौं एसियन गेममा नेपाललाई काश्यपदक दिलाएका हुन् । उनले १९८९मा पाकिस्तानमा भएको चौथो साफ गेममा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । चौथो साफ गेममा नेपालका लागि उनैले एकमात्र स्वर्ण पदक दिलाएका थिए ।

स्याङ्जा जिल्ला साविक मनकामना गाविस र हाल विरुवा गाउँपालिका वडा नम्बर ७ मा २०१८ साल असोज २० गते जन्मेका गुरुङ हाल पोखरास्थित वन विज्ञान अध्ययन संस्थानमा खेल शिक्षकका रुपमा कार्यरत छन् ।

You might also like

Comments are closed.