प्राज्ञ विद्या अब सांसद, जोगाइन् रवीन्द्रको विरासत, फराकिलो मतान्तरले बिजयी

आर्थिक आवाज
पोखरा । प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर–२ मा नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारी निर्वाचित भएकी छन् । नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतका फराकिलो मतान्तरले पराजित गर्दै विद्या बिजयी भएकी हुन् । कुल ४५ हजार ५ सय ४६ मत रहेको कास्की २ मा बिजयी विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन् । पराजित खेमराजले १५ हजार ९ सय ९१ मत प्राप्त गरे ।

त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत, राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ र साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गरे । अन्य उम्मेद्वारले भने उल्लेख्य मत प्राप्त गर्न सकेनन् । ६ सय मत भने बदर भएको निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

विद्याको पहिलो जित भएपनि उनको परिवारको भने यो चौथो जित हो । यसअघी उनका पति रवीन्द्रले ३ पटक जितेर ह्याट्रिक नै गरेका थिए । रवीन्द्रले पहिलो संविधान सभा २०६४ र दोश्रो संविधान सभा २०७० मा जितेका थिए भने आम निर्वाचनमा प्रतिनिधि सभाको निर्वाचन २०७४ मा जितेर ह्याट्रिक पूरा गरेका थिए ।

पतिको निधनपछि रवीन्द्रको उत्तराधिकारीका रुपमा चुनावी मैदानमा होमिएकी उनले रवीन्द्रको विरासतलाई जोगाउँदै बिजय यात्रा जारी राखिन् । उनले पतिकै हाराहारीको मतान्तर कायम राखेर पतिको पदचाप पछ्याएकी हुन् ।

बिजयी भएपछि विद्या भट्टराई अधिकारीले जनताको माया र आफूप्रति जनताले गरेको भरोसाले जितेको प्रतिक्रिया दिइन् । उनले यो जित जनता र रवीन्द्रकोपनि जित भएको बताइन् । साथै उनले मतदातासँग चुनावको दौरानमा गरेका बाचा पूरा गरेरै छाड्ने पुनः प्रतिबद्धता जनाइन् ।

पराजित नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले हारलाई सहज रुपमा लिएको बताए । जनताले दिएको जनाधिकारलाई सबैले स्वीकार्नुपर्छ,‘उनले भने,‘खेल खेलेपछि हारजित स्वाभाविक हो ।’ उनले बिजयी भएपछि विद्यालाई भेटेर बधाई र शुभकामनासमेत दिएका थिए ।

प्राज्ञ विद्या अब सांसद

प्राज्ञ विद्या भट्टराई अधिकारी सांसद बनेकी छन् । केहि समय अघिसम्म त्रिभूवन विश्वविद्यालयमा उपप्राध्यापकका रुपमा प्राध्यापन गरिरहेकी विद्या प्रतिनिधि सभाकी सांसद बनेकी हुन् । नेपाली कांग्रेसका खेमराज पौडेललाई फराकिलो मतान्तरले हराउँदै सांसदमा निर्वाचित भएकी हुन् । श्रीमानलाई राजनीति गर्ने खुल्ला वातावरण बनाउनका लागि विद्याले आफ्नो राजनीतिक जीवन कुर्वानी दिएकी थिइन् । तर श्रीमानको निधनपछि भने उनले सांसदमार्फत राजनीतिमा पुनरागमन गरेकी हुन् ।

२०२९ साल कार्तिक २९ गते काठमाडौंमा जन्मिएकी विद्याले १२ वर्षको कलिलो उमेर बाटै राजनीति शुरु गरेकी हुन् । २०४२ सालमा पशुपति मित्र मावि चावहिल काठमाडौंमा ७ कक्षामा अध्ययनरत हुँदा अनेरास्ववियुले आयोजना गरेको सरसफाई आन्दोलन हाजिरी जवाफ वक्तृत्वकला र वृक्षारोपण आदिमा सहभागि भएर उनले आफ्नो राजनीतिक यात्रा शुरु गरेकी हुन् । २०४५ सालमा भारतले लगाएको नाकाबन्दी विरुद्धमा अनेरास्ववियुले आयोजना गरेको आन्दोलनका कार्यक्रमहरुमा सहभागि हुँदै विद्यार्थीलाई संगठित गर्ने अभियानमासमेत लागेकी थिइन् । विद्यार्थी राजनीतिमा सहभागि भएपनि उनले २०४७ सालदेखि मात्रै औपचारिक राजनीतिक यात्रा शुरु गरिन् । पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटिमा बसेर राजनीतिक यात्रा शुरु गरेकी उनी सोहि साल अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित भइन् । त्यतिमात्र होइन उनले सोहि साल जनसांस्कृतिक परिवारको सदस्य हुँदै नेकपा (एमाले)को संगठित सदस्य बनिन् ।

२०४८ सालमा अनेरास्ववियु राष्ट्रिय परिषदमा निर्वाचित भएकी विद्या १८ वर्षकै उमेरमा नेकपा (एमाले) वडा कमिटी सदस्यसमेत बनिन् । नेविसंघको एकाधिकार रहेको पद्मकन्या क्याम्पसमा २०४९ सालमा स्ववियु सभापति लडेकी उनी शानदार मत ल्याएपनि पराजय भोगिन् ।

महिला र विद्यार्थी मोर्चामा सकृय रहँदाकै अवस्थामा उनी २०५५ सालमा अनेरास्ववियुको केन्द्रिय सचिव बनेकी थिइन् । २०५६ मा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषदको सदस्यसमेत बनेकी थिइन् ।

२०५६ साल असार २६ गते तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसंग जनवादी विवाह गरेकी उनी त्यसपछि भने राजनीतिबाट टाढा भइन् । आफ्नो रहर भन्दापनि रवीन्द्रको राजनीतिक यात्रालाई सहज बनाउनका लागि घर सम्हाल्नकै लागि उनले राजनीतिलाई कुर्वानी दिएको चर्चा अहिलेपनि चल्छ ।

त्यसपछि भने उनी परिवार, अध्ययन र अध्यापन पेशामा सक्रिय भइन् । २०५८ मा कास्कीको पृथ्वी नारायण क्याम्पस, पोखराबाट प्राध्यापन पेशा सुरु गरेकी उनले त्रिभूवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा रहँदा गत असोजबाट प्राध्यापन पेशा त्यागेर पुनः राजनीतिक यात्रा शुरु गरेकी छन् ।

उनी रहरले नभई बाध्यताले राजनीतिमा पुनरागमन गरेको बताउँछिन् । २०७५ साल फागुन १५ गते ताप्लेजुङ हेलिकोप्टर दुर्घट्नामा पति रवीन्द्रको अकल्पनीय मृत्यू भएपछि विद्या शोकमा थिइन् । पति वियोगले थलिएकी उनलाई पार्टीका शीर्ष नेताहरुले राजनीतिमा आउन आग्रह गरेका थिए । उक्त आग्रहलाईपनि बेवास्ता गरेपछि नेकपाका स्थायी समिति सदस्य तथा रवीन्द्रका राजनीतिक गुरु बामदेव गौतमको आग्रहमा विद्या राजनीतिमा प्रवेश गरेको बताइन्छ । देशको विकास र समृद्धिका लागि आफ्ना पति स्व. रवीन्द्र अधिकारीले साँच्नुभएका सपना, बनाउनुभएका योजनाहरुलाई साकार बनाउन उनी राजनीतिमा आएको बताउँछिन् ।

You might also like

Comments are closed.