फेरि एकपटक धक्का दिनेगरी पार्टी एकता टुंग्याउँछौं : प्रचण्ड

आर्थिक आवाज
पोखरा, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले फेरि एकपटक धक्का दिनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका छन् । प्रेस संगठन कास्कीले विहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले शुक्रबार पार्टी एकता टुंग्याएर शनिबार बस्ने सचिवालय बैठकबाट पारित गर्ने तयारी भइरहेको बताएका हुन् । ‘शनिबार सचिवायलय बैठक बसेर पार्टी एकता समापन गर्नेतिर प्रयास भइरहेको छ,’ उनले भने, ‘म पोखराबाट फर्केपछि शुक्रबार प्रधानमन्त्रीजीसँग कुरा गर्दैछु, हामी फेरि एकपटक धक्का दिएर जानुपर्छ र पार्टी एकताका सबैकुरा टुंग्याउनुपर्छ भन्नेमा छौं ।’

अध्यक्ष प्रचण्डले सरकार पुनर्गठन हुनसक्ने बताए । पार्टी एकता टुंग्याउँदा सरकार पनि पुनर्गठन हुनसक्ने र त्यसबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको उनको भनाई छ । प्रधानमन्त्रीसँग यसबारे छलफल भएपनि अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई नै भएको उनको भनाई छ ।

प्रचण्डले पार्टी एकताका बेला भएको सहमति सँधै रहिनरहन सक्ने भन्दै फेरि नयाँ सहमति पनि हुनसक्ने बताए । सरकार हस्तान्तरण गर्ने कुरा आफूले नझिकेको प्रष्ट्याउँदै उनले पहिले भएका सहमतिलाई स्मरण गर्दा अरु कुरा काटेर सरकार हस्तान्तरणलाई मात्रै हाइलाइट गरी बंग्याएर प्रचार गर्ने प्रयास भएको स्पष्ट पारे । यहाँ कहिं न कहिं, कोही न कोहीले खेल्न खोज्या छ भन्ने कुरा देखिन्छ–उनले भने, ‘मैले सरकार हस्तान्तरणको कुरा गरिरहँदा त्यो फेरिपनि अर्को सहमति भयो भने पुरानो कुरा सकिन्छ, पाँच वर्षै यहि सरकार पनि जान सक्छ भन्ने कुरा त्यतिबेलै भनेको हो, तर सरकार हस्तान्तरणको कुरालाई मात्रै प्रचारमा ल्याइनुले शंका बढाएको छ ।’

jutta mela

अध्यक्ष प्रचण्डले गुठी विधेयक लगायतका विषयमा जन असन्तुष्टि बढेको बताए । गुठी विधेयकलगायतका विधेयकहरु पर्याप्त गृहकार्यको अभाव र सरोकारवालासँग छलफल नगरी ल्याउँदा विवादित बनेको उनले बताए । उनले विधेयकमा के छ ? यसको मक्सद के हो ? भन्ने कुरा सबैलाई समयमै बुझाउन नसक्दा जनता सेन्टिमेन्टको पछि दगुरेको टिप्पणी गर्दै उनले अबका दिनमा पर्याप्त गृहकार्य र सरोकारवालासँग छलफल गरेरमात्रै विधेयक ल्याइने बताए । उनले अब गुठी विधेयक निर्माणको काम नया शिराबाट शुरु गरिने बताए ।

दुई तिहाईको कम्युनिष्ट पार्टीको सरकारबाट जनताले अपेक्षा गरेअनुसारको विकास र सुशासन कायम हुन नसकेको बताए । विकासमा गति लिने र सुशासन कायम गर्ने प्रयास भइराखेकै छ – उनले भने, ‘तर जुन गतिमा हुनु पथ्र्यो, जुन अपेक्षा जनताले गरेका थिए त्यो अनुसार भएन कि भन्ने जनगुनासो सुनेका छौं, त्यसलाई पूरा गर्नपनि सरकार पुर्नगठनबारे छलफल भइरहेको छ ।’ उनले यस वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेट धेरै सन्तुलित र उत्साहप्रद ढंगले आएको बताए ।

अध्यक्ष प्रचण्डले छिमेकीसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धलाई सरकारले सन्तुलित ढंगले बढाइरहेको बताउँदै यो सरकारको सफलतासँग जोडिएको बताए । उनले छिमेकीसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपालको विकास प्रक्रियालाई अनुकुल हुनेगरी सन्तुलित ढंगले अगाडि लैजानुपर्ने भन्दै सोहि नीति अनुसारै सरकार अघि बढेको उनको भनाई थियो ।

प्रचण्डले २०६२÷६३ को आन्दोलनपछिको परिवर्तन विगतको जस्तो मात्रात्मक परिवर्तन नभई गुणात्मक परिवर्तनको उपज भएको बताए । अहिलेको परिवर्तन विगतको जस्तो मात्रात्मक परिवर्तन होइन – उनले भने, ‘२००७ भनौं वा २०३६ या ४६ लाई हे¥यौं भने ति सबै परिवर्तनहरु मात्रात्मक प्रकृतिका परिवर्तनहरु थिए, एउटा सामन्तवादी राजनीतिक संरचना अन्तर्गत भएका सुधारात्मक परिवर्तनहरु थिए, तर २०६२÷६३ पछिको परिवर्तन अलिक गुणात्मक प्रकृतिको, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा र त्यो अनुसारको संविधान निर्माण आफैमा एउटा दुरगामी महत्वको गुणात्मक संरचनागत परवर्तन हो ।’

अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगबारे छलफल भइरहेको तर सहमति भइनसकेको बताए । उनले आयोगको पदाधिकारीमा कुन पात्र राख्ने भन्ने बारेमा सहमति नजुट्दा अयोग गठनमा ढिला भएको प्रष्ट पारे । प्रचण्डले विप्लवलाई अटेरी गरी अवाञ्छित गतिविधी गरिरहे त्यो देश र स्वयम् विप्लवका लागि राम्रो नहुने बताए । उल्टो बाटोबाट हिंडेर कहिं पुगिदैन – उनले भने, ‘विप्लवको बाटो गलत छ, यो राज्य, स्वयम् विप्लव र उनको पार्टीको लागिपनि अहित छ ।’

You might also like

Comments are closed.