फेवा किनारमा बिच भलिवल हुने

 

सन्देश श्रेष्ठ

पोखरा, १३ जेठ

jutta mela

पोखरामा असारको पहिलो साता बिच भलिवल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिवल संघको आयोजना तथा नेपाल भलिवल संघको तत्वाधानमा आगामी असार ५ गतेदेखी ७ गतेसम्म छैठौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिवल प्रतियोगिता हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

पर्यटकीय नगरी पोखराको फेवाताल किनार बाराही घाट मैदानमा हुने प्रतियोगितामा कुल ४० टिम सहभागि हुने नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा महिला र पुरुष समान २०÷२० टिम रहनेछन् । प्रतियोगितामा प्रत्येक प्रदेशबाट २÷२ टिम र विभागीय टिमहरु नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफबाट २÷२ टिम सहभागि हुने उनले बताए ।

प्रतियोगितामा नेपालको राष्ट्रिय टिमका खेलाडीहरुले सहभागिता जनाउन नपाउने भएका छन् । बिच भलिवलको सर्बोच्च निकाय फेडेरेसन इन्टरनेसनल दी भलिवलको नियम अनुसार नै खेलाइने भएकाले भलिवलको राष्ट्रिय टिमका खेलाडीलाई बिच भलिवलमा सहभागि नगराइने भएकाले भलिवलको राष्ट्रिय टिमका खेलाडीले पोखरामा हुने बिच भलिवलमा सहभागिता नजनाउने उपाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेता महिला तथा पुरुष दुबै टिममा प्रथम हुनेलाई समान ३०÷३० हजार, उप बिजेतालाई २०÷२० हजार र तृतीय हुनेलाई १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करीब २२ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि नेपाल भलिवल संघले १ लाख ५० हजार दिएको र बाँकी रकम आयोजक आफैले संकलन गर्नुपर्ने नेपाल भलिवल संघका उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद राजिव पहारीले पोखराको रत्न मन्दिरको स्वामित्वमा रहेको बाराही घाट खेल मैदान नेपाल ट्रष्टमा नभई राष्ट्रिय खेलकुद परिषद (राखेप) मातहत राख्नुपर्ने बताए । खेल खेलाउनुका लागि बाराही घाट खेल मैदान चाहियो भने नेपाल ट्रष्टलाई माग्ने होइन–उनले भने,‘खेलकुदका लागि मैदान चाहिँदा राखेपसँगको पो मैदान माग्नुपर्छ, त्यसैले सो जग्गा राखेप अन्तर्गत राख्नुपर्छ ।’ उनले यसका लागि गण्डकी प्रदेश सरकारले भूमकिा खेल्नुपर्ने पनि बताए ।

राखेप सदस्य राजेश गुरुङले प्रतियोगिताका लागि राखेप र आफूलेपनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

You might also like

Comments are closed.