फेवा संरक्षणलाई होटल संघको साथ

आर्थिक आवाज

पोखरा, ६ कात्तिक । पश्चिमाञ्चल होटल संघ पोखराले फेवा तालको संरक्षणका लागि उपल्लो तटीय क्षेत्रलाई लक्षित गरी गठित फेवा वाटरसेड इकोसिष्टम म्यानेजमेण्ट बोर्डलाई बुधबार एक लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

पोखराको लेकसाइडमा आयोजित बोर्डको बैठकका अवसरमा संघका अध्यक्ष एवं वोर्डका कोषाध्यक्ष विकल तुलाचनले बोर्डका संयोजक पुण्यप्रसाद पौडेललाई उल्लेखित रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मण सुबेदी, कोषाध्यक्ष पार्वती पाण्डे र सचिवालय प्रमुख रामप्रसाद खनालको पनि उपस्थिति थियो ।

jutta mela

वातावरण संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संघले विगतमा पनि विभिन्न काम र गतिविधि संचालन गर्दै आएको र आर्थिक सहयोग समेत प्रदान गरेको संघका अध्यक्ष तुलाचनले सो अवसरमा स्मरण गराए । यसअघि पनि संघले दुई पटक गरेर दुई लाख १ हजार एक सय ११ रुपैयाँ ताल संरक्षणका लागि बोर्डलाई प्रदान गरिसकेको पनि अध्यक्ष तुलाचनले जानकारी दिए ।

तालको उपल्लो तटीय क्षेत्रको संरक्षण भए फेवा तालको संरक्षणमा पनि ठूलो टेवा पुग्ने अवधारणा अनुसार तीन बर्ष अघि बोर्डको स्थापना भएको थियो । कार्यक्रममा बोर्डका संयोजक पौडेलले हालसम्म सो संस्थामार्फत् भएका संरक्षणका कामहरु बारे जानकारी गराएका थिए । डब्लु डब्लु एफ– हरियो बन र पोखरा महानगरपालिका तथा स्थानीय वासिन्दा तथा संस्थाहरुसँग सहकार्य गर्दै बोर्डले संरक्षणका काम गर्दै आएको पौडेलले सुनाए । गत बर्ष मात्र २१ लाख रुपैयाँ हाराहारीको काम सम्पन्न गरिएको उनले बताए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा यो आर्थिक बर्षमा काम गर्ने गरी फेवा तालको मुहानको रुपमा रहेका खोलाहरुमा पाँच चेक ड्याम निर्माण गर्ने योजना रहेको संयोजक पौडेलले सुनाए । यसका लागि ३४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।बोर्डले यो वर्ष जलकुम्भी झार तालबाट हटाउने योजनालाई प्राथमिकता दिने उनले बताए । उपल्लो तटीय क्षेत्रमा होमस्टे संचालन, अम्रिसो, कफि लगायतको खेति र आयआर्जनका काम संचालन गरी संरक्षणमा टेवा दिने शोच समेत बोर्डले बनाएको सो अवसरमा बताइयो ।

You might also like

Comments are closed.