फेसबुकका संस्थापक भन्दा धनी भए टेस्ला र स्पेस एक्सका सह–संस्थापक एलन मस्क

काठमाडौं । एलन मस्क अब संसारकै तेस्रो धनी व्यक्ति बनेका छन् । संसारकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला र स्पेस एक्सका सह–संस्थापक एलन मस्कको सम्पत्ति अझै बढ्ने क्रम जारी छ ।

टेस्ला इंकको सेयर मूल्य लगातार बढिरहेको छ । यसले गर्दा मस्कले फेसबुक इंकका सह–संस्थापक मार्क जुकरबर्गलाई समेत सोमबारदेखि पछि पारेका छन् । ब्लुमबर्ग बिलिनेयर्स इन्डेक्सका अनुसार जुकरबर्गको ११०.८ अर्ब डलरको तुलनामा मस्क अब ११५.४ अर्ब डलरका मालिक बनेका छन् ।

४९ वर्षीय मस्कको सम्पत्तिमा लगातार वृद्धि भइरहेको छ । यो वर्ष मात्र उनको कुल सम्पत्तिमा ८७.८ अर्ब डलर वृद्धि भएको छ । कोरोना भाइरसको महामारीले धेरै क्षेत्रलाई असर पारेको भए पनि टेस्लाका लागि भने फाइदा पुगेको छ । टेस्लाको सेयरमा करिव ५ सय प्रतिशत वृद्धि भएको छ ।

यो वर्ष नै एलन मस्कलाई विशेष आर्थिक प्याकेज समेत प्राप्त भएको छ । कुनै पनि मुख्य कार्यकारी अधिकृतलाई प्रदान गर्नका लागि भएको यो सबैभन्दा ठूलो कर्पोरेट अफर हो । सबै लक्ष्य पुरा भएमा मस्कलाई ५० अर्ब डलर भन्दा धेरै प्राप्त हुनेछ ।

You might also like

Comments are closed.