बक्रेक आधारभूत विद्यालयलाई युवा उद्यमीहरुको निरन्तर साथ

सुरेन्द्र पौडेल
पोखरा, २५ भदौ । २०७२ वैशाख १२ गते नेपालमा महाभूकम्प गयो । भूकम्प पछि धेरै भौतिक क्षति भयो । त्यस्तै क्षति व्यहोर्ने मध्यमा कास्कीको पोखरा २१ कृस्तिस्थित तत्कालीन बक्रेक प्रावि पनि प¥यो । विद्यालय भवन चर्किएपछि नियमित पठनपाठन सञ्चालनमा समस्या भयो । विद्यालय भवन कसरी मर्मत सम्भार गर्ने भन्ने तयारीकै बीचमा वैशाख २९ गते पुनः भूकम्प गयो । वैशाख २९ मा गएको भूकम्पले विद्यालय भवन पूर्ण रुपमा क्षतविक्षत भयो । त्यसपछि मर्मतसम्भारको विकल्प नै रहेन ।

भूकम्पले क्षतविक्षत विद्यालय भवनलाई कसरी पुननिर्माण गर्ने भन्ने चिन्तामा विद्यालयका सञ्चालक तथा शिक्षकहरु परे । विद्यालय पुनःनिर्माणको चिन्तामा रहेका विद्यालयका अध्यक्ष लगायतलाई मल्हम लगाउन पुगे पोखराका युवा उद्यमीहरु । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखराका तत्कालीन अध्यक्ष प्रकाशदेव पालिखेको नेतृत्वमा युवा उद्यमीहरुको टोली त्यहाँ पुग्यो । टोलीले ‘युवा स्वयंसेवा अभियान’ अन्तर्गत बाँसको अस्थायी टहरा बनायो । मान्द्रोले बेरेर ३ वटा कोठासहितको अस्थायी टहरा बनाएपछि केही राहतको महसुस भयो । पठनपाठन सुचारु भयो ।

jutta mela

अस्थायी टहरा केही समयका लागि मात्रै थियो । विद्यालयको स्थायी भवन बनाउन समेत आफूहरुले सहयोग गर्ने योजना मञ्चका अध्यक्ष पालिखेले विद्यालयका अध्यक्ष हरिबहादुर थापालाई सुनाए । त्यसपछि मञ्चको सक्रियता विद्यालयमा बढ्दै गयो । मञ्चले २ वटा पक्की कोठा बनाउन सहयोग ग¥यो ।

भूकम्प पछि विद्यालयको पुनः निर्माणमा सहयोग गरेको मञ्चले ५ वर्षसम्म कम्तीमा पनि वर्षेनी सहयोग गर्ने योजना बनायो । उक्त योजना अनुसार मञ्चको टोली अहिले पनि कुनै न कुनै कार्यक्रम लिएर बक्रेक आधारभूत विद्यालयमा पुग्ने गरेको छ । सोही अभियानकै क्रममा मञ्चका वर्तमान अध्यक्ष वैभव पौडेलको नेतृत्वमा ३ वटा कोठामा सिलिङ निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच सिलिङ निर्माणको अनुगमन तथा हस्तान्तरण गरियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भूकम्प पछि विद्यालयलाई मञ्चले निरन्तर सहयोग गर्नु प्रशंसनीय र उदाहरणीय कार्य भएको धारणा राखे । ‘तत्कालीन रुपमा धेरैले सहयोग गर्छन्,’ उनले भने, ‘निरन्तर सहयोग प्रदान गर्नु राम्रो र उदाहणीय पक्ष हो ।’ मञ्चलाई उक्त विद्यालयसम्म जोड्नमा पत्रकार श्रेष्ठले पहल गरेका थिए । विद्यालय भवन निर्माणदेखिको कार्यक्रम संयोजन युवा उद्यमी सन्तोष घिमिरेले गर्दै आइरहेका छन् ।

भूकम्प पछि भवन निर्माणदेखि हालसम्म मञ्चले विद्यालयलाई सोलार सिस्टमसहित कम्प्युटर सहयोग समेत गरिसकेको छ । आफूले बनाएको २ वटा कोठामा मञ्चले पहिले नै सिलिङ निर्माण गरिसकेको थियो । चाइनिज सहयोगमा बनेको नयाँ भवनमा टिनको छानोले गर्मी बढेपछि यसपटक सिलिङ निर्माण गरिएको हो । मञ्चले वर्षेनी शैक्षिक सामग्री सहयोगसमेत गर्दै आइरहेको छ । भूकम्प पछि क्षतविक्षत भएको विद्यालयमा निरन्तर सहयोग गर्ने अभियानमा मञ्चलाई सक्रिय बनाउन पाउँदा निकै हर्षित महसुस भएको मञ्चका अध्यक्ष वैभव पौडेलले बताए । सिलिङ हस्तान्तरणसँगै मंगलबार विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री पनि सहयोग गरिएको प्रेसिडेन्ट नोमिनीमा सुनिलबहादुर भट्टराईले जानकारी दिए ।

मञ्चको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिदै थप रचनात्मक गतिविधि सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रेसिडेन्ट इलेक्ट पुनित वैद्यले प्रतिबद्धता व्यक्त गरे । सिलिङ निर्माण पछि पठन पाठनमा सहज भएको प्रधानाध्यापक राजेन्द्रसिंह कार्कीले बताए । ‘मञ्चले वर्षेनी विद्यालयलाई सहयोग गर्दै आइरहेको छ,’ उनले भने, ‘मञ्चको सहयोगले विद्यालयको पठनपाठनमा निकै राहत मिलेको छ ।’

मञ्चका वर्तमान अध्यक्ष वैभव पौडेलसहित यस अगाडिका अध्यक्षहरु सुमन विजुक्छे, ज्ञानेश्वरराज श्रेष्ठ, सरोज श्रेष्ठ, प्रकाशदेव पालिखे सबैको कार्यकालमा विद्यालयलाई कुनै न कुनै सहयोग प्रदान भइरहेको कार्यक्रम संयोजक सन्तोष घिमिरेले बताए । कास्कीको ल्वाङघलेलको सिदिङस्थित सरस्वती आधारभूत विद्यालयलाई पनि मञ्चले भूकम्पदेखि हालसम्म निरन्तर सहयोग गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.