बिजयपुरखोलाको पुलमा बनाइएको डाइभर्सन खोलाले बगायो, करिब २ सय गाडी गगनगौंडामा अलपत्र

सन्देश श्रेष्ठ
पोखरा, २३ असार । पोखराको मुख्य प्रवेशद्वार बिजयपुर खोलामा बनाइएको डाइभर्सन बगाएको छ । सोमबार विहान आएको बाढीले पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे र बिजयपुर जोड्ने बिजयपुर खोलामा बनाइएको डाइभर्सनको ह्यूमपाइप नै बगाएर बाटो भत्काइ दिएपछि मालवाहक ठूला गाडीहरु आवतजावत बन्द भएको छ ।

एक दशक अघि निर्माण गरिएको मोटरेबल पुलको बिम करीब ५ महिना अघि चर्किएपछि बैकल्पिक बाटोको रुपमा पुल भन्दा करीब ५० मिटर माथि डाइभर्सन बनाइएको थियो । सो डाइभर्सनबाट ठूला मालवाहक गाडीहरु आवतजावत गर्ने ब्यबस्था गरिएको थियो । अन्य बस तथा साना गाडीहरु भने मुख्य पुलबाटै आवतजावत हुँदै आएको छ ।

विहान ५ बजे आएको बाढीले डाइभर्सन बगाएको स्थानियले बताएका छन् । डाइभर्सन बगाएपछि ठूला गाडीहरुलाई आवतजावतमा रोक लगाइएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

jutta mela

डाइभर्सनपनि बगाएको र मुख्य पुलबाटपनि ठूला मालवाहक गाडीलाई आवतजावत गर्न नदिएपछि २ सय भन्दा बढी गाडीहरु गगनगौंडा क्षेत्रमा रोकिएका छन् । भण्डारढीक ट्राफिक चेकपोष्टदेखि गगनगौंडा ओरालोसम्मै गाडीको लामो लाइन रहेको छ । जसका कारण कयौं खाद्य तथा निर्माण सामग्री बोकेका गाडीहरु बिच बाटोमै अलपत्र परेका छन् । साना ढुवानीका गाडीहरुलाई भने बहुमाराहुँदै पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठूला गाडीलाई बहुमारा हुँदै पठाउन नमिल्ने भएकाले नपठाइएको प्रहरी सहायक निरिक्षक तीर्थराज पौडेलले जानकारी दिए ।

यसैबीच, अलपत्र परेका गाडीलाई सोमबार राती पोखरा ल्याउने तयारी गरिएको छ । अन्य गाडी नचल्ने समयमा एक÷एक वटा गाडी गरेर पोखरा ल्याउने तयारी गरिएको पौडेलले बताए । उनका अनुसार केहि अत्यावश्यक सामग्री बोकेका गाडीहरुको सामान भने साना गाडीमा हालेर पठाइएको छ ।

बिजयपुर खोलाको पुललाई रिन्नोभेसन गर्न मिल्ने÷नमिल्नेबारे प्राविधिक अध्ययन भइरहेको छ । तत्कालका लागि भने बेली ब्रिज राख्ने काम भइरहेको छ । बेली ब्रिज बनेमा ठूला मालवाहक गाडीहरुपनि आवतजावत गर्न मिल्छ । हाल बेली ब्रिजका लागि पिल्लर (एबुटमेन्ट) निर्माण भइरहेको छ । केहि दिनमै बेली ब्रिज जोड्ने काम शुरु हुने सब इञ्जिनियर किरण सुबेदीले बताए ।

You might also like

Comments are closed.