बिना कारण किन कर्मचारी निस्कासन गर्यो नेपाल पर्वतारोहण संघले ?

पोखरा । नेपाल पर्वतारोहण संघ केन्द्रीय कार्यसमितिले लकडाउनको समयमा कर्मचारीहरु निस्कासन गरेपछि त्यसको बिरोध भएको छ । निस्कासन गरिएका कर्मचारीलाई पुनर्वहाली गर्न कर्मचारीहरुले माग गरेका छन् ।

संघले प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकार, सचिवालय अधिकृत सामा श्रेष्ठ, प्रशासकीय अधिकृत ऋषिराम पौडेल र सहायक म्युजियम क्युरेटर राजन जोशीलाई सेवाबाट हटाएको छ ।

निस्कासन गरिएका कर्मचारीहरु मध्ये जिनेश सिन्दुराकार र सामा श्रेष्ठ काठमाडौंमा, ऋषिराम पौडेल र राजन जोशी पर्वतीय संग्रहालय पोखरामा कार्यरत थिए ।

कर्मचारी निस्कासनमा कोभिडको कारण देखाइएपनि कर्मचारी हटाउनुपर्ने गरी संघमा कुनै समस्या नरहेको पनि कर्मचारीहरुले बताएका छन् । संघको कार्यसमितिको अघिल्लो समिति र वर्तमान समितिको द्वन्द्वको मर्कामा आफूहरु परेको निस्कासनमा परेका कर्मचारी जिनेश सिन्दुराकारले बताए ।

कोरोना महामारीको समय पारेर संस्थाले विना जानकारी कर्मचारी हटाएकोमा आफुहरु बिरोधमा उत्रनुपरेको निस्कासनमा परेका कर्मचारी ऋषिराम पौडेलले बताए ।

करारका कर्मचारीलाई निरन्तरता दिएर स्थायी कर्मचारीलाई निस्कासन गरिएको छ । यस सन्दर्भमा बुझ्न संघका महासचिव कुलबहादुर गुरुङलाई पटक पटक फोन गर्दा उनले फोन उठाएनन् । निस्कासन गरिएका कर्मचारीहरुलाई पुनर्वहाली नगरिए कडा आन्दोलन गर्ने संघमा कार्यरत कर्मचारीहरुले चेतावनी दिएका छन् ।

You might also like

Comments are closed.