भिआइपीहरुलाई कोरोना, व्यवसायीका नेतादेखि मन्त्रीसम्म संक्रमित

कसकसले जिते कोरोना ? कोको छन् आइसोलेसनमा ?

काठमाडौं । सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आइतबार चिन्ता व्यक्त गरे । यही रफ्तारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण थपिए राज्यको स्वास्थ्य संयन्त्रले धान्न नसक्ने प्रष्टीकरण दिए । पछिल्लो समयमा थपिएका संक्रमित मध्य अधिकांश काठमाडौंकै भएपछि सरकार चिन्तित बनेको छ ।

कोरोनाले धनी, गरिब, ठूलो, सानो केही भन्दैन भन्ने विश्वव्यापी पुष्टिलाई नेपालमा पनि स्थापित गरेको छ । सर्वसाधरणलाई मात्रै होइन ‘भिआइपी’हरुलाई पनि कोरोना संक्रमण देखिनुले यसलाई पुष्टि गरेको हो । नेतादेखि मन्त्रीसम्म कोराना संक्रमित भइसकेका छन् । मेयरदेखि व्यवसायीका नेताहरुलाई पनि कोरोनाले छोडेन ।

भिआइपीलाई कोरोना संक्रमण भएको पछिल्लो उदाहरण बनेका छन् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल । उनलाई कोरोना संक्रमण भएको आइतबार पुष्टि भयो । शनिबार ज्वरो आएपछि उनी पाटन अस्पताल भर्ना भइ स्वाव परीक्षण गराएका थिए ।

कोरोना संक्रमित भएका पोखरेल एक्ला मन्त्री होइनन् । शनिबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भयो । हल्का ज्वरो आएपछि बिहीबार स्वाव दिएका मन्त्री भट्टराईको कोरोना पोजेटिभ रिपोर्ट शनिबार आइपुग्यो । यतिबेला मन्त्री पोखरेल अस्पतालमा र मन्त्री भट्टराई होम आइसोलेसनमा छन् ।

मन्त्रीहरु मात्रै होइन काँग्रेका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा पनि कोरोना संक्रमित छन् । थापा अहिले पनि होम आइसोलेसनमा छन् । अर्का काँग्रेस नेता अर्जुननरसिंह केसीलाई पनि कोरोना संक्रमण भएको छ । उनी पनि होम आइसोलेसनमै छन् । दुवै जना गत साता संक्रमित भएका हुन् । काँग्रेसका महामन्त्री शशांक कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले कोरोना जितिसकेका छन् ।

मन्त्री र नेताहरु मात्रै होइन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयलाई पनि कोरोनाले छोडेन । गत साता मात्रै प्रधानमन्त्रीका सल्लाहकार तथा सचिवालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखियो । मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र फोटो पत्रकार राजन काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराईले कोरोनालाई जितिसकेका छन् ।

व्यावसायिक क्षेत्रका नेताहरु पनि संक्रमित हुने क्रम जारी छ । एउटा उदाहरण विनोद चौधरी हुन् । सिजी ग्रुपका अध्यक्ष विनोद चौधरी भदौ १२ गते कोरोना संक्रमित भएका थिए । उनले कोरोना जितेर नियमित काममा फर्किसकेका छन् । अर्का व्यवसायी नेता चन्द्र ढकाल पनि कोरोना संक्रमित भए । आइएमई ग्रुपका अध्यक्ष ढकालले पनि कोरोना जितिसकेका छन् ।

सांसद शान्ता चौधरी अहिले पनि कोरोना जित्नका लागि हस्पिटलमा संघर्षरत छन् । गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले कोरोना जित्न ४० दिन होम आइसोलेसनमा बसे । अहिले उनको रिपोर्ट नेगेटिभ आइसकेको छ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमित भएर निको भइसकेका छन् । वीरगन्ज महानगरका मेयर विजय सरावगीले पनि कोरोना जितिसकेका छन् । शाक्य र सरावगी मात्रै होइन स्थानीय तहका थुप्रै प्रमुखहरुलाई कोरोना देखिइसकेको छ ।

यी केही उदाहरण मात्रै हुन् । नेताहरुदेखि लिएर फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारदेखि सर्वसाधरण कोरोनाको संक्रमणबाट अछुतो छैनन् । देशमा एक लाख भन्दा बढी संक्रमित भइसकेका छन् भने पछिल्लो समय सबैभन्दा बढी कोरोना जोखिममा राजधानी काठमाडौं छ । सरकारका प्रवक्ताले भनेजस्तै राजधानीमा समुदायस्तरमा फैलिएको कोरोना संक्रमण जोमिख वास्तवमै चुनौतिपूर्ण छ । स्वास्थ्य मापदण्डको ख्याल गर्दै आम सर्वसाधरण सचेत हुनुपर्ने अवस्था छ ।

You might also like

Comments are closed.