भोटीखोलामा पुल बनेपछि पोखरा–सार्दिखोलाको बाटो २ सय मिटर छोट्टिने

पोखरा । पोखरा–सार्दिखोला सडकखण्डको भोटीखोलामा मोटरेबल पुल बनेपछि २ सय मिटर बाटो छोट्टिने भएको छ । पोखरा महानगरपालिकाको २ करोड ३८ लाख ५५ हजार रुपैयाँको लगानीमा पोखरा महानगरपालिका वडा नम्बर १९ मा पर्ने भोटीखोलामा पक्की पुल बन्ने पक्का भएपछि सो बाटो २ सय मिटर छोट्टिने भएको हो । हाल पुल नहुँदा घुमाउरो बाटो भएर जानुपर्ने बाध्यताका कारण बाटो केहि लामो छ । तर महानगरको योजना अनुसार खोलामा पुल बनेपछि घुमेर जानु नपरेसँगै बाटो छोट्टिने पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलले बताए । माछापुच्छ्रे गाउँपालिकामा पर्ने सार्दिखोला महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । सार्दिखोला भन्दा केहि माथि तातोपानी कुण्ड भएकालेपनि पर्यटकको आगमन त्यस क्षेत्रमा बाक्लो मात्रामा हुने गरेको छ ।

पुलको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विहीबार शिलान्यास गरे । पुल २५ मिटर लम्बाई र साढे ७ मिटर चौंडाईको हुने पोखरा महानगरपालिकाका ईञ्जिनियर ध्रुव भट्टराईले जानाकरी दिए । उनका अनुसार पुलमा गाडी गुड्ने बाटो ६ मिटरको हुनेछ भने ७५÷७५ सेन्टिमिटरको दायाँ बायाँ दुबैतर्फ फुटपाथ हुनेछ । पुल निर्माणको जिम्मा श्रीगीता कन्स्ट्रक्सन प्रालि, स्याङ्जाले लिएको छ । पुलको लागत स्टिमेट २ रोड ९२ लाख ९७ हजार अनुमान गरिएपनि २ करोड ३८ लाख ५५ हजारमा ठेक्का सम्झौता भएको पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए ।

गत भदौ ५ गते पुल निर्माणको सम्झौता भएको र आगामी २०७७ साल मंसीर २ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको वडाध्यक्ष पौडेलले बताए ।

jutta mela

विकासका लागि करको दर र दायरा बढाएका हौं : प्रमुख जिसी

पुल शिलान्यास कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले करले ढाड सेक्यो भनेर कोकोहोला नमच्चाउन आग्रह गरे । कर नै नलिने हो भने महानगरले विकास कसरी गर्ने ? उनले भने,‘पुल, बाटोदेखि विकासका सबै काम तपाईंहरुबाटै उठाएको करबाटै त हो । त्यसैले करले ढाड सेक्यो भनेर मात्रै नबस्नुहोला ।’

उनले कर तिरे बापत महानगरले पुल, पुलेसा, बाटोलगायतका सुविधा दिने बताए । कर नछल्न आग्रह गर्दै तिर्नुपर्ने करपनि भनसुन गरेर घटाउनका लागि जनप्रतिनिधिदेखि कर्मचारीसम्मलाई दवाब र प्रभावमा नपार्न आग्रह गरे । उनले भने,‘हामी बेइमानी गर्दैनौं, तपाईंहरुपनि नगर्नुस र नगराउनुस् ।’ उनले पुल निर्माणको काम तोकिएको मिति भन्दा अगावै सक्न निर्माण कम्पनीलाई आग्रह गरे । साथै उनले स्थानियलाई पुल निर्माणमा अड्काउने काम नगर्न आग्रह गर्दै बरु काम छिटो सक्नेगरी फुकाउन भने सघाउन आग्रह गरे ।

पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले निर्माण कम्पनीले तोकिएको मिति भन्दा अगावै पुल निर्माण गरेर हस्तान्तरण गरे निर्माण कम्पनीका प्रोपाइटरलाई रथयात्रा गरेर सम्मान गर्ने घोषणा गरे । पुल निर्माण कम्पनी श्रीगीता कन्स्ट्रक्सन प्रालिका प्रोपाइटर राजेश मल्लले पुल तोकिएको मिति भन्दा अगाडि सक्ने प्रतिबद्धता जनाए । उनले स्थानियबासीलाई पुल निर्माणमा बाधा ब्यबधान नगरि सहयोग गरिदिन आग्रह गरे ।

You might also like

Comments are closed.