भोटेकोशी बाढीः विद्युत् क्षेत्रमा व्यापक क्षति, अवरुद्ध भएको विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन प्रयास

काठमाडौं । अविरल वर्षापछि आएको आकस्मिक बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीका महत्त्वपूर्ण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । बाढीका कारण जनधनसँगै घर, सडक, पुल तथा विद्युत् संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणका अनुसार बाढीका कारण रसुवा भोटेकोशी क्षेत्रमा प्राधिकरणसँग सम्बन्धित विभिन्न जलविद्युत् आयोजना, प्रसारण संरचना, सबस्टेसन तथा वितरण प्रणालीमा क्षति पुगेको हो । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र क्षतिग्रस्त संरचनाको अवस्थाबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको प्राधिकरणले जनाएको छ ।

बाढीबाट रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् केन्द्र, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेसन तथा त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रसँग सम्बन्धित संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । विभिन्न स्थानमा रहेका वितरण संरचनासमेत प्रभावित हुँदा विद्युत् आपूर्ति नियमित गर्न समस्या भएको जनाइएको छ ।

प्राधिकरणका अनुसार बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत् आयोजनाका उपकरण, उत्पादनगृह, प्रसारण लाइन, सबस्टेसन र वितरण संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । क्षतिको वास्तविक विवरण स्थलगत निरीक्षण तथा प्राविधिक मूल्याङ्कनपछि मात्रै स्पष्ट हुने प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणले उपलब्ध जनशक्ति र स्रोतसाधन परिचालन गरी हरसम्भव प्रयास गरिरहेको जनाएको छ । बाढीका कारण अवरुद्ध भएका संरचनाको अवस्था मूल्याङ्कन गरी सम्भव भएसम्म छिटो मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइने पनि प्राधिकरणले जनाएको छ । विद्युत् संरचना क्षतिग्रस्त भएका क्षेत्रमा विद्युत् लाइन तथा उपकरणबाट थप जोखिम हुनसक्ने भएकाले स्थानीयवासीलाई सावधानी अपनाउनसमेत आग्रह गरिएको छ । रासस

You might also like

Comments are closed.