मनकामनाकै शैलीमा पुनः निर्माण गरिदैँ छिम्केश्वरी मन्दिर

सुनिता आचार्य
दमौली । तनहुँको आँबुखैरेनी –५ स्थित प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको छिम्केश्वरी मन्दिर मनकामना मन्दिरकै शैलीमा पुनः निर्माण गरिदैँछ । मनकामनाको दिदीको रुपमा मानिदै आएको छिम्केश्वरी माइको मन्दिर मनकामना मन्दिरकै शैलीमा पुनः निर्माण गर्न लागिएको हो ।

तनहुँकै अग्लो छिम्कालेकमा ढुंगाको गारो लगाई बनाइएको मन्दिर अत्यन्तै जीर्ण भएपछि आँबुखैरेनी गाउँपालिकाले पुनःनिर्माण सुरु गरेको हो । गाउँपालिकाले मन्दिरको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि गत फागुन महिनाबाट मन्दिर पुनः निर्माणको कार्य सुरु गरिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए ।

यातायातको सुविधा सहज नभएकाले निर्माण सामग्री ढुवानी गर्न कठिन भएकाले कार्य तीव्र गतिमा अघि बढ्न नसकेको गुरुङले बताए । दैनिक १२ जना कामदारले काम गर्दा पनि अपेक्षित गतिमा काम अघि बढेको छैन उनले भने । छिम्केश्वरी मन्दिरमा हालसम्म मोटरबाटो पुगेको छैन ।

आँबुखैरेनी बजारदेखि १९ किलोमिटर लाब्दी गाउँसम्म कच्ची मोटरबाटो भएपनि त्यहाँबाट करिब १२ किलोमिटर माथि मन्दिरसम्म निर्माण सामग्री मजदुर लगाएर बोक्नुपर्ने बाध्यता छ । छिम्केश्वरी क्षेत्रमा पानीको त्यस्तै समस्या छ । वर्षायाममा आकाशे पानी जम्मा गरेर मन्दिर निर्माणको काम गर्न परेको छ, गुरुङले दुख पोखे ।

गाउँपालिकाबाट प्राप्त बजेटमा हाल मन्दिरको पछाडि भागबाट गारो उठाउने, मन्दिरको चारैतिर भुँइ ढलान गरी पिल्लर उठाउने लगायतका कार्य भइरहेको उनले जानकारी दिए ।

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको निर्माण सम्पन्न गर्न ८० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । मन्दिर निर्माणका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षमा २५ लाख बजेट थप छुट्याउने अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।

मन्दिरको धार्मिक महत्व र भौगोलिक महत्वलाई प्रचारप्रसार गरी आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गर्न गाउँपालिकाले गुरुयोजना बनाएर कार्य सुरु गरेको थापाले बताए ।

मन्दिरको पूर्वाधार विकासका लागि प्रदेश सरकारबाट ४० लाख रुपैयाँ प्राप्त भएको छ । प्रदेशबाट प्राप्त रकमबाट मन्दिरको गेट निर्माण, मन्दिर परिसरमा पोखरी निर्माण, ढुंगा छाप्ने, मन्दिर पुग्ने ७०० मिटर बाटोमा सिढी बनाउने काम भइरहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुुरुङले जानकारी दिए ।

जेठको अन्तिमबाट सुरु भएको कार्य करिब ८५ प्रतिशत सकिएको छ, यहाँ मोटरबाटोको सुविधा नभएकाले सबै निर्माण सामग्री बोकेर ल्याउनुपर्दा हामीलाई निकै समस्या भएको छ उनले गुनासो गरे ।

‘छिम्केश्वरी माईको मन्दिरको महिमा ज्यादै भएपनि यहाँ आउन सहज बाटो, खानेपानी, सञ्चार र आउने पर्यटकहरुलाई खाजा नास्ता गर्ने ठाँउ नहुदाँ अपेक्षित पर्यटकहरु आउदैनन्’ उनले भने । सम्भावनायुक्त ठाँउ भएर पनि आवश्यक प्रचार र विकास नहुँदा त्यहाँ कमै पर्यटकहरु पुग्ने गरेको उनले बताए ।

प्रायः सधैं बादलको घुम्टो ओढिरहने छिम्केश्वरी महाभारत शृंखलाको सबैभन्दा अग्लो पहाड भएको दावि गर्दै गुरुङले छिम्केश्वरीबाट उत्तरतर्फ मनोरम हिमालका दृश्यहरु देखिनुका साथै काठमाडौं, पोखरा, तराईका फाँटहरु र भारतका केहि भागहरु समेत देख्न सकिने बताए ।

छिम्केश्वरी, मनकामना, अकला, थानीको थान, ढोरबाराही, गोरखाकालिका र छाब्दीबाराही ६ जना दिदीबहिनी मानिन्छ ।

अरु दिदीबैनीले सुँगुरको बली खाएकाले छिम्केश्वरी रिसाएर ढाड उल्टा फर्काएर बसेकी हुन् भन्ने किंवदन्ती रहेको मन्दिरका पुजारी धनबहादुर गुरुङले बताए । प्रदेश सरकारद्वारा प्रस्तावित प्रदेशको ११० वटा पर्यटकीय गन्तव्यस्थल मध्ये छिम्केश्वरी मन्दिर एक हो । छिम्केश्वरी माईको मन्दिर समुन्द्र सतहबाट करिब २हजार १ सय ३४ मिटर उचाइमा पर्छ ।

तनहुँको कर्णालीको रुपमा रहेको छिम्केश्वरीमा अझै पनि यातायात, सञ्चार, खानेपानी जस्ता समस्याहरुले गर्दा पनि अपेक्षित विकास हुन नसकेको पर्यटनविद् हरिसिं गुरुङले बताए । अग्लो ठाउँ भएकाले पनि पुर्वाधार विकास गर्न असहज भएको उनले बताए । हावापानी चिसो, जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक र सांस्कृतिक समिश्रणको रुपमा व्याख्या गर्दै गुरुङले सो क्षेत्र अति नै उत्तम पर्यटकीय स्थलको रुपमा चित्रण गरे । ‘पुर्वाधारको विकासमा भएको ढिलाइले सो ठाउँको विकास नभएको हो, मुग्लिङबाट छिम्केश्वरीसम्म केवलकारको व्यवस्था गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुलाई छिम्केश्वरी पुयाउन सकिन्छ,’ उनले भने ।

हाल छिम्केश्वरी आउने पर्यटकहरुको सुविधाको लागि सरकारको सहयोग र स्थानीयको सक्रियतामा ठाउँ ठाउँमा होमस्टे सञ्चालन गरिएको छ । मन्दिरबाट ४५ मिनेट ओरालो झरे लाब्दी होमस्टे र करिब २ घण्टाको हिलेखर्कमा होमस्टे सञ्चालन गरिएको छ ।

लामो रेन्जमा हिमाल देख्न सकिने, पहाडका तरेलीहरु नियाल्न, तराईका भागहरु, नदीहरुका दृश्यहरु अति नै मनमोहक भएकाले यो ठाउँ फिल्म मेकरको लागि उपयुक्त गन्तव्य बन्न सक्ने पर्यटनविद् गुरुङको भनाई छ । उनका अनुसार सो क्षेत्रमा बदेल, कालिज, मृग, थार जस्ता वन्यजन्तु पाइन्छ त्यस्तै पाँचऔले, सुनगावा, गुरासँका विभिन्न प्रजाती पनि सो क्षेत्रमा पाइन्छ ।

You might also like

Comments are closed.