मनकामना केबलकार पोखरा कप शुक्रबारदेखि, ९ लाख खर्चेर मैदान निर्माण, उद्घाटनमा एपिएफ र हिमालयन शेर्पा भिड्दै

आर्थिक आवाज

पोखरा, १४ माघ । पोखरामा शुक्रबारदेखि मनकामना केबलकार पोखरा कप शुरु हुँदैछ । शुक्रबारदेखि शुरु हुने पोखरा कपको छैटौं संस्करण माघ २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीले जनाएको छ । पोखरा रंगशालामा हुने प्रतियोगितामा २ बिदेशीसहित १२ टिमले सहभागिता जनाउँदै छन् ।

प्रतियोगितामा जापान, क्यामरुनसहित नेपालका ए डिभिजनका टीमहरु र आयोजकको एक टिमले प्रतिपस्र्धा गर्ने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लव, संकटा क्लव, थ्रीस्टार क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, हिमालयन शेर्पा क्लव, च्यासल क्लव, ब्रिगेड ब्वाईज क्लव रहेका छन् । त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिभर्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागि हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए । प्रतियोगितामा सहभागि जापानी टिम त्यहाँको युनिभर्सिटी गेम खेलेको टीम भएको उनले प्रष्ट्याए । यो आम मानिसले सोंचेको भन्दा बलियो टिम हो–उनले थपे,‘जापानीज टीम नेपालको राष्ट्रिय टीमलाई हराउन सक्ने खालको छ, सायद यस पटक यसैले उपाधि जित्न बेर छैन ।’ उनले क्यामरुनको टीम पनि राम्रो भएको तर प्रतिकुल वातावरणका कारण खेल्न सकेनन् भने भन्न नसकिने बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ क्लव र हिमालयन शेर्पा क्लव आमनेसामने हुने भएका छन् । उद्घाटन खेल शुक्रबार दिउँसो २ बजेबाट शुरु हुने अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताको बिजेतालाई उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने एन्फा कास्कीले जनाएको छ । उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने उनले बताए ।

प्रतियोगिताको अवसरमा फुटवल खेलमा योगदान दिने एक जना खेलाडीलाई सम्मान गरिने भएको छ । सम्मानित खेलाडीलाई मोटरसाइकल प्रदान गरिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । सो अवसरमा खेल पत्रकारितामा कलम चलाउने एक जना पत्रकारलाई पनि सम्मान गरिने बताए । मनकामना केबलकारको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताबाट एक करोड २८ लाख आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा १ करोड १७ लाख खर्च गरेर ११ लाख बचत गर्ने लक्ष्य राखिएको छ ।

९ लाख खर्चेर मैदान निर्माण

प्रतियोगिताका लागि एन्फा कास्कीले करीब ९ लाख खर्चेर मैदान निर्माण गरेको छ । गत वर्ष नयाँ फुटवल स्टेडियम बनाउने भन्दै पुरानो संरचना भत्काएपनि नयाँ नबनेपछि जिर्ण स्टेडियमलाई सो रकम खर्चेर एन्फा कास्कीले मैदान निर्माण गरेको हो । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले भने,‘मैदान सम्याउन र दुबो रोप्न मात्र हामीले ९÷१० लाख खर्चियौं ।’ मैदानमा दुबो रोपेर हरियो बनाइएको छ । मैदानमा रोपिएको दुबोका लागि प्रयोग गरिएको पानीका लागि भने खर्च जोगिएको छ । पानीका लागि ७÷८ लाख खर्च जोगिएको उनको भनाई छ । क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको पहलमा बोरिङबाट पानी निकालिएकोले सो रकम बचत भएको अध्यक्ष गुरुङले जानकारी दिदै त्यसका लागि दुबै संस्थालाई धन्यवाद दिए ।

प्रतियोगिताका लागि भिआइपी प्याराफिट २ वटा बनाइएको छ । खेलाडीका लागि प्लेयर बक्सदेखि मिडिया सेन्टरसमेत बनाइएको छ । मैदानको पूर्व पट्टी नर्मल प्याराफिट बनाइएको छ । पहिले भएको दर्शक प्याराफिट भत्काएर जिर्ण भएको ठाउँलाई सफा गरेर माटो सम्याउँदै म्याट ओछ्याएर बस्न योग्य बनाइएको छ । अन्य ठाउँमा भने यसअघीका वर्षहरुमा जस्तै गरी दर्शक बस्न सक्नेगरी मिलाइएको छ ।

You might also like

Comments are closed.