महानगरले खाद्य वस्तुको मूल्य निर्धारण गर्ने

३ सय बढी असिना पीडित किसानलाई राहत वितरण

सन्देश श्रेष्ठ
पोखरा, २५ असार । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खाद्या वस्तुको मूल्य निर्धारण महानगरले गर्ने बताएका छन् । असिना पीडित किसानलाई राहत वितरण कार्यक्रममा बोल्दै उनले उत्पादन लागतका आधारमा उत्पादित वस्तुको बजार मूल्य तोकिने उनले स्पष्ट पारे । उनले स्थानीय उत्पादन यदि अर्गानिक छ भने बढी नै मूल्य परेपनि पैसा बाहिर नजाने भएकाले केहि फरक नपर्ने बताए ।

बिचौलियालाई आफ्नो उत्पादन नबेच्न पनि उनले आग्रह गरे । उत्पादक आफैले आउटलेट राखेर बेच्ने व्यवस्था गर्न सके उत्पादक किसानले बजार र मूल्य दुबै पाउने उनको भनाई थियो । कृषिमा यति गर्ने हो भने पैसा कमाउनका लागि जापान जानु नपर्ने उनले दाबी गरे । उनले कृषकले जाँगर चलाउने र उत्पादनमा लाग्ने हो भने लगानीको वातावरण बनाउनेदेखि सीपसँगै प्रविधिदेखि नोक्सान भएमा क्षेतिपूर्ति दिनेसम्म महानगरले गर्ने बताए ।

महानगर प्रमुख जिसीले खाद्यान्न आयातमा सिण्डिकेट लगाउने सोंचमा आफू रहेको बताए । किसानलाई प्रोत्साहन गर्न र स्थानिय उत्पादनको खपत गर्नका लागि खाद्यान्न आयातमा महानगरपालिकाले सिण्डिकेट लगाउने सोंच बनाएको बताएका हुन् । ‘खाद्यान्न आयातमा सिण्डिकेट लगाउँदा आलोचकले जेसुकै भनुन्,’ ‘उनले भने, ‘यहिं हामीले उत्पादन गरौं, उत्पादित खाद्यान्न यहिं खपत गरौं, उत्पादित खाद्यान्नले बजार पाओस् र मूल्यपनि पाओस्, यसका लागि खाद्यान्न आयातमा कन्ट्रोल गर्नुपर्छ, यसो गर्दा कसैले सिण्डिकेट लगायो भन्छ भने भनोस् ।’ उनले स्थानीय उत्पादनले नपुगेको अवस्थामा मात्रै बाहिरबाट ल्याउनेगरी सिण्डिकेट लगाउनुपर्ने पक्षमा आफू रहेको बताए ।

jutta mela

प्रमुख जिसीले कृषिमा क्षति हुँदा पनि किसानको मुहार अँध्यारो नहुने वातावरण बनाइने बताए । त्यसका लागि विमा गर्न किसानलाई आग्रह गरे । अहिले किसानले विमा कम्पनी खोज्नुपर्ने अवस्था रहेको बताउँदै उनले यसलाई बदलेर विमा कम्पनीले किसान खोज्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले महानगरले अन्तिम पटकका लागि राहत दिएको बताए । उनले भने, ‘महानगरले सँधै राहत दिन सक्दैन, अब विमामा जानुको विकल्प छैन, विमामा जानु भनेको जोखिम न्यूनिकरणको भरपर्दो माध्यम हो ।’

महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले थोरै भएपनि राहत पुगोस् भनेर बिउ पुँजीको रुपमा राहत रकम वितरण गरिएको बताए ।

कार्यक्रममा कृषि विकास वैंक र नेपाल ईन्सुरेन्सका प्रतिनिधिले बाली सुरक्षणका लागि बाली विमा कार्यक्रमबारे जानकारी गराएका थिए ।

३ सय बढी असिना पीडित किसानलाई राहत वितरण

कार्यक्रममा ३ सय भन्दा बढी असिना पीडित किसानलाई राहत वितरण गरिएको थियो । व्यक्ति तथा समूहलाई गरेर १८० लाई राहत रकम वितरण गरिएपनि समूहमा धेरै किसान भएकाले ३ सय बढी किसान लाभान्वित भएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

उनका अनुसार एक जनालाई १ हजार ५ सय देखि १५ हजारसम्म राहत वितरण गरिएको छ । १ रोपनीसम्म लगाइएको बालीमा क्षेति पुगेकालाई १ हजार ५ सय, १ देखि ३ रोपनी जग्गामा लगाइएको बालीमा क्षेति पुगेको भए २ हजार ५ सय, ३ देखि ५ रोपनी जग्गामा लगाइएको बालीमा क्षेति पुगेको भए ४ हजार, ५ रोपनी भन्दा धेरै जमिनमा लगाएको बालीमा क्षेति पुगेको भए ७ हजार तथा एउटा टनेलमा लगाएको बालीमा क्षेति पुगेको भए ५ हजार र २ वा २ भन्दा बढी वटा टनेलमा लगाइएको टनेलमा क्षेति पुगेको भए १० हजारका दरले राहत वितरण गरिएको महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

You might also like

Comments are closed.