महिलाहरुलाई आर्थिक सशक्तीकरणमा जोड दिन उपसभामुखको आग्रह

पोखरा । महिलाले आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले बताएकी छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले आयोजना गरेको शुभकामना आदानप्रदान एवं दिदीबहिनी भेटघाट कार्यक्रम उपसभामुख शर्माले आफ्नो कमाइसँग रमाउन सक्ने हैसियत महिलाले निर्माण गर्नुपर्ने बताइन् ।

पर्यटन क्षेत्रमा महिलाको योगदान अतुलनीय रहेको तर बाहिर नदेखिएको भन्दै उनले अब आर्थिक रुपान्तरणसँग महिलाको योगदानको मुल्यांकन हुनुपर्नेमा उनले जोड दिइन् । तीज पर्व महिला स्वतन्त्रताको साझा पर्व भएकाले आआफ्नो हैसियत अनुसार रमाउनु पर्ने उनको धारणा थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार देवका पहारीले पर्वलाई सामाजिक सद्भाव र सहिष्णुताबाट जोड्दै महिला सशक्तीकरणका लागि संगठित भावनाबाट अघि बढ्नु पर्ने बताइन् ।

महिला उद्यमी गोमा ढकालले हरेक पर्व अर्थसँग जोडिने भएकाले महिला आर्थिक रुपमा सवल हुनुपर्ने धारणा राखिन् । पछिल्लो समय धेरै महिला आत्मनिर्भर हुँदै गएको र व्यावसायिक छवि बनाउन सफल भएको धारणा राखिन् ।

संस्थाका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा महिलाको संख्यात्मक एवं गुणात्मक वृद्धि गर्न संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन् । कामको बोझमा रहेका दिदीबहिनीलाई तीज पर्वले उत्साह र उमंग ल्याउने उनको भनाई थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष पार्वती पाण्डे र संयोजक लक्ष्मी लामिछानेले संस्थाको गतिविधि र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

You might also like

Comments are closed.