पर्यटन व्यवसायी जमुना पराजुली महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को संस्थापक अध्यक्ष भएर काम गरिरहेकी छन् । पराजुली होटल तथा रेष्टुरेन्ट व्यवसायसँगै स्पा, ट्राभल, ट्रेकिङ, विदेशी मुद्रा सटही लगायतका व्यवसायमा आबद्ध छन् । महिला उद्यमी पराजुलीसँग पर्यटन व्यवसायका साथै वोटेफका गतिविधिमा केन्द्रित रहेर आर्थिक आवाजका लागि रविना ढकालले गरेको कुराकानीः
जमुना पराजुली
अध्यक्ष
महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)
पर्यटन व्यवसायमा कहिलबाट लाग्नुभयो ?
करिव २० वर्ष पहिलेदेखि नै म पर्यटन क्षेत्रमा आवद्ध छु । मसँग यस क्षेत्रको धेरै लामो अनुभव छ । म यसलाई अवसरको रुपमा लिन्छु । म पोखराको लेकसाइडमा नै जन्मेको हो । बुबाको पनि पर्यटन व्यवसाय नै थियो । पर्यटन क्षेत्रमा नै घुलमिल भएँ । पर्यटन व्यवसाय मेरो रुची पनि हो । अनुभव पनि भएकाले यस व्यवसायमा लाग्न प्रेरणा मिल्यो ।
महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को अध्यक्ष हुनुहुन्छ । यो कस्तो संस्था हो ?
पर्यटन व्यवसायी महिलाको संगठित संस्था वोटेफ हो । वोटेफको स्थापना भएको करिव २ वर्ष भएको छ । यसमा पोखरामा रहेर पर्यटन व्यवसाय गरेका महिला आवद्ध हुनुहुन्छ । आफ्नै व्यवसाय भएका तथा महिलाको नाममा नै दर्ता गरेर व्यवसाय संचालन गरेका महिलालाई यसमा आवद्ध गरेका छौं । व्यवसाय सम्वन्धित निकायमा दर्ता हुनुपर्छ । वोटेफ पनि विभिन्न निकायमा दर्ता गरेर संचालन गरेका छौं ।
वोटेफले के–कस्ता काम गरिरहेको छ ?
वोटेफले संस्थागत कामका साथै सामाजिक काम पनि गर्दै आइरहेको छ । पर्यटन व्यवसायी महिलालाई लक्षित गरी तालिम, सेमिनार तथा विभिन्न कार्यक्रम गर्दै आइरहेका छौं । पर्यटन प्रवद्र्धनका विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम तथा गतिविधि पनि सञ्चालन गर्दै आएका छौं ।
कुन–कुन व्यवसायमा आबद्ध हुनुहुन्छ ?
हामीले पोखराको लेकसाइडमा होटल पिस प्लाजा सञ्चालन गरिरहेका छौं । जुन होटल आन्तरिक तथा बाह्य पर्यटकको रोेजाईमा पर्छ । होटल तथा रेष्टुरेन्ट व्यवसायसँगै स्पा, ट्राभल, ट्रेकिङ, विदेशी मुद्रा सटही काउन्टर व्यवसायमा पनि म आबद्ध छु । एकै स्थानबाट धेरै सुविधा दिनको लागि हामीले सबै व्यवसाय संचालन गरेका हौं । यसले पर्यटकलाई धेरै सहज बनाएको छ ।
व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ?
हरेक काममा अवसरसँगै चुनौती पनि हुन्छन् । धेरै चुनौती सामना गरेर नै अहिलेको अवस्थामा आएका छौं । लगानी पनि धेरै छ । प्रतिफल पाउन पनि समय लाग्छ । म यस व्यवसायबाट सन्तुष्ट छु ।
होटल पिस प्लाजाका विशेषताहरु के–के छन् ?
पिस प्लाजाबाट मनोरम दृष्यावलोकन गर्न पाइन्छ । प्रकृतिसँग नजिक रहने अवसर पाइन्छ । फेवाताललाई नजिकबाट हेर्न सकिन्छ । पारिवारिक वातावरणमा सेवा तथा सुविधा प्रदान गर्छौं । शान्त वातावरण छ ।
पर्यटकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
पर्यटकबाट पनि हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । हाम्रो सेवा तथा सुविधाबाट उहाँहरु सन्तुष्ट हुनुहुन्छ । पोखरालाई सबैले मन पराउँछन् । पोखरा घुम्नै पर्ने ठाउँ रहेछ, अरुलाई पनि जान भन्छौं भन्ने गरेको पाइन्छ । नेपालको पहिलो रोजाइमा पोखरा परेको महसुस हुन्छ ।
स्वदेशी र विदेशी पर्यटकलाई हेर्ने दृष्टिकोण फरक छ नि ?
अहिले त्यस्तो छैन । पहिला विदेशी पर्यटकलाई महत्व दिने चलन थियो । विदेशी पर्यटकले सबै काम होटलबाट नै गर्थे । होटल पनि थपिएको अवस्था छ । स्वदेशी पर्यटकलाई पनि विशेष महत्वका साथ हेर्न थालिएको छ । सबै पर्यटकलाई समान दृष्टकोणले हेर्ने गरेका छौं । अहिले नेपाली तथा भारतीय पर्यटकले पनि राम्रो सेवा तथा सुविधा पाएको अवस्था छ ।
व्यवसाय सञ्चालनमा महिलालाई कत्तिको सहज छ ?
पुरुषको तुलनामा महिलालाई काम गर्न अप्ठ्यारो नै छ । महिलाले धेरै जिम्मेवारी पुरा गर्नुपर्छ । काममा चुनौती धेरै छन् । विभिन्न चुनौतीलाई सामाना गर्दै हामी अगाडि बढेका छौं । कतिपय सरकारी कार्यालयमा काम लिएर जादा विभिन्न वाहनामा ढिला सूस्ती हुने तथा असहयोग हुने गरेका छन् । जबकी त्यही काम पुरुषले गर्दा केही बाधा आउदैन । महिला व्यवसायीलाई व्यवसायतर्फ उत्साही तथा प्रोत्साहन गर्नुपर्छ । क्षमता अभिवृद्धि तथा व्यवसाय संचालन सम्वन्धी विभिन्न तालिम प्रदान गर्नुपर्छ । काम गर्न सहज वातावरण बनाउनु आवश्यक छ ।
पर्यटन व्यवसायमा सरकारले कसरी सहयोग गरेको छ ?
सरकारबाट खासै सहयोग आएको महसुस हामीले गरेका छैनौं । धेरै लगानी भएको र सरकारलाई धेरै कर तिर्ने व्यवसाय पर्यटन पनि हो । पर्यटन उद्योग पनि हो । देशलाई माथि उकास्ने काम पनि पर्यटन व्यवसायले गरेको छ । धेरै जनाले रोजगारी पाएका छन् । तर यसमा सरकारले खासै ध्यान दिएको छैन । बैंक तथा वित्तीय संस्थाको व्याजदरले पनि अप्ठ्यारो छ । पर्यटन व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न धेरै कठिन छ । सरकारले यस क्षेत्रमा ध्यान दिनु आवश्यक छ ।
सरकारले पर्यटन क्षेत्रमा लक्षित गरी प्रवद्र्धनात्मक विभिन्न गतिविधि पनि सञ्चालन गरिरहेको छ । के भन्नुहुन्छ ?
गण्डकी प्रदेश सरकारले २०१९ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइरहेको छ । नेपाल सरकारले पनि २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ । यस्ता कार्यक्रमलाई सफल बनाउनतर्फ सबै लाग्नुपर्छ । भ्रमण वर्ष घोषणा गरेर तथा प्याकेज ल्याएर मात्र हुँदैन । पर्यटकमैत्री वातावरण सृजना हुनुपर्छ । पर्यटकले आफूलाई सुरक्षित महसुस गर्नुपर्छ । भौतिक पुर्वाधारको विकासमा ध्यान दिनुपर्छ । यातायातको सुविधा पनि राम्रो बनाउनुपर्छ । प्राकृतिक सम्पदाको संरक्षण तथा सवद्र्धन गर्नुपर्छ । व्यवसायी तथा लगानीकर्तालाई उत्साहको वातावरण तयार गर्नुपर्छ ।
Comments are closed.