महोत्सव लेखनाथको साझा चाँड होः प्रचारप्रसार संयोजक सुवेदी

उपेन्द्रराज सुबेदी (राजु)
प्रचारप्रसार संयोजक
१६औं लेखनाथ महोत्सव
उपमहासचिवः लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यही पुस ३ देखि १५ गतेसम्म सुन्दर नगरी लेखनाथको तालचोकमा ‘१६औं लेखनाथ महोत्सव’ हुँदैछ । लेखनाथ महोत्सव लेखनाथको चाँड हो । जसरी दशैं, तिहारजस्ता चाँडपर्वमा परिवारका आफन्तहरु जम्मा भएर आत्यिता साट्छन् त्यसरी नै महोत्सवमापनि साविक लेखनाथसहित समग्र पोखरेली जमघट हुने र आपसमा भेटघाट गर्दै आत्मियता साट्छन् ।

महोत्सवलाई सबैले चासोका साथ हेरेका छन् । सहयोग गरेका छन् । प्रचारप्रसारमा फरक शैली अपनाएका छौं । हामी सँधै झैँ एफएम, रेडियो, पत्रपत्रिका र अनलाइनलाई प्रयोग गरेका छौं । सहरबाट टाढा रहेका गाउँहरुमा पनि हामीले यसपाली प्रचारप्रसार गरेका छौं । ती गाउँहरुमा हामी कलाकारसहित पुगिरहेका छौं । प्रत्येक गाउँमा एक घण्टा कलाकारहरुले प्रस्तुति दिदै गाउँबासीलाई निमन्त्रण गरेका हौं । अघिल्ला वर्षहरुमा गाउँमा रहेकाहरुले थाहा नपाउँदा महोत्सवमा आउन पाएनौं भन्ने गुनासो गरेकाले हामीले यसपाली प्रचारको यस्तो शैली अपनाएका हौं । हाम्रो अभिप्राय भनेको महोत्सवमा कोही पनि नछुटुन् भन्ने हो ।

त्यसका अलावा हामीले फेसबुक, ट्वीटरसहित यूट्युवलाई पनि प्रयोग गरेका छौं । सहरी क्षेत्रका लागि हामीले प्रत्येक बस, ट्याक्सीहरुमा महोत्सवको प्रचारात्मक स्टिकर टाँसेरपनि प्रचारलाई तिव्र बनाएका छौं ।

औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो । स्थानीय उत्पादनको पहिचान गर्दै स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्नु महोत्सवको लक्ष्य हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने गर्दै आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गर्न महोत्सव सफल हुनेछ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि महोत्सव सहयोगी हुनेछ । महोत्सवमा ३ सय ३६ स्टल रहने छन् । सम्पूर्ण स्टल बुकिङ भइसकेका छन् । २ लाख ५० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने हाम्रो विश्वास छ ।

You might also like

Comments are closed.