महोत्सव लेखनाथको साझा पर्व हो : ढकाल

बलराम ढकाल
अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ

सात तालको बाटिका शहर लेखनाथमा पुस ३ गतेबाट १६औं संस्करणको लेखनाथ महोत्सव हुँदैछ । महोत्सवको पनि महोत्सव भनेर चिनिदै आएको लेखनाथ महोत्सव लगायत विविध विषयमा केन्द्रित रहेर महोत्सव आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालसँग आर्थिक आवाजले गरेको कुराकानीः

महोत्सवको तयारी कस्तो छ ?

लेखनाथ महोत्सवको सम्पूर्ण तयारीलाई तिब्र बनाएका छौं । महोत्सवका स्टल व्यवस्थापनको कार्य भइरहेको छ । स्टल बुकिङ अन्तिम चरणमा छ । तयारीका क्रममा विभिन्न उपसमितिहरुबाट आ–आफ्नो जिम्मेवारी अनुसार काम भइरहेको छ । प्रचार–प्रसारको काम पनि तिब्र गतिमा भइरहेको छ । प्रायोजन खोज्ने कार्य पनि अन्तिम चरणमा पुगिसकेको छ ।

महोत्सवमा स्टलहरु के–कस्ता रहन्छन् ?

महोत्सवमा तीन सय बढी स्टल हुनेछन् । यस वर्ष हामीले महोत्सवमा माछाको स्टललाई विहशेष स्टलका रुपमा राखेका छौं । यद्वपि यो अघिल्लो वर्षदेखि नै शुरु गरेका हौं । त्यस्तै महोत्सवमा सुन्तलासहित कृषि, हस्तकलाका सामग्री, बाल उद्यानलगायतको स्टलहरु छन् । मोबाइलका स्टलहरु पनि छन् भने खाद्य, कपडा लगायतका स्टलहरु पनि छन् । बाल उद्यान पनि महोत्सवको विशेष आकर्षण हो । यसका साथै पिङ लगायतका रमाइलो गर्ने स्थल पनि छुट्टै राखिएको छ ।

महोत्सव आयोजना गर्नुको उद्देश्य के हो ?

औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो । स्थानीय उत्पादनको पहिचान गर्दै स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्नु महोत्सवको लक्ष्य हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने गर्दै आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गर्न महोत्सव सफल हुनेछ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि महोत्सव सहयोगी हुने ढकालले बताए ।

महोत्सवमा दर्शक किन आउने ?

स्वभाविक हिसाबले महोत्सवमा राखिएका ३ सय भन्दा स्टलमा विविधता छ । त्यस हिसाबले पनि त्यहाँ रहेका सामानहरुको अवलोकनका साथै खरिदका लागि पनि दर्शक आउन सक्छन् । ती स्टलमा राखिएका सामानहरुको अवलोकन, तिनका विशेषता, उत्पादन गर्ने तरिका, लागत, त्यसको व्यवसाय, भविष्य लगायतबारे जानकारी लिनपनि सर्वसाधारण महोत्सवमा आउनुपर्छ ।

अर्को कुरा एउटै थलोमा सबै सामान खरिद गर्नपनि पाउने भएकाले त्यसको सदुपयोग गर्न सर्वसाधारण लेखनाथ महोत्सवमा आउनुपर्छ । बालबालिकालाई रमाइलोका लागि पनि बाल उद्यान राखिएकाले बच्चाहरुलाई मनोरञ्जन दिनका लागि पनि महोत्सव आउनुपर्छ । घरमा बस्दाबस्ता बोरिङ भएको अवस्थामा फ्रेस हुनका लागि सांस्कृतिक कार्यक्रम पनि छ । हो त्यसैले मनोरञ्जनका लागि पनि महोत्सवमा आउनुपर्छ । मोबाइल साटफेर र खरिदपनि गर्न पाइने भएकाले त्यसका लागि पनि महोत्सव आउनुपर्छ । हामीले महोत्सवमा उद्यमशील बन्न पनि सिकाउँछौं ।

महोत्सव सफल बनाउन ककस्ता गतिविधि हुन्छन् ?

महोत्सवलाई पर्वजस्तै बनाउने प्रयास गरेका छौं । जहाँ हरेक ख्याती प्राप्त कलाकारहरुले लाइभ प्रस्तुती दिनेछन् । दिउँसो दोहोरीका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गीत गाएर मनोरञ्जन प्रदान गर्नेछन् । रत्यौली पनि राखिएकाले महिलाले आफ्नो वह पोखेर मन हलुको बनाउन सक्नेछन् । प्रचारप्रसार राम्रो गरेका छौं । लेखनाथबासीसँग सहकार्य गरेर सबैलाई अपनत्व दिलाएका छौं । महोत्सवमा सम्पूर्ण लेखनाथबासी र पोखरेलीको अपनत्व छ । लेखनाथलाई चिनाउने गरी महोेत्सवमा गतिविधि हुन्छन् ।

सबैले अपनत्व महशुष गरेका छन् त भन्नुभयो, तर सहयोगचाहिं कत्तिको मिलेको छ ?

बास्तवमा हामीले महोत्सवलाई संस्कृतिका रुपमा अगाडि बढाएका छौं । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र समृद्धि’ भन्ने हाम्रो नारा नै हो । त्यसैले यहाँका सबै जातजाति, भाषा, धर्म, संस्कृतिहरुलाई एकै ठाउँमा राखेर सबैले मान्ने चाँडका रुपमा हामीले महोत्सवलाई बनाएका छौं । यो सबैले मान्ने साझा चाँडका रुपमा हामीले लिएका छौं । यसका साथसाथै उत्पादन र यसको विकासका लागि उत्पादनसँगसँगै यसको बजारीकरण गर्दै यो क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने हाम्रो लक्ष्य हो ।

महोत्सवले आर्थिक विकासमा कसरी सघाउँछ ?

महोत्सवले आर्थिक गतिविधि चलायमान गराउँछ । यहाँ स्थानीय उत्पादनको खरिद बिक्री हुन्छ । यस हिसाबले लेखनाथबासीको आयआर्जनमा यसले सघाउने नै भयो । किनकि महोत्सवमा हामीले किसानलाई बजार दिएका छौं । सर्वसाधारणले सहज रुपमा सस्तो मूल्यमा सामान पाएका छन् । यसले किसान र उपभोक्ता दुबै वर्ग लाभान्वित हुन्छन् । अन्य उद्योगी व्यवसायीले पनि यहाँ बजार पाउँछन् । महोत्सव समृद्धीको बाहक पनि हो । किनकि बजार बढेसँगै उत्पादनपनि अवश्य बढ्छ । त्यतिमात्र होइन महोत्सव सामान खरिद बिक्री मात्र नभई प्रदर्शनी पनि हो । यहाँ नयाँनयाँ प्रविधिबारे जानकारी गराइन्छ । सामान उत्पादन गर्ने तरिका, लगानी र त्यसको भविष्यबारे पनि महोत्सवमा जानकारी गराइन्छ । यहिंबाट सिकेर उद्यमी बन्नेहरु पनि बढेका छन् । महोत्सवबाट बचत भएको रकमबाट हामीले उद्यमीहरुलाई बिजमनी दिने गरेका छौं । त्यहिंबाट शुरु गरेका युवाहरुले अहिले ठूलाठूला लगानी गर्न थालेका छन् । यस्ता धेरै हिसाबले हेर्दा महोत्सवले लेखनाथको विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ ।

महोेत्सवले उत्पादक र उपभोक्तालाई कसरी जोड्छ ?

महोत्सवमा हजारौं मानिसहरुको सहभागिता हुन्छ । यस्तो महोत्सवमा हामीले स्थानीय उत्पादकदेखि ठूलठूला उद्योगका सामानहरु एउटै थलोमा राख्छौं । राखेका सामानहरु आएका उपभोक्ताहरुले खरिद गर्छन् । एकातिर बजार नपाएका उत्पादकहरुले बजार पाउँछन् भने उपभोक्ताले एकैथलोमा आफूले चाहेका सबै सामानहरु खरिद गर्न पाउँछन् । यो एउटा उत्कृष्ट अवसर हो । त्यतिमात्र होइन, बजार नपाउँदा उपभोक्ताले मूल्य नपाउने अनि सहर गएर खरिद गर्दा महंगोमा खरिद गर्नुपर्ने उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने थलो पनि महोत्सव बनेको छ । यसले गर्दा उत्पादक किसान र उपभोक्ता सर्बसाधारणलाई जोडेर सस्तोमा एउटै थलोमा सबै सामान पाउने थलोको रुपमा महोत्सव बनेको छ ।

महोत्सवले पर्यटन प्रवद्र्धनमा कत्तिको सघाएको छ ?

महोत्सवले लेखनाथको पर्यटन प्रवद्र्धनमा सघाएको छ । महोत्सवले लेखनाथलाई ब्राण्डिङ पनि गरेको छ । महोत्सवबारे प्रचारप्रसार गर्दा लेखनाथबारे नेपाल तथा विदेशमा पनि चर्चा परिचर्चा स्वाभाविक रुपमा हुन्छ । महोत्सवका लागि कास्की सहित पर्वत, स्याङ्जा, तनहुँ लगायतका क्षेत्रबाट पनि दर्शकहरु आउँछन् । यस हिसाबले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि महोत्सवले सघाएको छ । सँगसँगै महोत्सवमा लेखनाथको बेगनास, रुपातालमा हुने विविध गतिविधिहरुपनि समेटिएकाले यसले पनि पर्यटन प्रवद्र्धनमा सघाउँछ । यस पटक भ्रमण वर्ष २०२० लाई लक्षित गरी थप पर्यटकीय गतिविधि महोत्सवमा हुनेछन् ।

अन्त्यमा के भन्नुहुन्छ ?

महोत्सव सामान खरिद बिक्री र मनोरञ्जनका लागि मात्र होइन । महोत्सव सिक्ने र सिकाउने थलोपनि हो । यहाँ सामान उत्पादन कसरी हुन्छ ? त्यसको लागि कति हो ? कसरी काम गर्ने ? देखि लिएर व्यवसाय कसरी गर्ने भनेर ज्ञान र सीप सिकाउने पनि गरेका छौं । यसले व्यावसायिक कुशलता हासिल गर्नपनि सघाउँछ । यसका लागिपनि महोत्सवमा आइदिन हामी सम्पूर्णमा आग्रह गर्दछु ।

You might also like

Comments are closed.