माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक बिदा दिने भएको छ । गण्डकी प्रदेश सरकारले माघे सक्रान्तिको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिने घोषणा गरेको हो । प्रदेश सरकार मन्त्री परिषद बैठकले माघ १ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न शुक्रबार आयाजित पत्रकार भेटघाटमा प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

माघ १ गते माघे सक्रान्ति मनाउने गरिएको छ । त्यस्तै थारु जाति र मगर समुदायले माघी तथा किराँत समुदायले नया वर्षका रुपमा मनाउने गर्दछन् । मन्त्री परिषद बैठकले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक प्रदेश सभामा पठाउन स्वीकृति दिएको छ । भाषा, संस्कृति, कला, साहित्य, नाटकलगायतको विकास, बिस्तार र अनुसन्धान गर्ने उद्धेश्यले प्रतिष्ठान स्थापना गर्न लागिएको उनले बताए ।

बैठकले गण्डकी प्राविधिक श्रिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना र सञ्चालन गर्न बनेको विधेयकपनि स्विकृत गरेको उनले जानकारी दिए । प्रदेश दुग्ध विकास बोर्डको सदस्यसचिवमा कृषि निर्देशनालयका नवौं तहका अधिकृत डा.गृष्म न्यौपानेलाई नियुक्त गरेको उनले बाए ।

मन्त्री परिषद बैठकले कर्मचारी पदस्थापन तथा सरूवासम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री बस्नेतले जानकारी दिए । त्यस्तै, प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत गर्ने, होम–स्टे सञ्चालनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक अनुमति दिनेपनि निर्णय गरेको उनले बताए ।

गण्डकी प्रदेशमा स्वास्थ्यतर्फ आवश्यक कर्मचारी लोक सेवा आयोगबाट पदपूर्ति गरिने उनले बताए । केही कर्मचारी भने आन्तरिक तवरबाटसमेत पदपूर्ति गरिने प्रष्ट पारे ।

You might also like

Comments are closed.