माछापुच्छ्रे मोडेल ट्रेकमा पदमार्ग निर्माण

सन्देश श्रेष्ठ
पोखरा, १६ साउन । कास्कीको उत्तरी क्षेत्र माछापुच्छ्रे मोडेल ट्रेक जाने बाटोमा पदमार्ग निर्माण गरिएको छ । पर्यटकको रोजाइमा पर्दै आएको कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने माछापुच्छ्रे मोडेल ट्रेकको भ्यू प्वाइन्ट पुग्ने बाटोको विभिन्न ठाउँमा पदमार्ग निर्माण गरिएको हो । ३६८२ मिटर उचाइमा रहेको यो माछापुच्छ्रे मोडेल ट्रेक भ्यू प्वाइन्टबाट अन्नपूर्ण हिमाल पहिलो, अन्नपूर्ण दोश्रो, अन्नपूर्ण तेश्रो र अन्नपूर्ण साउथ, गन्धर्व चुली, माछापुच्छ्रे, लमजुङ हिमालदेखि सुदूरपूर्वको बुद्ध हिमाललगायत १० वटा हिमाल देखिन्छ । त्यस्तै, सो ठाउँबाट पोखरासहित नेपालकै करीब २५ प्रतिशत भुभाग देखिने स्थानियको दाबी छ ।

सो भ्यू प्वाइन्ट पुग्ने कुइबाङबाट, सेतीघट्ट, ईमु, तक्रो, प्रुम्धुँ, कल्था, मेरबाङ, अलाङ्गे झरना, नौढोके, मेश्रमहुँदै कोर्चोङसम्म पुग्ने बाटोका विभिन्न ठाउँमा पदमार्ग निर्माण गरिएको हो । यो पदमार्गमा गुरुङ समुदायद्वारा सञ्चालित कुईबाङ हामे–स्टे, तामाङ समुदायद्वारा सञ्चालित तक्रो गाउँ होम–स्टे, मिश्रित जातिको प्रुम्धुँ गाउँ होम-स्टेलगायतका होमस्टेहरु रहेका छन् ।

कुल २१ लाख रुपैयाँमा विभिन्न ठाउँमा पदमार्ग निर्माण गरिएको माछापुच्छ्रे गाउँपालिका—९ का अध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । गण्डकी पदमार्ग निर्माणमा प्रदेश सरकारको २० लाख र माछापुच्छ्रे गाउँपालिकाको १ लाख लगानी रहेको उनले बताए ।

jutta mela

माछापुच्छ्रे मोडेल ट्रेक पदमार्ग निर्माण समिति बनाएर पदमार्ग निर्माण गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । समितिले कल्थाबाट साँपुडाँडासम्म ६५० मिटर पदमार्गमा ढुंगा खापेको समितिका सचिव कुलप्रसाद अधिकारीले जानकारी दिए । उक्त पदमार्गको बिचमा एउटा चौतारीपनि निर्माण गरिएको उनले बताए ।

त्यस्तै, माछापुच्छ्रे—५ को रका डाँडामा खानेपानी आयोजना निर्माण सम्पन्न गर्नुका साथै १ सय मिटर गोरेटो बाटोसमेत निर्माण गरिएको छ । जाउँ है हिमाल सामुदायिक होम–स्टे सञ्चालनमा रहेको प्रुम्धुँ गाउँमा २५० मिटर ढुंगा खापेर पदमार्ग निर्माण गरिएको छ ।

आलङ्गे झरनालाई गन्तव्य बनाउने उद्धेश्यसहित सो नजिक ३ सय मिटर पदमार्ग निर्माण गरिएको सचिव अधिकारीले जानकारी दिए । उनका अनुसार १ सय मिटरमा ढुंगा खापिएको छ भने बाँकी २ सय मिटरमा माटो सम्याएर पदमार्ग निर्माण गरिएको छ । नौढोके गुफा जाने बाटोमा ५० मिटर ढुंगा खापेर पदमार्ग निर्माण गरिएको छ ।

यसैबीच, निर्माण सम्पन्न सो पदमार्गको गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बरालले अवलोकन गरेका छन् । उनले ३ दिन लगाएर सो क्षेत्रको अवलोकन गर्दै आगामी दिनमापनि पदमार्ग निर्माण, खानेपानी आयोजना, पुल निर्माण, होम–स्टे प्रवद्र्धनलगायतका लागि बजेट पार्न भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

पदमार्ग निर्माणसँगै स्थानियमा खुशी छाएको छ । पदमार्ग निर्माणले लेकमा हुने ‘टुसा’ बजार झार्न, मेहरबाङ खर्कमा रहेको गोठमा जान सजिलो हुनुका साथै पर्यटक आवतजावत गर्नसमेत सजिलो भएपछि स्थानिय खुशी भएका हुन् । प्रदेश सरकार आएपछि विकासको मुख देख्न पाएको भन्दै उनीहरुले थप पदमार्ग निर्माणका लागि बजेट छुट्याईदिन आग्रहसमेत गरेका छन् ।

You might also like

Comments are closed.