माघ, २१ पोखरा। तनहुँ सम्पर्क समाज पोखराद्वारा स्थापित मातृभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आँठौँ स्थापना दिवस सहकारी सम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरी मनाइयो।
कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका सञ्चालक भिम गुरुङले सबै शेयर सदस्यको जिम्मेवारी र सहभागीताले नै सहकारीको उचित बृद्धि र विकास सम्भव रहेको बताए।
प्रशिक्षक गुरुङले सहकारी नाफामुखी हुनु नै विकृति भएको बताउँदै समय अनुसार नीति र प्रविधिको प्रयोग गरि सेवामुखी र गुणस्तर बृद्धिमा ध्यान दिनु जरुरी रहेको बताए।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराकी राजयोगी प्रशिक्षक विनीता कुमारी पराजुलीले संस्थाको विकासमा सबैको सोच सकारात्मक रहनुपर्नेमा जोड दिइन्। उनले हरेक गुण र अवगुणले नै संस्था सञ्चालन प्रक्रिया सहज बनाउने बताउँदै समयको परिवर्तनसँगै मानिसमा अरुप्रतिको सकरात्मकता भन्दा नकरात्मकता सोचको बृद्धि भएको बताइन्।
कार्यक्रमका अध्यक्ष श्रीकान्त शर्मा खतिवडाले संस्थाको बृद्धि र विकासमा सबै शेयर सदस्यको योगदान बराबर रहेको बताउँदै आउँदा दिनमा सम्पर्क समाजद्वारा स्थापित एक नमुना सहकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सञ्चय बहुउद्देश्यीय सहकारी संस्था लि।का अध्यक्ष नारायण कार्की र सल्लाहकार तथा तनहुँ सम्पर्क समाज पोखारका अध्यक्ष शिवराज पौडेल सल्लाहकार मुरलीमोहन काफ्लेले शुभकामना मन्तव्य राखेका थिए।
सचिव ईश्वर प्रसाद सुवेदीले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य कोषाध्यक्ष भरत केसीले राखेका थिए। सहकारीमा हाल ५८० जना शेयर सदस्य छन् भने शेयर पुँजी करिब तीन करोड रहेको व्यवस्थापक श्रीराम सुवेदीले जानकारी दिए।
Comments are closed.