मिन गुरुङले खोले १८ करोडमा होटल टास्क इन्टरनेसनल

पोखरा, २ माघ

पोखरामा १८ करोडको लगानीमा नयाँ होटल खुलेको छ । पोखरेली रेष्टुरेण्ट व्यवसायी मिनराज गुरुङ र उनकी धर्मपत्नी गौरी तमुले पोखराको अमरसिंहचोकमा सुविधा सम्पन्न १० तले भवनमा ‘होटल टास्क इन्टरनेसनल’ खोलेका हुन् । महाभुकम्प गएको दिन २०७२ साल बैशाख १२ गते शिलान्यास गरिएको सो होटल चार वर्षपछि भुकम्प सुरक्षा दिवसको अवसर पारेर उद्घाटन गरिएको छ । होटलको उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार उद्घाटन गरे ।

बुधबारदेखी नै पूर्ण रुपमा सञ्चालनमा आएको यो होटलमा कुल ३२ वटा कोठाहरु रहेका छन् । फाइभ स्टार लेभलको दाबी गरिएको यस होटलमा एक सुपर स्विट रुम, १६ स्विट रुम र अन्य सबै डिलक्स रुम रहेको होटलका सञ्चालक मिनराज गुरुङले जानकारी दिए । सञ्चालक गुरुङका अनुसार होटलमा एउटा अपार्टमेन्ट पनि रहेको छ । जहाँ पाहुनाले परिवारसहित आएर नीजि घरमा झैं बस्न सक्नेछन् । होटलमा एउटा ३० जना अटाउने, अर्को ५० जना अटाउने कन्फिरेन्स हल रहेको छ भने अर्को एउटा छुट्टै सेमिनार हल रहेको छ ।

jutta mela

सञ्चालक गुरुङले सहरलाई ग्रामिण पर्यटनसँग जोड्ने उद्धेश्यले कोठाहरुको नामांकरण गरेको बताएका छन् । होटलसँग ग्रामिण क्षेत्र, ताल, भाषा, संस्कृतिलगायतलाई जोडेर व्यवसायीकरण गर्ने प्रयास गरेको उनको भनाई छ । उनले होटलका प्रत्येक फ्ल्याटलाई विभिन्न क्षेत्र, संस्कृति र तालहरुको नामांकरण गरेका छन् ।

होटलको अन्डर ग्राउण्ड फ्ल्याटमा पार्किङ बनाइएको छ भने ग्राउण्ड फ्लोरलाई लबीको रुपमा प्रयोग गरिएको छ । होटलको पहिलो तलामा धार्मिक पर्यटकीय स्थापित गाउँहरुको नामबाट कोठाको नामांकरण गरिएको छ । ७ वटा कोठा रहेको पहिलो तलामा मुक्तिनाथ, स्वर्गद्वारी, हलेसी, जनकपुर, लुम्विनी, कान्तिपुर नामका कोठाहरु रहेका छन् । दोश्रो तलामा गण्डक क्षेत्रको पर्यटकीय रुपमा स्थापित गाउँहरुको नामबाट कोठाको नामांकरण गरिएको छ । दोश्रो तलामा ऐतिहासिक र सामरिक हिसाबले पर्यटकीय गाउँका रुपमा स्थापित गुरुङहरुको घले गाउँ, घान्द्रुक, ऋसिङ, घिरिङ, मगर गाउँ, खसहरुको सिञ्जा, किराँतको तुवाचुङलगायतका नामहरुबाट कोठाको नामांकरण गरिएको होटल सञ्चालक मिनराज गुरुङले जानकारी दिए ।

सञ्चालक गुरुङका अनुसार होटलको तेश्रो तलाका कोठाहरुलाई तालहरुको नाम दिइएको छ । तेश्रो तलाका कोठाहरुर्ला फेवा, बेगनास, रुपा, रारा, बीसहजारी, बुलबुलेलगायतका नाम दिइएको हो । होटलको चौथो तलाका कोठाहरुलाई हिमालहरुको नाम दिइएको छ । चौथो तलाका कोठाहरुको नाम माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, सगरमाथा, मर्दी, कञ्चनजंघा, मकालु हिमाललगायतका दिइएको सञ्चालक गुरुङले जानकारी दिए ।

यसैगरी होटलको पाचौं तलाको कोठाहरुलाई हनिमुनसँग सम्बन्धित नामहरु दिइएको छ । पाचौं तलाका कोठाहरुमा कुमारी हिमालको रुपमा परिचित माछापुच्छ्रे, अन्नपूर्ण नाम दिइएको छ । यो तलामा कोठासँगै कन्फिरेन्स हलहरु प्नि छन् । ३० जना अटाउने कन्फिरेन्स हल राउण्ड टेबल टक गर्न मिल्ने छ । यसलाई किराँत जातिले गर्ने मुन्धुम नाम दिइएका छ । अर्को ६० जना अटाउने अर्को कन्फिरेन्स हललाई गुरुङ जातिको मौलिक परम्परा रोधी नाम दिइएको छ ।

होटलको छैटौं तलामा एउटा अपार्टमेन्ट छ । यो अपार्टमेन्टलाई गुरुङहरु घुमन्ते फिरन्ते दैनिकीबाट कृषि युगमा प्रवेश गरेको इतिहास सम्झाउने ठाउँ क्होंलासोंथरको नाम दिइएको छ । यो अपार्टमेन्टमा बस्न चाहनेले केहिपनि नलिईकन आएरपनि घरमा जस्तै गरेर आफैले पकाएर खान सक्छन् । अपार्टमेन्टसँगै २ वटा कोठा छुट्टै छ । जसलाई गुरुङहरुको ऐतिहासिक ठाउँ ताङतिङ र भुजुङको नाम दिइएको छ ।

होटलको सातौं तलामा रेष्टुरेण्ट एण्ड बार छ । यसलाई लेकाली सिटी भ्यू रेष्टुरेण्ट नाम दिइएको छ । यो रेष्टुरेण्ट युवाहरुलाई केन्द्रीत गरेर उनीहरुलाई फुल ईन्टरटेनमेन्ट दिने हिसाबले खोलिएको सञ्चालक गुरुङले बताए ।

होटलको आठौं तलामा बार्बिकीसहितको खुल्ला पार्टी गर्ने ठाउँ छ । जहाँ बर्थ–डे, म्यारिज एनिभर्सरीलगायतका पार्टीहरु गर्न सकिने उनले बताए । उनका अनुसार होटलको नवौं तलामा पानीको प्लान्ट, स्टोर रुमलगायत रहेका छन् ।

होटलको दशौं तलामा भ्यू टावर राखिएको छ । भ्यू टावरबाट पोखराबाट देखिने सम्पूर्ण हिमश्रृंखला देख्न सकिन्छ । सञ्चालक गुरुङका अनुसार भ्यू टावरबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृंखला, लमजुङ हिमाल, धौलागिरी हिमाल पानारोमा भ्यूमा देखिन्छ । टावरबाट सम्पूर्ण पोखरा देखिने उनले बताए । अमरसिंहचोक पोखराको बिच भागमा भएकाले पोखराको चारैतिर भ्यू टावरबाट देखिने भएकाले पर्यटकलाई पोखरा हेर्ने अवसरपनि यसले मिलाएको उनले बताए ।

होटलका कोठाहरुलाई दिइएको नाम अनुसार ति कोठाहरुमा ति ठाउँको ऐतिहासिकता, विकास र पहिचानलगायतबारेको डकुमेन्ट्रीसहितको जानकारी टिभीमा हरेक पर्यटकले हेर्न मिल्नेगरी राखिएको होटल सञ्चालक मिनराज गुरुङले जानकारी दिए । त्यसरी होटलका कोठाहरुको नाम विभिन्न परिचित ठाउँ, संस्कृति, ऐतिहासिकताका नामबाट राख्दा त्यसले त्यस ठाउँको ब्राण्डिङ गर्ने र त्यहाँ राखिएको ईन्फरमेसनले पर्यटकलाई जानकारी दिदै जाउँजाउँ लाग्ने बनाउँदै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न मद्धत गर्ने उनको भनाई छ ।

होटलमा ५ हजारदेखी १५ हजार सम्मका कोठाहरु रहेको सञ्चालक गुरुङले जानकारी दिए । शुभारम्भको अवसरमा ३० प्रतिशत छुट दिइएको उनले बताए । अपार्टमेन्टलाई भने दैनिक १५ हजार पर्ने उनले जानकारी दिए ।

You might also like

Comments are closed.