‘मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन’

योगेश भट्टराई, मन्त्री, संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो पर्वका रूपमा लिइने पर्यटन दिवसका अवसरमा विश्वभरिका पर्यटक, पर्यटन व्यवसायी, सरोकारवाला तथा आम जनसमुदायमा ४१ औं विश्व पर्यटन दिवस–२०२० का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भनेकै पर्यटन हो । संसारको छानाका रूपमा विश्वमा आफ्नो पहिचान स्थापित गर्न सफल हाम्रो देश नेपाललार्ई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेको छ । नेपालमा अवस्थित सर्वोच्च शिखर सगरमाथासहितका हिमश्रृङखला, छोटो भौगोलिक दूरीभित्र रहेका विविधतापूर्ण भूगोल, कला र संस्कृतिको विशिष्टता र विविधताका साथै विश्वशान्तिको उद्गमस्थल अर्थात् गौतम बुद्धको जन्मस्थान लुम्बिनीजस्ता अनुपम सम्पदाहरूका कारण नेपाल विश्वमाझ पर्यटनको आकर्षक गन्तव्य रहेको छ । सरकारले यस क्षेत्रलाई प्राथमिकताका साथ आर्थिक–सामाजिक विकासमा योगदान पु¥याउने क्षेत्रका रूपमा लिएको छ । यस मन्त्रालयले संघीयताको मर्म र सहकार्यबाट हुने फाइदालाई आत्मसात गर्दै तीनै तहका सरकार र अन्तर मन्त्रालय सहकार्यमा नेपालको पर्यटनको विकास र प्रवद्र्धन गर्ने ढाँचा अवलम्बन गरी निजी क्षेत्रसँगको निकट सम्बन्धमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

सन् २०२० को सुरुवातसँगै विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीबाट नेपालसमेत गम्भीर रूपमा प्रभावित भएको छ । व्यक्तिगत एवं सामूहिक गतिशीलतामा पर्यटन निर्भर हुने भएको र देशमा २०७६ चैत ११ गतेदेखि समय समयको बन्दाबन्दी र घुमफिरमा भएको नियन्त्रणले गर्दा यस क्षेत्रका व्यवसाय तथा सेवाहरूमा उच्च क्षति पुगेको छ । तथापि, हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुन्छ भनेझैं निकट भविष्यमा नै यो महाव्याधि नियन्त्रणमा आउनेछ, नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्नेछ र हाम्रा तत्कालीन एवं दीर्घकालीन लक्ष्यहरू हासिल हुनेछन् भन्ने विश्वासका साथ हामीले आन्तरिक तयारीलाई तीव्रता दिनुपर्ने हुन्छ । यस परिवेशमा आएको विश्व पर्यटन दिवसका अवसरमा हामीले भौतिक रूपमा उपस्थिति भई विगतमा झंै कार्यक्रम तथा जागरण अभियानहरू सञ्चालन गर्न उपयुक्त नभए पनि निकट भविष्यमा यस क्षेत्रको वृद्धि र विकासलाई लक्षित गरी सरकारी, निजी व्यवसाय तथा नागरिकस्तरबाट सुरक्षाका मापदण्डहरू पालना गरी आन्तरिक रूपमा सम्भार, विकास र तयारीजस्ता पुनरुत्थानका कार्यहरू गरौं भन्ने अपिल गर्न चाहन्छु ।

यस वर्षको विश्व पर्यटन दिवसको नारा Tourism M Building Peace Û Fostering Knowledge को भावनाअनुरूप यसको व्यावहारिक रूपान्तरण गरी नेपालको पर्यटन क्षेत्रमा अनुसन्धान एवं तथ्यपरक ढंगले योजना कार्यान्वयन गर्ने, गुणस्तर अभिवृद्धि गर्ने र स्थानीय समुदायसम्मले लाभ लिने गरी रोजगारी र वैदेशिक मुद्रा आम्दानीको दिगो स्रोतका रूपमा पर्यटन गतिविधिहरूको विस्तार गर्न उपयुक्त हुन्छ । सरकारले पर्यटनका नवीनतम र दिगो गन्तव्यहरूको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । आगामी दिनमा जनता एवं सरोकार समुदायका सुझाव एवं विज्ञहरूको अध्ययन तथा सिफारिसका आधारमा नवप्रवद्र्धन र विकाससम्बन्धी योजना र कार्यक्रमहरूलाई उच्च महत्वका साथ कार्यान्वयन गरिने विश्वास दिलाउन चाहन्छु ।

हामी सबैलाई ४१ औं विश्व पर्यटन दिवसबाट कोभिड १९ को महाव्याधिमाथि विजय हासिल भई पर्यटनसँगै सबै आर्थिक–सामाजिक क्रियाकलापहरू सहज र थप गुणात्मक ढंगले सञ्चालन गर्ने सामथ्र्य हासिल हुनेछ र आगामी समय पर्यटन क्षेत्रका लागि अनुकूल बन्नेछ भन्ने विश्वासका साथ सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

११ असोज २०७७ (September 27, 2020)

(४१औं विश्व पर्यटन दिवसको अवसरमा मन्त्री भट्टराईद्वारा जारी शुभकामना सन्देश)

You might also like

Comments are closed.