मुहार फेर्दै बजारहरुको बाघ ! बुद्ध विशालबजार

सन्देश श्रेष्ठ

पोखरा । कुनै समय थियो, बजार भनेको बुद्ध विशालबजार मात्र हो भन्ने बुझिन्थ्यो । दशैंमा होस् वा तीज, तिहार । अनि विवाह होस् वा अन्य शुभकार्यमा सामान किन्नु प¥यो भने आम पोखरेली सपिङका लागि बुद्ध विशालबजार नै पुग्थे । अर्थात बुद्ध विशालबजार सम्पूर्ण रुपमा बजारको पर्यायजस्तै थियो ।

तर परिस्थिति फेरिदै गयो । पोखराका अन्य ठाउँमा पनि ठूला बजारहरु सञ्चालन हुन थाले । सपिङ मलहरु थपिन थाले । बजारको पर्याय बनेको बुद्ध विशालबजार बिस्तारै ओझेलमा पर्दै गयो । यद्व िमुहार फेर्दै बजारहरुको बाघ बुद्ध विशालबजारले आफ्नो गति भने छाडेन । जति नै बुढो भएपनि बाघ बाघ नै हो । उसले आफ्नो आधिपत्य सजिलै कहाँ छाड्थ्यो र ? बरु प्रतिष्पर्धी बजारमा आफूलाई स्थापित गर्ने भरमग्दुर प्रयास जारी राख्यो ।

jutta mela

पोखरामा प्रतिष्पर्धी मार्केटहरु बढ्दै गएपछि बजारहरुको बाघका रुपमा परिचित बुद्ध विशालबजार पनि प्रतिष्पर्धी बजारमा आफूलाई अब्बल बनाउन प्रयासरत छ । नुनदेखि सुनसम्म पाइने ठाउँको रुपमा विकशित गर्न बुद्ध विशाल बजारमा केही वर्ष अगाडि तला थप्ने काम भयो । तर त्यतिले मात्रै नपुगेपछि अहिले बजार भित्र टायल बिच्छ्याउने काम भइरहेको छ । हेर्दा चिटिक्क देखिने टायल बिच्छ्याएर ग्राहकको मन जित्ने बुद्ध विशालबजारको प्रयास हो । त्यतिमात्रै कहाँ हो र ? ग्राहकलाई गर्मी नहोस भनेर सिलिङमा जिप्सन लगाउने कामपनि सँगसँगै भइरहेको छ ।

बजारलाई उजिल्याउन बुद्ध विशालबजारमा एलइडी लाइट जडान गर्ने कार्यपनि धमाधम भइरहेको छ । बजारलाई प्रविधीमैत्री बनाउन वेभसाइट निर्माण भइरहेको छ । त्यस्तै, ग्राहककै सुविधाका लागि मोबाइल चार्ज गर्ने ठाउँ निर्माणको कामपनि अघ बढेको छ । बुद्ध विशालबजार आउने ग्राहकले मोवाइल अफ भएर बस्न नपरोस् भनेर मोबाइल चार्जिङको ब्यबस्था गर्न लागिएको हो । उसो त विशालबजारलाई फ्रि वाइफाइ जोन बनाउने कामपनि अन्तिम चरणमा पुगिसकेको छ । ‘सरसफाईदेखि डेकोरेसनसम्म ध्यान दिइएको छ,’ ‘बुद्ध विशालबजार व्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले भने, ‘हामी ग्राहकको मन जित्न चाहन्छौं, त्यसका लागि हामीले यो प्रयास गरेका हौं ।’

बुद्ध विशालबजारमा आउने ग्राहकलाई सजिलो होस् भनेर बजारको बीच भागतिर बस्ने ठाउँको पनि ब्यबस्था गर्ने तयारी भएको उनले बताए । ‘त्यो वेटिङ प्लेसका रुपमा विकास गर्न चाहन्छौं,’ उनले भने । सँगसँगै ग्राहकदेखि व्यवसायी र कर्मचारी÷मजदुरलाई पनि आफूले चाहेको खण्डमा पानी पिउन मिल्नेगरी खानेपानीको व्यवस्थापनि गर्ने तयारी भएको उनको भनाई छ । यसरी नै काम अघि बढिरहे बुद्ध विशालबजारले चाँडै मुहार फेर्नेमा दुइमत छैन ।

बुद्ध विशालबजारलाई नमूना बजारका रुपमा लैजाने बुद्ध विशालबजार व्यापारिक एशोसियसनले योजना बनाएको छ । जसका लागि एशोसियसनले नयाँनयाँ प्रोडक्ट थप्ने योजना अगाडि सारेको छ । बुद्ध विशालबजारको दोस्रो तलामा चलचित्र भवन बनाउने महत्वकांक्षी योजना पनि बनाएको महासचिव इन्द्रराज अर्यालले बताए । त्यहाँ क्यू एफएक्स हल बनाउने प्रस्ताव अघि बढेको र यसमा छलफल भइरहेको उनको भनाई छ । हलमा बुद्ध विशाल बजारका सम्पूर्ण व्यवसायी, घरधनीले सेयर पाउनेछन् । अझ भनौं उनीहरुलाई विशेष प्राथमिकता दिइनेछ । पोखरेली आम सर्वसाधारणका लागि पनि सेयर खरिद गर्न खुल्ला आह्वान पनि गर्ने योजनामा समेटिएको छ ।

बजारलाई सुन्दर बनाउन पार्किङ महत्वपूर्ण हो । अहिले पार्किङकै कारण धेरैले बुद्ध विशालबजार जानलाई नाक खुम्च्याउँछन् । त्यसैलाई मध्यनजर गर्दै एशोसियसनले पार्किङ व्यवस्थापनको महत्वपूर्ण योजना अघि सारेको छ । त्यसका लागि हाल पार्किङ भइरहेको ठाउँमा ग्राहकको मात्रै सवारी साधन राख्ने व्यवस्था गर्न लागिएको छ । व्यवसायी र कर्मचारी तथा मजदुरको सवारी साधनका लागि छुट्टै स्थानको खोजी भइरहेको महासचिव अर्यालले बताए । त्यतिमात्र होइन बुद्ध विशालबजार भवनको माथिल्लो तलामा खाली रहेको ठाउँलाई पनि पार्किङ बनाउने प्रस्ताव पनि आएको छ । त्यहाँ लिफ्टिङ गरेर सवारी साधन लैजाने र पार्किङ गर्ने प्रस्ताव आएको उनको भनाई छ । लिफ्टिङ प्रविधी असम्भव भएमा भ¥याङ बनाएर भएपनि पार्किङ ब्यबस्थापन गर्ने तयारीपनि भएको छ । बजारमा आएका ग्राहक हुन् वा व्यवसायीदेखि कर्मचारीसम्म खाजा खान अन्त जान नपरोस् भनेर फुडकोर्ट निर्माणको पनि योजना अघि बढेको छ । गेमिङ जोन बनाउने योजना पनि तयार भइरहेको एशोसियसनको भनाई छ ।

बुद्ध विशालबजारले ब्यापार मात्र गर्दैन, बरु सामाजिक योगदानसँगै नेता उत्पादन पनि गर्दै आएको छ । बुद्ध विशाल बजारले बेलाबेला खेलकुद कार्यक्रम राख्ने गरेको छ भने वार्षिक तालिका बनाएर रक्तदानसमेत गर्दै आएको छ ।

बुद्ध विशालबजारबाट पोखरा उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गर्ने मीनराज काफ्ले पहिलो व्यक्ति हुन् । सदस्यबाट संघमा प्रवेश गरेका उनी उपाध्यक्षसम्म बने । त्यस्तै गीता तिवारी पनि बुद्ध विशालबजारकै प्रोडक्ट हुन् । सदस्यबाट संघमा प्रवेश गरेकी उनी महिलातर्फको उपाध्यक्ष बन्नबाट भने चुकिन् । अहिले उनी पोखरा चेम्वर अफ कमर्सको उपाध्यक्ष छिन् । संघमा प्रतिनिधित्व गर्ने तेश्रो व्यक्ति हुन् केशवबहादुर खत्री । बुद्ध विशालबजार व्यापारिक एशोसियसनको अध्यक्षमा रहिरहँदा पोखरा उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्यमा चुनाव लडेका उनी बिजयी हुँदै बुद्ध विशालबजारको बिँडो धानिरहेका छन् । बुद्ध विशालबजार व्यापारिक एशोसियसनको संस्थापक सीताराम चालिसे हुन् ।

तदर्थ समितिका संयोजक बनेर गठन भएको समितिको पहिलो अध्यक्ष पनि उनी नै भएका थिए । त्यसपछि एशोसियसनको नेतृत्व सुदीप ढकाल, माधवप्रसाद सिग्देल, प्रजनकुमार थापा, बलराम गौतम, प्रदीपकुमार मुल्मी हुँदै केशवबहादुर खत्रीसम्म आइपुगेको छ ।

You might also like

Comments are closed.