यसरी हुँदैछ कास्कीकोटमा भजन चुट्का प्रतियोगिता

पोखरा, १९ माघ । पोखरा–२४ कास्कीकोटमा भजन चुट्का प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । महाङकालेश्वर मन्दिरमा शिवरात्रीको अवसरमा राष्ट्रिय खुल्ला भजन चुट्का प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नेपालकै ठुलो राशीको पुरस्कार राखिएको आयोजक संस्था कश्यप धाम महाङकालेश्वर मन्दिर व्यवस्थान समितिले पोखरामा आयोजित पत्रकार सम्मेलनमा दावी गरेको छ ।

१७८५ मिटर उचाइमा रहेको कश्यप धाममा देशभरबाट विभिन्न समुहले भाग लिन सक्ने मेला संयोजक ठाकुर प्रसाद त्रिपाठीले बताए । समूह दर्ता बिहीबारबाट सुरु भएको र समूह दर्ता गर्न एक हजार रुपैयाँ लाग्ने र १५ वटा समूहको उपस्थिति रहने आयोजकको अनुमान छ । कार्यक्रम फागुन १ गते मंगलवार संचानल हुनेछ । कार्यक्रममा प्रथम हुनेले ५१ हजार ५ सय रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ, तृतीय हुनेले २० हजार रुपैयाँ र सान्त्वना हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने त्रिपाठीले बताए ।

कार्यक्रममा विविध सांस्कृतिक झाँकी, शिव वराहत नृत्य तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने छन् । कार्यक्रम आयोजना गर्न विभिन्न उपसमिति निर्माण गरी कार्यक्रमको तयारी गरिएको अध्यक्ष आन्नद प्रसाद अधिकारीले बताए । ‘कश्यप धामलाई धार्मिक एवं पौराणिक ध्यान केन्द्रका रुपमा विकास गर्न लागि परेका छौं,’ उनले भने ।

You might also like

Comments are closed.