यातायात व्यवसायीले बैंकलाई चाबी बुझाउँदै भने,‘बचाउने कि मार्ने तपाईंहरुको हातमा छ’

 

पोखरा ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंकलाई गाडीको चाबी बुझाउन थालेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) को संक्रमण चलिरहँदापनि बैंकले किस्ताको लागि ताकेता गरेको भन्दै उनीहरुले वैंकलाई ऋणको किस्ताको सट्टा गाडीको चाबी नै बुझाएका हुन् । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण गाडी चलाउन नपाउँदा कमाई नभएकाले किस्ता बुझाउन असमर्थ रहेको उनीहरुको भनाई छ ।ऋणको किस्ता ६ महिना पर सार्न माग गर्दा वैंक तथा वित्तिय संस्थाहरुले बेवास्ता गर्दै किस्ता तिर्न ताकेता गर्न थालेपछि सम्बन्धित वैंकलाई नै गाडीको चाबी बुझाउन थालिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

jutta mela

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सोमबार बैंकमा १ सय १० वटा भन्दा बढी गाडीका चाबी बुझाए । प्रालिले सोमबार एन.एम.बी. बैंकमा ३० वटा, गरिमा विकास बैंकमा २५ वटा, प्राइम वैंकमा ३० वटा र मुक्तिनाथ विकास बैंकमा २५ वटा चाबी बुझाएको हो । बैंक प्रमुखहरुले शुरुमा चाबी लिन आनाकानी गरेका थिए । उनीहरुले बरु कर्जालाई कसरी सहज बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरि निश्कर्ष निकाल्दा राम्रो हुने भन्दै उनीहरुले चाबी लिन आनाकानी गरेका थिए । तर यातायात व्यवसायीहरुले सरकार र राष्ट्र वैंकलाई दवाब दिनका लागि मात्र चाबी बुझाएको र पछि चाबी लिएर ऋण जसरीपनि तिर्ने भनेर प्रतिबद्धता जनाएपछि मात्र उनीहरुले चाबी ग्रहण गरेका थिए ।

कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले लोनको किस्ता तिर्ने म्याद थप्ने वातावरण बनाईदिनका लागि पटक÷पटक आग्रह गरेपनि बेवास्ता गरेकाले बाध्य भएर तालाचावी बुझाउन बाध्य भएको बताए । हामीले किस्ता र ब्याज तिर्दैनौं भनेका छैनौं,‘उनले थपे,‘लोनको किस्ता तिर्ने समय ६ महिना पर सार्दिनुस् मात्र भनेका हौं, तर न सरकारले हाम्रो माग सम्बोधन ग¥यो, नत राष्ट्रवैंक वा वैंक तथा वित्तिय संस्थाहरुबाट नै, त्यसैले बाध्य भएर चाबी बुझाउन आएका हौं ।’ उनले चाबी बुझाउँदै भने,‘अब पाले पूण्य, मारे पाप भनेझैं गाडी र हामी व्यवसायीलाई के गर्ने भन्ने जिम्मा तपाईं वैंकहरुको हो ।’ उनले गाडीको चाबी बुझाउने अभियान जारी रहने भन्दै भने,‘भोलि पर्सीपनि गाडीको चाबी बुझाउने अभियान जारी रहन्छ, हामी हाम्रो कम्पनीमा आबद्ध १३७० वटा गाडीकै चाबी बुझाउँछौं ।’

चाबी लिनुअघी एन्.एम.बी.बैंक गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले व्यवसायीको समस्याबारे आफूहरु जानकार रहेको बताए । तर राष्ट्रबैंकले नै यसको समाधान दिनुपर्ने उनको भनाई छ । हामीपनि वैंकिङ नीति कुरिरहेका छौं,‘उनले भने,‘सायद असार मसान्त सम्ममा राष्ट्रवैंकले एउटा निकास दिन्छ भन्नेमा हामी आशावादी छौं ।’ उनले यातायात व्यवसायीलाई आफ्नो वैंकले लोनको किस्ता र ब्याज तिर्नका लागि ताकेता नगरेको र अबपनि नगर्ने बताए ।

कम्पनीका संस्थापक अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले सरकार र राष्ट्रबैंकले आफूहरुको माग नसुनेका कारण आन्दोलन स्वरुप चाबी बुझाउन बाध्य भएको बताए ।

कम्पनीले तालाचावी बुझाइएका सवारीसाधन केहि भएमा कम्पनी जिम्मेवार नहुने बताएको छ । उसले तालाचावी बुझाई सकेपछि सम्बन्धित बैंक तथा वित्तिय संस्थाले नै त्यसको जिम्मेवारी लिनुपर्ने बताएको छ ।

You might also like

Comments are closed.