युआरएलको छैटौं वार्षिकोत्सव, पत्रकार पौडेल पुरस्कृत

पोखरा । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमनगर, युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)का अध्यक्ष शुशील थापा लगायतले सोमबार भएको युआरएलको छैटौं वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कृत गरे ।

युआरएले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आवद्ध छन् । पुरस्कृत व्यक्तित्व सुरेन्द्र पौडेलले पुरस्कारले आफूलाई ऊर्जा थपेको सुनाए ।

सामाजिक विकास मन्त्री पुनमगरले नागरिकलाई स्वास्थ्यबारे चेतना दिने र सित्तैमा शिविर गर्ने सरकारको काम गरेकोमा युआरएललाई धन्यवाद दिइन् । उनले नागरिकलाई स्वस्थ बनाउन आमाहरुलाई स्वास्थ्यबारे सचेतना जरुरी भएको बताइन् । उनले भनिन्, ‘हामी चेतनामूलक अभियान चलाउँदै छौं । सरुवा रोगहरु नियन्त्रण भइसके, नसर्ने रोगहरुबाट बाच्न खानपान, जीवनशैली र समय समयमा चेकजाँचको सुलभ व्यवस्था गर्न सरकार लागेको छ ।’

jutta mela

गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा. रवीन्द्रप्रसादश्रेष्ठले प्रयोगशाला र चिकित्सक एकअर्काका परिपूरक भएको उल्लेख गरे । उनले रोगको निदान र उपचारका लागि गुणस्तरीय ल्याबको ठूलो भूमिका रहेको जनाए ।

अफिन अध्यक्ष अशोक पालिखेले स्वास्थ्य संस्था सञ्चालनमा अनेक व्यवधान रहेको उल्लेख गरे । उनले भने, ‘प्रशासनले कानुन अनुसार कमजोरी गर्नेलाई कारवाही गर्नुभन्दा पनि मिल भन्ने गरेको छ ।’ कमजोरी गर्ने चिकित्सक, स्वास्थ्य संस्था वा बिरामीका आफन्त जो भए पनि कारवाही हुनुपर्ने र नागरिकले सुलभ तवरले गुणस्तरीय सेवा पाउनुपर्नेमा उनले जोड दिए ।

युआरएलका अध्यक्ष शुशील थापाले संसारमा रगतका करिब ३ हजार थरि परीक्षण हुने उल्लेख गर्दै गण्डकी प्रदेशलाई रक्तजाँचमा आत्मनिर्भर बनाउन लाग्ने प्रण गरे । उनले स्वास्थ्य उपचारसँगसँगै सबैमा स्वास्थ सचेतना आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष थापाले भने, ‘विशेष गरी नगर्ने रोगबारे सचेतना जरुरी छ । रोग लाग्नुभन्दा अघिको ज्ञानले खर्च, परिसानीमात्र काम गर्दैन, जीवन नै जोगाउन पनि सघाउँछ ।’

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले ६ वर्षको अवधिमा ५८ हजारभन्दा बढीलाई निशुल्क सेवा दिएको जानकारी दिए । करिब ४ सय संघ, संस्थासँग सहकार्य गरी ७८ शिविरमार्फत सचेतना र निशुल्क जाँच सर्वसाधारणसम्म पु¥याएको उनको भनाइ छ । पन्तले भने, ‘हामीले नाफाभन्दा अघि सामाजिक उत्तरदायित्व र सेवालाई राखेका छौं । यो प्रदेशको पहिलो र अग्रणी ल्याब भएको दायित्व हामीले पूरा गरेका छौं ।’

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले व्यवसायसँगै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नु व्यवसायीको कर्तव्य भएको बताए । कार्यक्रममा प्रतिभा छनोट समिति संयोजक हरि बास्तोला, युआरएलका ल्याब इन्चार्ज भूपेन्द्रराज पाण्डेय, सञ्चारकर्मी अनिशा श्रेष्ठ लगायतले बोलेका थिए ।

अग्रज पत्रकार हरि बास्तोला संयोजक रहेको प्रतिभा छनोट समितिमा डा. नवराज पौडेल, अधिकारकर्मी रामबहादुर पौडेल, पत्रकार दीपक परियार र स्वास्थ्य पत्रकार यदुनाथ बञ्जारा सदस्य छन् । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा र यदुनाथ बञ्जारा सम्मानित भइसकेका छन् ।

समारोहमा २०७६ को उत्कृष्ट कर्मचारी पुरस्कारबाट दमौली शाखा प्रमुख आशीष श्रेष्ठलाई सम्मान गरियो । दुलेगौंडा र दमौलीमा युआरएलका शाखा छन् ।

You might also like

Comments are closed.