युआरएलको प्राविधिक सहयोगमा नवआदर्शको शिविर

पोखरा । नवआदर्श सामुदायिक विकास समाजले शनिबार आयोजना गरेको निशुल्क रक्त परीक्षण शिविरमा ९ सय ३ जनाको सित्तैमा जाँच गरिएको छ । नवआदर्शले पोखरा, समागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा गरेको शिविरमा थाइराइड तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रगत जाँच सित्तैमा गरिएको थियो ।

मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा तारा कोइरालाले ठूला स्वास्थ्य समस्या एकै पटक नआउने भएकाले साना भनी रोगहरुमा हेलचेक्र्याइ नगर्न आग्रह गरे । उनले मधुमेह, थाइराइड, खराब बोसोलगायतका जाँच समय, समयमा गरी स्वस्थ रहन आग्रह गरे । उनले भने, ‘हृदयघात आफैं हुँदैन, रगतका नशा साँघुरिँदै गएपछि हुने हो । आँखा, मृर्गौला, मुटु बिगार्न मधुमेहको ठूलो हात छ ।’ उनले स्वस्थ खानपान, व्यायम, समय समयमा जाँच र सक्रिय जीवन शैली अपनाउन सके धेरै रोगबाट बाच्न सकिने उल्लेख गरे ।

गण्डकीका प्रदेश सांसद पुष्पा केसी भण्डारीले नवआदर्शले पोखरा १६ को विकासका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको बताइन् । उनले आफूलाई थाइराइड हुँदा जीवनबाटै निराश भएको अनुभव सुनाउँदै रोग लाग्नुअघि नै सजग बन्न र लागिसक्यो भने पनि उपचारमा हेलचेक्र्याइ नगर्न अनुरोध गरिन् । पोखरा १६ वडाध्यक्ष जीवनप्रसाद आचार्यले सुखी नेपाली, समृद्ध नेपालका लागि स्वास्थ्य महत्वपूर्ण भएको बताए । पोखरा १९ का वडाध्यक्ष शोमोहन पौडेलले राजनीति मिसन पूरा गर्न पनि स्वास्थ्यलाई सँगसँगै लैजानु अपरिहार्य भएको बताए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले नागरिकलाई स्वस्थ बनाउन आफूहरुले सामाजिक उत्तरदायित्व बहन गरेको बताए । उनले स्थापनादेखि नै विभिन्न संघ, संस्थासँगको सहकार्यमा भएका शिविरबाट ४३ हजारभन्दा बढीको सित्तैमा जाँच गरिएको जनाए । नवआदर्शका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक अर्जुन भण्डारी र सचिव दिनेश भण्डारीले पनि बोलेका थिए । शिविर आयोजना गर्न ओम डेभलेपमेन्ट बैंक र जय मनकामना बचत तथा ऋण सहकारीले सहयोग गरेका थिए ।

You might also like

Comments are closed.