पोखरा, १८ फागुन
गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले तनहुँको शुक्लगण्डकी नगरपालिकाको दुलेगौंडामा शाखा खोलेको छ । शुक्लगण्डकी ४ मा स्थापित शाखा शनिबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सुरुवात गर्दै नेपालीहरु धेरै प्रकारका भ्रममा बाँचिरहेको बताए । उनले भने, हामी स्वास्थ्य, शिक्षा, धर्ममा पनि भ्रममा छौं ।’ भ्रमबाट मुक्त भएर यथार्थपरक जीवन बाच्दै समृद्धिको यात्रा अहिलेको आवश्यकता भएकोमा उनले जोड दिए । ।
स्वस्थ शरीर नै धन भएकाले नागरिकलाई स्वस्थ बनाउन ३ दिनै तहका सरकार लागिपरेको उनले बताए । यसैबीच गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले शुक्लागण्डकी जस्ता नगरमा अत्याधुनिक ल्याब स्थापना हुँदा जनताले गुणस्तरी सेवा पाउने बताइन् । पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईले रोगसँग डराएर समाधान नहुने भएकाले समयमै उपचार र आहारविहारमा ध्यान दिन आग्रह गरे । बजारमा अनेक प्रकारका भ्रम रहेको चर्चा गर्दै उनले भ्रमको पछि नलागी विज्ञानले प्रमाणित गरेको चिकित्साकै भर गर्न आग्रह गरे ।
करिब १ करोड लागतमा शाखा स्थापना भएको उक्त ल्याबमा सामान्य ल्याबमा नहुने जाँचदेखि विदेश र राजधानी पठाउनुपर्ने संवेदनशील रक्त परीक्षण समेत गर्ने उद्देश्यले शाखा खोलेको हो । तनुहँका दुलेगौंडा, बेलचौतरा, खैरेनीटार, ढोरफिर्दी, भिमाद, थर्पु लगायतका स्थानमा रहेका सेवाग्राहीलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य प्रयोगशाला सेवा दिन शाखा स्थापना गरेको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । उनले गण्डकी प्रदेशलाई रक्त परीक्षण आत्मनिर्भर बनाउने गरी युआरएल लागिरहेको बताए । ५ वर्षअघि स्थापना भएको युआरएलले यसअघि नै तनहुँको दमौलीमा शाखा खोलिसकेको छ ।
शाखा शुभारम्भकै अवसरमा थाइराइड तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी निशुल्क रक्त परीक्षण शिविरमा ४ सय ५३ जनाले निशुल्क जाँच गराएका छन् । युआरएलले हालसम्म विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेका ६३ शिविरबाट ३५ हजारले निशुल्क सेवा लिएका छन् । युआरएलका अध्यक्ष सुशील थापा नागरिकलाई आफैं आफ्नो स्वास्थ्यको जिम्मा लिने बनाउनु युआरएलको लक्ष्य भएको बताए । युआरएलका निर्देशक दिनेशबाबु खड्काले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दायित्वलाई मार्गदर्शन मानेको बताए ।
Comments are closed.