यौन खुलदुली मेटाउन ‘खुलदुली एप्स’ आयो

सन्देश श्रेष्ठ
पोखरा, १५ पुष

किशोरकिशोरी र युवाको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी दिने उद्धेश्यले खुलदुली एप्स सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) र जर्मन विकास सहयोग (जिडिसी)को सहयोगमा एप्स सञ्चालनमा ल्याएको हो । एप्सको आइतबार पोखरामा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खेमबहादुर खड्काले शुभारम्भ गरे ।

एप्समा किशोरकिशोरी तथा युवा अवस्थामा हुने शारिरिक परिवर्तन, यौन प्रजनन, यौन चाहना, यौन सुरक्षा, रजश्वलालगायतका यौन शिक्षा रहेको कार्यक्रमका पैरवी तथा सञ्चार अधिकृत सन्तोष क्षेत्रीले जानकारी दिए । उनले समयमै सहि सूचना दिएर असुरक्षित हुनबाट जोगाउँदै एप्सले आफ्नो स्वास्थ्य स्वस्थ तथा जीवन समृद्ध बनाउनमा सहि निर्णय लिनका लागि सहयोग गर्ने बताए । उनका अनुसार एप्समार्फत किशोरकिशोरी तथा युवाहरुले गोप्य रुपमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सूचना सजिलो, विश्वासिलो, गोप्य र जोखिमरहित तवरले लिन सक्छन् । खुलदुली भित्र गएर किशोरकिशोरी तथा युवाहरुले आफूलाई लागेको यौन तथा प्रजनन सम्बन्धी जिज्ञाशापनि राख्न सक्नेछन् । जिज्ञाशाको जवाफ सम्बन्धित विशेषज्ञले दिने जनाइएको छ ।

एप्स अंग्रेजी तथा नेपाली दुवै भाषामा रहेको क्षेत्रीले जानकारी दिए । यसका लागि किशोरकिशोरी तथा युवालगायत जोकोहिले पनि एन्ड्रोइड सिस्टममा रहेका सम्पूर्ण मोवाइलको प्ले स्टोरबाट इन्टरनेट सेवामार्फत नेपालभर डाउनलोड गर्नुपर्नेछ । डाउनलोड भएपश्चात खुलदुली एप्स इन्टरनेट नभएपनि चल्ने उनले बताए । मोवाइल नभएका ठाउँहरुमा भने किशोरकिशोरीलाई स्मार्ट प्रोजेक्टर वितरण गरिने र त्यसमा सजिलै एप्स हेर्न मिल्ने उनले बताए ।

उद्घाटन कार्यक्रममा विद्यार्थीलाई एप्स प्रयोग गर्ने तरिका सिकाउनुका साथै यौनजन्य तथा प्रजनन सम्बन्धी शिक्षा पनि दिइएको थियो । सो अवसरमा विद्यार्थीहरुले यौन तथा प्रजनन सम्बन्धी जिज्ञाशा खुलेर राखेका थिए ।

lcci
You might also like

Comments are closed.