‘राष्ट्रिय औद्योगिक व्यापार मेला समग्र कास्केली जनताको महोत्सव हो’

दामु अधिकारी
अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ । मेलाका सन्दर्भमा संघका अध्यक्ष दामु अधिकारीसँग आर्थिक आवाजले गरेको कुराकानीः

राष्ट्रिय औद्योगिक व्यापार मेलाको प्रमुख उद्देश्य के हो ?

महोत्सवको प्रमुख उद्देश्य भनेको आर्थिक गतिविधि चलायमान बनाउनु हो । उद्यमशीलताको विकास गर्नु हो । व्यापार, व्यवसायको प्रवद्र्धन गर्नु हो । उत्पादनको बजारीकरण गर्नु हो । व्यापारबाहेक महोत्सवलाई चिन्ने चिनाउने, बुझ्ने बुझाउने, सिक्ने सिकाउने थलोको रुपमा पनि विकास गर्ने प्रयास गरिरहेका छौं ।

jutta mela

महोत्सव राम्रो र हाम्रो बनाउन के गर्दै हुनुहुन्छ ?

राष्ट्रिय औद्योगिक व्यापार मेला पोखरा उद्योग वाणिज्य संघले २०४१ सालदेखि सञ्चालन गर्दै आएको छ । त्यो बेलादेखि नै संघले मेला महोत्सव गर्नुपर्छ भन्ने दीर्घकालीन सोंच राखेर महोत्सव गर्न शुरु गरेको हो । पोखरा उद्योग वाणिज्य संघ प्रमुख आयोजक भएपनि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश पनि आयोजक हो ।

महोत्सवमा यस वर्ष नयाँ के देख्न पाइन्छ ?

महोत्सवमा हामीले हरेक वर्ष केही न केही नयाँ गर्ने प्रयास गरिरहेकै छौं । हामीले विशेष गरेर उद्यमशीलता विकासलाई पहिलो प्राथमिकतामा राखेका छौं । यस वर्ष हामीले शैक्षिक पेभेलियन बनाउँदैछौं । यो विलकुलै नयाँ हो । यसअघि शैक्षिक मेला छुट्टै गरेपनि यसरी महोत्सव भित्रै शैक्षिक पेभेलियन पहिले राखिएको थिएन । शैक्षिक पेभेलियनमा हिसान, प्याव्सन, एन् प्याव्सनसहित विभिन्न कलेजहरुको स्टलहरु रहन्छन् । हामीले औद्योगिक पेभेलियन पनि राखेका छौं ।

महोत्सवको मुख्य आकर्षण के हो ?

महोत्सवको पूर्व सन्ध्यामा भिजिट नेपाल २०२० शुरु हुँदैछ । भिजिट नेपाललाई लक्षित गरेर हामीले पर्यटकीय स्थलहरुको जानकारी दिन स्टलहरु पनि राख्ने तयारी गरेका छौं । गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयसँग समन्वय गरेर हामीले महोत्सव स्थलमा प्रमुख पर्यटकीय गन्तव्यहरुको जानकारी दिने, प्रवद्र्धनात्मक कार्यक्रम, होमस्टेको स्टल, प्याराग्लाइडिङसहित साहसिक खेलकुदको स्टल राखेर त्यसतर्फ आकर्षित गर्ने खालका भिडियो क्लिप्ससमेत स्टलमा देखाउने प्रयास गरेका छौं । त्यसका अलावा औद्योगिक पेभेलियन, शैक्षिक पेभेलियन, अटो पेभेलिन, बाल उद्यान, सांस्कृतिक कार्यक्रम नै महोत्सवको मुख्य आकर्षण हुन् ।

स्थानीय उत्पादनलाई कत्तिको प्राथमिकता दिएका छौं ?

हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छौं । स्थानीय स्तरमा उत्पादन भएका कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादनको बजारीकरण गर्दै यसको ब्राण्डिङ गर्नु नै महोत्सवको उद्देश्य हो । सँगसँगै हामीले औद्योगिक उत्पादनलाई पनि प्राथमिकता दिएका छौं । स्थानीय उत्पादनलाई हामीले सहुलियत दरमा स्टल पनि उपलब्ध गराएका छौं । अझ हामीले महिला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई त नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँग मिलेर निःशुल्क स्टल उपलब्ध गराएका छौं ।

महोत्सवले अर्थतन्त्रमा चाहिं कस्तो प्रभाव राख्छ ?

मेला महोत्सवले अर्थतन्त्रमा प्रभाव निश्चित रुपमा पार्छ नै । किनकि आर्थिक गतिविधि हुन्छ नै । महोत्सव स्थलमै सामानको किनबेच हुन्छ । तर हाम्रो उद्देश्य महोत्सवमा सामान किनबेच मात्रै गर्नु होइन, बरु त्यहाँ राखिएका सामानको ब्राण्डिङ गर्न सघाउनु हो । बजारीकरण गर्न हो । अर्थात प्रवद्र्धन गर्नु हो । सामानको किनबेचदेखि सामानहरुको प्रवद्र्धन गर्नेहुँदा यसले अर्थतन्त्र चलायमान बनाउन सघाउँछ । किसानले बजार पाउँछ अनि उपभोक्ताले सामान खरिद गर्न पाउँछ । उद्योगीदेखि व्यापारीसम्मले बजारमा सामान ल्याउँछ भने उपभोक्ताले खरिद गर्छ । जसले गर्दा अर्थतन्त्रमा यसको सकारात्मक प्रभाव पर्छ । त्यतिमात्र होइन, राज्यलेसमेत यस महोत्सवबाट राम्रै मात्रामा राजश्वसमेत प्राप्त गर्छ ।

महोत्सवलाई ट्रेडफेयरमा परिणत गर्नुपर्छ भन्ने पनि आवाज आउन थालेको छ, के भन्नुहुन्छ ?

ट्रेड फेयरमा जाने बेला भइसकेको छैन । किनकि हाम्रो देशमा प्रशस्त मात्रामा उत्पादन हुन सकेको छैन । हाम्रो क्षमता पनि ट्रेडफेयर गइहाल्ने अवस्था छैन । तर सरकारले सहयोग गरेको खण्डमा भने जान सकिन्छ । यसका लागि उत्पादन बढाउन आवश्यक छ भने सबैको सहयोग पनि उत्तिकै आवश्यक छ ।

पोखरा एक्स्पो शुरु गरिसकेको पोखरा उद्योग वाणिज्य संघ किन फेरी राष्ट्रिय औद्योगिक व्यापार मेलामै फर्कियो ?

पोखरा उद्योग वाणिज्य संघ ट्रेडफेयर नै गर्नुपर्छ भन्ने पक्षमा हो । पोखरा उद्योग वाणिज्य संघले गर्ने मेला, महोत्सव अरुले गर्ने भन्दा फरक छ । हामी नाफा कमाउने उद्देश्यमा मात्रै जाँदैनौं । केही न केही जनतामा सन्देश दिनुपर्छ भनेर नै हामीले अघिल्लो वर्ष पोखरा एक्स्पो भनेर ग¥यौं । एक्स्पो भनेका मेला÷महोत्सव भन्दा केही माथि र ट्रेडफेयर भन्दा थोरै तलको हो । यो भनेको हामी ट्रेडफेयरमा जाँदैछौं भन्ने सन्देश दिनकै लागि गरिएको थियो । तर धेरै साथीहरुले त्यसलाई बुझ्नु भएन । मेलामै सहभागीले पनि अब राष्ट्रिय औद्योगिक व्यापार मेला कहिले हो भनेर सोध्ने, एक्स्पोमा जान्न, बरु औद्योगिक मेलामा जान्छु भन्ने, मेला सकिएपछि पनि व्यापारीहरुले औद्योगिक मेलाको स्टल छ कि छैन भनेर सोध्ने लगायतका कार्यहरु गरेपछि अझै केही वर्ष औद्योगिक व्यापार मेलाकै नाममा गर्नुपर्छ भन्ने भएर फेरी हामी एक्स्पोबाट औद्योगिक मेलामै फर्केका हौं ।

महोत्सव सफल बनाउन कास्केली जनतालाई तपाईंको आग्रह के छ ?

महोत्सव सफल बनाउन म सम्पूर्ण पोखरेलीसहित कास्केली जनतालाई आग्रह गर्छु । यो हामीले नाफा कमाउन गरिएको महोत्सव होइन । हामीले तलब, भत्ता लिएर गर्नेपनि होइन । महोत्सवबाट बचत रकम हामी उद्यमशीलता विकासका लागि, सीप सिकाउन, सामाजिक कार्यकै लागि खर्च गर्छौं । यो व्यवसायीहरुको साझा संस्था भएपनि यो पोखराको जेठो, अग्रणी र सामाजिक संस्था हो । स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन मात्र नभएै समग्र अर्थतन्त्रलाई चलायमान गराउन महोत्सवले भूमिका खेल्ने भएकाले यो उद्योग वाणिज्य संघको मात्र नभई समग्र पोखरेलीको महोत्सवको रुपमा बुझेर यसलाई सफल बनाउन आग्रह गर्दछु । साथै केही गुनासा भए राख्न र सुझाव दिन भएपनि महोत्सवमा आइदिन आग्रह गर्दछु ।

You might also like

Comments are closed.