पोखरा १९ जेठ ।
एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन् । उनीहरुलाई सहरा क्लबका अध्यक्ष केशव थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाहकार समितिका सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए ।
कराते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथहरुलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे । उनले भने, हामीले सहाराको धेरै चर्चा सुनेका थियौं । आज यहि आउने अवसर मिल्यो । सहाराको कामको हामी सबैले प्रशंसा गर्नुपर्दछ ।
नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले दुई दशकअघि स्थापना भएको सहारा खेलकुद र सामाजिक कामका लागि उदाहरणीय क्लब भएकाले अन्य क्लबले त्यसबाट प्रेरणा लिनुपर्ने बताए ।
क्लबका अध्यक्ष थापाले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरुले एकेडेमीको भ्रमण गर्दा एकेडेमीका खेलाडीको हौसला बढ्ने बताए । उनले एसियाडमा भाग लिने खेलाडीलाई क्लबका तर्फबाट सफलताको कामना गरेका थिए । हिरासिंह डंगोल र श्रेष्ठ प्रशिक्षक रहेको टोलीमा चञ्चला दनुवार, अनुअधिकारी, सुनिता महर्जन, रिता कार्की, परशुराम बास्तोला दिवस श्रेष्ठ र सोनाम लामा छन् ।
सोही अवसरमा हङकङ सहारा क्लबका सह कोषाध्यक्ष नवराज (प्रविण) गुरुङले एकेडेमीका खेलाडीका लागि फलफुल र चाउचाउ प्रदान गरेका थिए ।
,
Comments are closed.