रुपाकोट रिसोर्टको पाचौं वार्षिकोत्सव, पोखरा–रुपाकोट बस सेवा सञ्चालन, २५ वटा कोठा थपिदै

सुरेन्द्र पौडेल
पोखरा, १० पुस । कास्कीको रुपाकोटमा सञ्चालित ‘रुपाकोट रिसोर्ट’ले बिहीबार पाँचौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा रिसोर्टले पोखरादेखि रुपाकोटका लागि सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी रिसोर्टले बस सेवा सञ्चालनमा ल्याएको हो ।

टोयटा कोस्टरको २६ सिट क्षमताको बसले अब दैनिक सेवा प्रदान गर्नेछ । पोखराको खपौदीस्थित द कल्चर रिसोर्टबाट बिहान छुट्ने बसले पोखराको लेकसाइड, विमानस्थल हुँदै रुपोकाटसम्म दैनिक सेवा प्रदान गर्नेछ । रुपाकोटबाट पनि सोही रुटमा बसले सेवा प्रदान गर्नेछ । द कल्चर रिसोर्टमा एक कार्यक्रमबीच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बस सेवाको बिहीबार उद्घाटन गरे ।

jutta mela

कार्यक्रममा बोल्दै मेयर जिसीले नयाँनयाँ गन्तव्यको पहिचान र खोजी गर्नसके पर्यटन व्यवसायले फड्को मार्ने धारणा राखे । ‘पर्यटनमैत्री वातावरणमा पर्यटकलाई सेवा प्रदान गर्नुपर्छ,’ उनले भने, ‘परम्परावादी ढंगबाट मात्रै व्यवसाय सञ्चालन गरेर हुँदैछ ।’

पोखरा र रुपाकोट यात्रालाई सहज बनाउने लक्ष्यसहित बस सेवा सञ्चालन गरिएको रुपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले जानकारी दिए । ‘आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बस सेवा सुरु गरेका छौं,’ उनले भने, ‘रुपाकोट रिसोर्टको मात्रै नभइ समग्र रुपा गाउँपालिकामा पर्यटकीय गतिविधि बढाउन हामी सक्रिय छौं ।’ स्तरीय पर्यटन विकासका लागि आफू लागिरहेको उनले बताए । टोयटाको कोस्टर बस सुविधा सम्पन्न छ । बसमा आरामदायी यात्रा गर्न सकिने अधिकारीले बताए । यो बसको मूल्य १ करोड ३५ लाख रुपैयाँ पर्छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रुपाकोट रिसोर्ट ५ वर्ष अघि सञ्चालनमा आएको हो । ‘रुपाकोट पोखराबाट धेरै टाढा छैन,’ अधिकारीले भने, ‘शान्त वातावरणमा सुन्दर दृश्यहरु अवलोकन गर्दै रमाउन चाहने पर्यटकका लागि रुपाकोट रिसोर्ट आकर्षक गन्तव्य बनेको छ ।’ एक दिनका लागि होटल बुकिङ गरेर आएका पर्यटक रुपाकोटमा ४ दिनसम्म बसेको अधिकारीले जानकारी दिए । ‘पर्यटकको बसाइँ लम्ब्याउन पनि रिसोर्टले सहयोगी भूमिका निर्वाह गरेको छ,’ उनले भने ।

२ सय रोपनी जग्गामा सञ्चालित रिसोर्टमा ४२ ओटा कोठा छन् । २५ वटा कोठा निर्माणाधीन रहेको अधिकारीले जानकारी दिए । रिसोर्टमा एक पटकमा करिब एक सय पर्यटकलाई आवासीय सेवा प्रदान गर्न सकिने अधिकारीले बताए ।

रुपाकोटमा जन्मिएका अधिकारीले आफ्नो जन्मथलोमा केही गर्ने सोचका कारण रिसोर्टमा लगानी गरेको बताउँछन् । पर्यटकीय सम्भावना बोकेको रुपाकोटमा रिसोर्ट निर्माण पछि पर्यटन विकासमा महत्वपूर्ण योगदान पुगेको अधिकारीको दावी छ । ‘रिसोर्ट स्थलबाट हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘सात तालको शहर लेखनाथमा रहेको बेगनास र रुपा तालसमेत स्पष्टसँग देखिन्छ ।’ रिसोर्ट रोयल ट्रेकको रुटमा पर्छ । ‘पर्यटक आउँदैनन् भनेर रुपाकोट मानिसहरुले छाडेको ठाउँ हो,’ अधिकारीले भने, ‘अहिले रोयल ट्र्ेकका कारण पर्यटकको संख्या बढिरहेको छ । पर्यटक बढाउन रिसोर्टले योगदान पु¥याएको छ ।’

You might also like

Comments are closed.