प्रकाशमणि तिवारी, अध्यक्ष, पोखरेली ट्याक्सी सेवा प्रालि
अहिले कोरोना महामारीका कारण सबै उद्योग तथा व्यवसाय ठप्प प्राय छन् । अवस्था समान्य भएपछि सबैले सहज रुपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बन्नुपर्छ । यातायात व्यवसायमा पनि धेरै समस्या आएका छन् । व्यवसायी तथा मजदुरलाई पनि यसले प्रत्यक्ष असर पारेको छ । सहज अवस्था नआउदासम्म सबै सुरक्षित रहन पनि म आग्रह गर्दछु ।
सामाजिक दुरी कायम गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सार्वजनिक यातायात सञ्चालन गरेमा व्यवसायी तथा यातायात मजदुरलाई केही हदसम्म भएपनि सहज हुन्छ । लकडाउन खुलेपछि पनि तत्काल व्यवसाय नियमित रुपमा संचालन हुने अवस्था आउदैन । असारसम्म किस्ता तिर्न सकिने व्यवस्था सकारात्मक भएपछि एकैपटक ३÷४ महिनाको किस्ता तिर्न सकिदैन । बैंक तथा वित्तीय संस्थाले ऋणको समयावधी बढाएर व्यवसायीलाई सहयोग गर्नुपर्छ ।
सरकारले यातायात प्राधिकरण गर्ने निर्णय गरेको छ । यसलाई राम्रो मान्नुपर्छ । प्रदेश सरकारले स्थानीय स्तरमा पनि अध्ययन अनुगमनका आधारमा रुट पर्मिट जारी गर्ने भन्ने विषय ल्याएको छ । यसलाई प्रसंशायोग्य मान्न सकिन्छ ।
यतिबेला आम ट्याक्सी व्यवसायी लगायत सम्पूर्ण जनताहरु समस्या छन् । एकातर्फ कोरोना महामारीको डर छ भने अर्कोतर्फ रोजीरोटीको समस्या छ । लामो समय लकडाउन हुँदा व्यवसायी, स्वरोजगार मजदुर तथा मजदुहरु प्रत्यक्ष मारमा परेका छन् । अब सरकारले गम्भिर भएर सोच्ने समय आएको छ भन्ने मलाई लाग्छ । सचेतना अपनाएर आर्थिक गतिविधिहरु सञ्चालन गर्नुपर्छ ।
निश्चित मापदण्ड बनाएर ट्याक्सी तथा सार्वजनिक बससमेत सञ्चालन गर्नुपर्छ । तत्काल लकडाउन खुल्ने अवस्था हुन नसके मजदुरहरुलाई राहत वितरण तथा राहतका प्याकेजहरु पनि राज्यले ल्याउनुपर्छ । रोगले भन्दा पनि भोकले मर्ने वातावरण सिर्जना नहोस् भन्नेमा हामी सबै सचेत हुनुपर्छ ।
(कुराकानीमा आधारित)
Comments are closed.