रोयल सहकारीले ९.९९ प्रतिशत ब्याजमा ऋण दिने, तत्काल १० करोडको कोष व्यवस्थापन

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारीले कोभिड–१९ र लकडाउनका कारण व्यवसाय र रोजगारी अपठ्यारोमा परेका आफ्ना सदस्यहरुको व्यवसाय पुनरुद्धार गर्नेका लागि सहुलियतपूर्ण ब्याजमा कर्जा लगानी गर्ने भएको छ । सहकारीले ९.९९ प्रतिशत ब्याजदरमा कोभिड सहायता ऋण प्रदान गर्न लागेको हो ।

कोभिड सहायता ऋण (Covid assistance recovery enterprises CARE Loan) शीर्षकबाट सदस्यहरुलाई सहुलियत दरमा ऋण प्रवाह गर्नका लागि संस्थाले तत्काल १० करोडको कोष व्यवस्थापन गरेको संस्थाका मूख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए । केहि समय अगाडि मात्र संस्थाले आफ्ना सदस्यहरुमा कोभिडले पारेको असरको बारेमा स्थलगत सर्भेक्षण गरेका थिए ।

कूल ७५०१ सदस्य मध्ये १५ प्रतिशत अर्थात ११२० जना सदस्यहरुलाई विभिन्न १५ वटा प्रश्नहरु समेटिएका सर्भेक्षण फारम भरि त्यसको नतिजाको आधारमा सदस्यहरुको व्यवसाय पुनरुद्धार तथा पुनसञ्चालन गर्नका लागि कोभिड केयर लोन लगानी प्रारम्भ गरिएको सूचना अधिकारी ढकालले बताए ।

jutta mela

केयर लोन एकजना सदस्यले बढीमा रु.१० लाखसम्म पाउने, एक वर्षसम्म ऋणको ब्याजदरमा परिवर्तन नहुने, ६ महिनासम्म ब्याज मात्र बुझाए हुने र यो सुविधा पुरानो तथा नयाँ ऋणि सदस्य सबैले उपभोग गर्न सक्ने गरि व्यवस्थापन गरिएको, कागजात पुगेको सदस्यहरुको लागि २४ घण्टाभित्र ऋण प्रवाह भईसक्ने र यो योजना पहिलो पटकको लागि २०७७ कात्र्तिक मशान्त सम्म रहने ऋण प्रवन्धक परमेश्वर दाहालले बताए ।

संस्थाले गरेको सर्वेक्षणका क्रममा १ हजार १ सय २० सदस्यहरुलाई विभिन्न प्रश्न सोधिएको मध्ये कोभिडका कारण १ सय ३५ जना सदस्यले व्यवसाय र जागिर गुमाउनुपरेको, ४ सय ५२ जनाको व्यवसाय रोकिएको, ४३ जना सदस्यले हालको व्यवसाय परिवर्तन गर्न चाहेको, ३ सय ८८ जना सदस्यले ऋणको ब्याजदर छुट दिनुपर्ने र ६ सय २३ जना सदस्यले सरकारले उचित वातावरण तयार गर्नुपर्ने मत राखेका थिए । यसैको आधारमा संस्थाले आफ्नो सदस्यहरुको व्यवसाय र रोजगारी सुचारु गर्नका लागि कोभिड केयर लोन शुरुवात गरेको हो । यसभन्दा अगाडि संस्थाले सदस्यहरुलाई ब्याजमा १० प्रतिशत छुट दिएको, सरकारद्धारा स्थापित कोभिड राहत कोषमा सहयोग गरेको र आफ्ना सदस्यहरुलाई विभिन्न सहयोग र राहत समेत प्रदान गर्दे आइरहेको छ ।

You might also like

Comments are closed.