लमजुङको गिलुङमा क्यान कास्कीको पर्यटन प्रवद्र्धन भ्रमण

आर्थिक आवाज
पोखरा, १२ जेठ । कम्प्युटर एसोसिएसन महासंघ (क्यान) कास्कीको आयोजनामा पर्यटन प्रवद्र्धन भ्रमण सम्पन्न भएको छ । लमजुङको क्होलासोथर गाउँपालिका ९ अन्तर्गत पर्ने पर्यटकीय गाउँ गिलुङमा भ्रमण भएको हो । शुक्रबार र शनिबार भएको भ्रमणमा क्यान कास्कीमा आबद्ध ४० जना व्यवसायी सहभागी भएको अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

गिलुङमा पछिल्लो समय व्यावसायिक होमस्टे सेवा सुरु भएको छ । गुरुङ भाषा र संस्कृतिको अध्ययनका लागि पनि उक्त गाउँपालिका प्रशिद्ध छ । आन्तरिक पर्यटन प्रवद्र्धनको लक्ष्यसहित भ्रमण आयोजना गरिएको कार्यक्रम संयोजक कृष्णराज पोखरेलले बताए ।

क्यानका गण्डकी प्रदेश अध्यक्ष चिन्तामणि बास्तोलाले भ्रमणले पर्यटन प्रवद्र्धन र गिलुङको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । क्यान कास्कीका पूर्व अध्यक्ष चण्डीप्रसाद अर्याल, गुणानिधि पाण्डे लगायतले सूचना तथा प्रविधिलाई पर्यटन प्रचारप्रसारमा जोड्नुपर्ने बताए ।

स्थानीयबासीको आतिथ्य संत्कार गर्ने शैली र बस्नका लागि शान्त वातावरण गिलुङको विशेषता रहेको गिलुङ समाज पोखराका अध्यक्ष तथा क्यान कास्कीका संस्थापक कोषाध्यक्ष दुधमान गुरुङ (आशिस)ले बताए । ‘गण्डकी प्रदेशको केन्द्र पोखराबाट गिलुङ नजिक पर्छ,’ उनले भने, ‘गिलुङ पुगेपछि भरपुर मनोरञ्जन लिन सकिन्छ ।’

You might also like

Comments are closed.