लायन्सको सहयोगमा विद्यालय भवन बन्दै

दमौली, ८ फागुन
तनहुँको व्यास–१२ छिर्कन स्थित अमरज्योति माध्यमिक विद्यालय भवन निर्माणका लागी लायन्स क्लब इन्टरनेशनलले सहयोग गरेको छ ।
विद्यालयको भवन निर्माणका क्लबले रु. दुई करोड ५० लाख सहयोग गरेको छ । २०७२ सालमा गएको भूकम्पले क्षति पुगेको विद्यालय भवन निर्माणका लागि तनहँु लायन्सको सिफारिसमा उक्त सहयोग प्राप्त भएको हो ।

२०७६ कात्तिक सम्म निर्माण सम्पन्न हुने भवन दुई तलाको हुनेछ भने भवनमा ८ कोठा रहनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित भण्डारीले हाल रहेको भवन जीर्ण रहेकाले नयाँ भवन निर्माणपछि पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।नयाँ बन्न लागेको विद्यालय भवनको लायन्स क्लब अफ नेपाल ३२५ बी १ का डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले गएको सोमबार शिलान्यास गरेका हुन् ।

स्वास्थ्य, शिक्षा र अपाङ्गताको क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएको लायन्स क्लबले अपाङ्गता भएकालाई ह्विलचियर, दृष्टिविहीनलाई सेतो छडी र बहिरालाई श्रवणयन्त्र वितरणसमेत गरिरहेको छ ।

लायन्स क्लबकै सक्रियतामा नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशालाका लागि रु एक करोड आर्थिक सहयोग प्राप्त हुने क्रममा रहेको छ भने यसअघि दमौली अस्पताललाई रु १६ लाख बराबरको उपकरण हस्तान्तरण भइसकेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.