लेखनाथ महोत्सवको तयारी तिब्र, स्थानीय उत्पादनको प्रवद्र्धन गरिने

आर्थिक आवाज
लेखनाथ, १९ मंसिर । लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गरिने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा पुस ३ गतेदेखि हुने ‘१६औं लेखनाथ महोत्सव’मा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताम राखिने संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।

‘महोत्सव मार्फत स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नेछौं,’ उनले भने, ‘कृषिका उत्पादनलाई प्राथमिकता राखिएको छ ।’ महोत्सवमा राखिने स्टलहरुमा पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको संघका अध्यक्ष बलराम ढकालले बताए । ‘महोत्सवमा स्थानीय उद्योगी व्यवसायीलाई प्राथमिकता दिएर स्टल राखिनेछ,’ उनले भने ।

महोत्सवको तयारीलाई तिब्र बनाइएको संघका उपमहासचिव तथा प्रचार–प्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । ‘महोत्सव अन्तर्गतका सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन्,’ उनले भने । महोत्सवमा ३ सय ३६ वटा स्टल रहनेछन् ।

‘महोत्सव लेखनाथको संस्कृित, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ नाराका साथ हुने महोत्सवको २ लाख ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको विश्वास छ । १२ देखि १५ करोड रुपैयाँ महोत्सवमा आर्थिक कारोवार अनुमान रहेको संघका वरिष्ठ उपाध्यक्ष क्षत्रधर आत्रेयले बताए ।

१ करोड ३० लाख रुपैयाँ आम्दानी गरी १ करोड १० लाख रुपैयाँ खर्च कटाउँदा २० लाख रुपैयाँ बचत गर्ने संघको लक्ष्य छ । बचत रकमबाट प्रदर्शनी स्थलको स्तर उन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने कोषाध्यक्ष एवं आर्थिक संयोजक जानुका पराजुलीले जानकारी दिइन् । महोत्सवलाई एडभान्स ग्रुपको एड्भान्स सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।

You might also like

Comments are closed.