वर्तमान सरकारबाटै विकास र समृद्धी : प्रचण्ड

सन्देश श्रेष्ठ
पोखरा, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन् । कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले अपेक्षाकृत सफलता नगरेपनि वर्तमान सरकारको विकल्प नभएको बताएका हुन् । उनले भने, ‘वर्तमान सरकारको विकल्प खोज्ने हैन, यहि सरकारलाई सफल बनाउने हो, यहि सरकारबाटै विकास र समृद्धी ल्याउने हो ।’

‘वर्तमान सरकारले शुरुमा भ्रष्टाचारी, सुन तस्करी, सिण्डिकेटलगायत बिरुद्ध राम्रो शुरुवात गरेको थियो, तर त्यसलाई तार्किक निश्कर्षमा पु¥याउन सकेन, यो किन हुन सकेन हामी यसको समीक्षा गर्दैछौंं,’ उनले भने । सरकारले देशभित्र केन्द्रित भएर नयाँ गतिका साथ विकास र समृद्धिका लागि काम गर्ने बताए । यसबारेमा पनि पार्टीभित्र छलफल चलिरहेको उनको भनाई थियो । सरकारले एक वर्षमा देखिनेगरी काम नगरेपनि वैदेशिक सम्बन्ध स्थापित गर्न, कानून बनाउन धेरै काम गरेको उनले बताए । उनले भने, ‘भारतसँग सम्बन्ध बनाउन यो सरकारले ऐतिहासिक सफलता हासिल गरेको छ, दशकौंदेखिको डुबान समस्या, हवाई रुटका लागि ४ रुट दिने कुरा, पूर्व पश्चिम रेलमार्ग निर्माण लगायतबारे सम्झौता भएको छ, चीन सरकारसँग ४ वटा बन्दरगाह बनाउने कुराले नेपालको परिभाषा ल्याण्ड लक्डबाट ल्याण्ड लिंक्डको रुपमा परिणत भएको छ, यो दुई तिहाई सरकार भएकै कारणले मात्र हो, यो चानचुने कुरा होइन ।’

jutta mela

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आउँदो आर्थिक वर्षमा बृद्धभत्ता बढाइने बताए । बृद्धभत्ता नबढाउँदा सरकारले काम गरेन भन्ने गुनासो आइरहेको भन्दै उनले भने, ‘चुनावताका हामीले गरेका बृद्धभत्तासहित सबै प्रतिबद्धता पूरा गर्छौं, अझ यो वर्षको क्षतिपूर्तिसहित आउँदो वर्ष बृद्धभत्ता बढाँउछौं ।’ उनले अर्को चुनावअघि ५ हजार बृद्धभत्ता बढ्ने दाबीसमेत गरे ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिका लागि प्रयास भइरहेको बताए । उनले भने, ‘विकास र समृद्धि सबैको एउटै नारा भएको छ, यसलाई सफल बनाउन कांग्रेससहित मधेशवादी लगायतका दलहरुसँग सरकार र पार्टीले प्रयास गरिरहेको छ ।’ नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता हठातमा नभएकाले यसलाई पूर्णता दिन केही समय लागेपनि पार्टी भित्र कुनै समस्या नरहेको बताए । अब बस्ने स्थायी समिति बैठकले पार्टी एकीकरणका सबै प्रक्रिया टुंग्याउने उल्लेख गरे ।

प्रचण्डले कास्की आफ्नो जन्मभूमि भएकाले भावनात्मक सम्बन्ध स्वाभाविक भएपनि यहिंबाट चुनाव लड्ने कुनै योजना नरहेको स्पष्ट पारे । उनले आफ्नो जन्मस्थान ढिकुरपोखरीको लेवाडेमा शुभचिन्तकले जग्गा किनिदिने भएकाले जग्गा हेरेपनि घर बनाउने प्रक्रिया नटुंगिसकेको बताए ।

You might also like

Comments are closed.