वर्षाले पीपीएल प्रभावित, आइतबारदेखि मात्रै शुरु हुने

पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिता वर्षाले प्रभावित भएको छ । शुक्रबारदेखि वर्षा शुरु भएपछि आयोजकले शनिबारदेखि हुने प्रतियोगिता १ दिन पछि सारेर आइतबारदेखि मात्रै शुरु गर्ने जनाएको छ । प्रतियोगिता आइतबारदेखि शुरु हुने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ ।

एक्कासी मौषममा खराबी आएकाले तयारी पूरा भएपनि प्रतियोगिता एक दिन पछि धकेलेर आइतबारदेखि शुरु गर्न लागेको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ,‘उनले भने,‘तर एक्कासी मौषममा खराबी आएकाले बाध्य भएर निर्धारित मिति भन्दा १ दिन ढिलागरी प्रतियोगिता शुरु गर्ने भएका छौं, शनिबारदेखि हुने भनिएको प्रतियोगिता अब आइतबारदेखि शुरु हुन्छ ।’ उनले प्रतियोगिताको शुभारम्भ १ दिन पछि सरेपछि अन्य सबै खेलको मितिपनि १ दिनपछि सर्ने बताए । प्रतियोगिता पहिले सार्वजनिक गरेकै तालिका अनुसार हुन्छ,‘उनले भने,‘रिजर्भ डेको दिनपनि खेल हुन्छ, तालिकामा तलमाथि हुन्न ।’

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटनमा आइतबार घरेलु टीम पोखरा पल्टन र काठमाडौं गोल्डेन्स भिड्दै छन् । मंसिर ३० गते सोमबार विहान विराटनगर टाइटन्स र धनगडी ब्लुज आमनेसामने हुनेछन् भने दिउँसो काठमाडौं र बुटवल ब्लास्टर भिड्नेछन् ।

jutta mela

पुष १ गते पोखरा पल्टन र चितवन राइनोज प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगिता अन्तर्गत पुष २ गते २ खेल हुनेछन् । सो दिन विहानको खेलमा काठमाडौं गोल्डेन्स र धनगडी ब्लुज आमनेसामने हुनेछन् भने दिउँसो विराटनगर टाइटन्स र पोखरा पल्टन प्रतिष्पर्धामा उत्रिनेछन् ।

पुष ३ गते बुटवल ब्लास्टर र चितवन राइनोज खेल्नेछन् । पुष ४ गते भने दुई खेल हुनेछन् । उक्त दिन विहान पोखरा पल्टन र बुटवल ब्लास्टर तथा दिउँसोको खेलमा धनगडी ब्लुज र चितवन राइनोज भिड्ने छन् ।

प्रतियोगिता अन्तर्गत पुष ५ गते विराटनगर टाइटन्स र काठमाडौं गोल्डेन्स आमनेसामने हुनेछन् । पुष ६ गते विराटनगर टाइटन्स र चितवन राइनोज खेल्नेछन् भने सोहि दिन दिउँसो बुटवल ब्लास्टर र धनगडी ब्लुज प्रतिष्पर्धामा उत्रिनेछन् ।

पुष ७ गते धनगडी ब्लुज र पोखरा पल्टन खेल्नेछन् । पुष ८ गते चितवन राइनोज र काठमाडौं गोल्डेन्स, पुष ९ गते बुटवल व्लास्टर र विराटनगर टाइटन्स खेल्नेछन् । यसअघिको तालिकामा रिजर्भ डे राखिएको पुष १० गते इलिमिनेटर गेम हुनेछ । जसमा ग्रुप बि र ग्रुप सी बिच फाइनल प्रवेशका लागि खेल हुने निर्देशक लामाले जानकारी दिए । पुष ११ गते भने पहिलेकै तालिका अनुसार रिजर्भ डे हुनेछ ।

प्रतियोगिता अन्तर्गत पुष १२ गते पोखरा प्रिमियर लिगको फाइनल खेल हुने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ ।

ट्रफी सार्वजनिक

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । पोखरामा शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ट्रफी सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्रीले ट्रफी सार्बजनिक गरेलगत्तै प्रतियोगितामा भाग लिने पोखरा पल्टन, काठमाडौं गोल्डेन, चितवन राइनोज, विराटनगर टाइटन्स, धनगडी ब्लुज र बुटवल ब्लास्टरका कप्तानहरुले ट्रफी उचालेका थिए । चाँदी जडित ट्रफी ६ महिना लगाएर बनाइएको क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

ट्रफी सार्वजनिक गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा पीपीएल जस्तो अन्र्तराष्ट्रिय स्तरको प्रतियोगिता गण्डकी प्रदेशमा हुनु गौरवको विषय भएको बताए । उनले यस्ता प्रतियोगिताले क्रिकेटको व्यावसायीकरणमा सघाउने भन्दै यसका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्ता ठूला प्रतियोगिता भइराख्दा खेलाडीलाई अर्थोपार्जनमापनि सघाउने र खेलाडीले एक्पोजर पाउँदा खेलको स्तरपनि उकासिने बताए । पोखरामा स्पोर्टस टुरिजमकोसमेत अत्यधिक सम्भावना रहेको र पीपीएलले पर्यटनमा सघाउने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.