‘विद्यार्थी र अभिभावका लागि शैक्षिक मेला सुनौलो अवसर’

भूवन क्षेत्री
अध्यक्ष, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा यही मंसिर २६ देखि २८ गतेसम्म पोखराको सभागृह हलमा ‘छैटौं इक्यान शैक्षिक मेला’ हुँदैछ । मेला आयोजना गर्नुको कारण, मेलाको महत्वसहित शैक्षिक परामर्शका विविध विषयमा केन्द्रित रहेर इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीसँग आर्थिक आवाजका लागि सन्देश श्रेष्ठले गरेको कुराकानीको सारः

इक्यान फेयर विद्यार्थी र अभिभावकका लागि किन महत्वपूर्ण छ ?
विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहन्छन् । कोही एसएलसी उत्तीर्ण गरेर त कोही प्लस टु र स्नातक उत्तीर्ण गरेर । धेरैजसो विद्यार्थी विदेशमा नै उच्च शिक्षा अध्ययन गर्न चाहन्छन् । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकलाई उचित मार्गदर्शन दिने थलो हो ईक्यान फेयर । नेपालमा अध्ययन हुने विषयबाहेक अन्य विषयमा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई हामी यहिँबाट धेरै देशका विभिन्न कलेज र तिनले अध्ययन गराउने विषयबारे परामर्श दिन्छौं । विद्यार्थी आफैपनि गुगल सर्च गरेरपनि विदेशमा हुने अध्ययनबारे जानकारी लिन सक्षम हुन्छन् । तर त्यो पूर्ण हुँदैन र त्यसरी जाँदा बिच बाटोमै अलपत्र पर्ने, समस्यामा पर्ने लगायतका दूर्घटना पनि हुने गरेका छन् । शैक्षिक परामर्शदाताको परामर्श र उनीहरुको साथ लागेर जाँदा जोखिम कम हुन्छ । बिच बाटोमा अलपत्र पर्नुपर्दैन । अझ नक्कली शैक्षिक परामर्शदाताको भरमा परेर ठगिने सम्भावना पनि हुने भएकाले आधिकारिक शैक्षिक परामर्शदाता संस्थामा परामर्श लिने यो अवसर पनि हो । विदेशका कलेज तथा विश्वविद्यालयमा हुने शिक्षा, सेवा सुविधा, त्यहाँ विद्यार्थीले पाउने अवसर, आउन सक्ने चुनौति, ती देश र कलेज पुग्ने, त्यहाँ गएर सेटलमेन्ट हुने लगायतबारे आधिकारिक तथ्यको जानकारी यसमा हामीले दिने व्यवस्था गरेका छौं । त्यसैले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकका लागि इक्यान फेयर सुनौलो अवसर हो । यस अर्थमा यो महत्वपूर्ण छ ।

अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकले शैक्षिक परामर्श लिनैपर्छ कि नलिएपनि हुन्छ ?
अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावक सबैले शैक्षिक परामर्श लिनैपर्छ भन्ने अनिवार्य शर्त त छैन । विदेश नै जानुपर्छ पनि म भन्दिन । तर अध्ययनका लागि विदेश जाने हो भनेचाहिं शैक्षिक परामर्श लिएर गएमा धेरै राम्रो हुन्छ । मैले अघिपनि भने कि शैक्षिक परामर्श नलिई जाने विद्यार्थी कुनैपनि बेला समस्यामा पर्नसक्छन् । किनकि उसलाई त्यो देश र त्यहाँको कलेजको बारेमा जानकारी हुँदैन । भाषा जानेको हुँदैन । छात्रवृत्ति र अध्ययन गर्ने तरिका थाहा हुँदैन । त्यसरी एक्लै जाँदा विदेश गएर अलपत्र पनि पर्नसक्ने सम्भावना हुन्छ । कहिलेकाहिं आफै जाँदा कलेज तथा विश्वविद्यालय बन्द भइसकेका हुन्छन्, भिसा प्रक्रिया नबुझ्दा बिचौलिया घुसेर ठग्ने गर्छन् । तर हामी परामर्श दिएर सम्भावित दूर्घटनाबाट जोगाउँछौं । जोखिम न्यूनीकरणका लागि शैक्षिक परामर्शदाता संस्थाको आवश्यकता पर्छ । त्यो हामीले पूरा गर्दै आएका छौं । हामीले सम्बन्धित देश र त्यस देशमा रहेका कलेजको सूचना प्रदान गर्ने हो । भर्ना प्रक्रियामा सहजीकरण गर्ने हो, भिसा प्रक्रियामा सहजीकरण गर्ने हो र ती देशमा पुगिसकेपछि पनि विद्यार्थी, अभिभावक र कलेज तथा विश्वविद्यालय बिचमा सेतु वा पुलको काम गरिराख्ने हो । त्यसैले शैक्षिक परामर्शदाता संस्थामा परामर्श लिएर जानु विद्यार्थी र अभिभावक दुबैको लागि राम्रो हुन्छ । तर विज्ञापनको आधारमा खोलिएका संस्था भन्दा आधिकारिक तथा नियामक ढंगले चलिरहेका संस्थाहरुमा जानु भयो भने तपाईं सम्भावित जोखिम र दूर्घटनाबाट जोगिन सक्नुहुन्छ ।

jutta mela

शैक्षिक परामर्श नलिइकन अध्ययनका लागि विदेश गएमा हुनसक्ने समस्या वा दूर्घटना के–के हुनसक्छ ?
पहिलो कुरा त अहिले संसार नै डिजिटलाइजेसन भइसक्यो । हरेकको हात÷हातमा मोबाइल र सामाजिक सञ्जालमा अभ्यस्त हुन्छन् । अनि त्यहाँ अनेक किसिमका प्रलोभन देखाइने विज्ञापन देखाइन्छ । सो प्रलोभनमा परेर आफू जाने देश, कलेज र भिसा प्रक्रिया नबुझी एकैपटक हामफाल्दा दूर्घटना निम्तिन सक्छ । शैक्षिक परामर्श नलिइजाँदा भाषाको समस्या आउनसक्छ । जसका कारण विद्यार्थीको अध्ययन नै अलपत्र पर्न सक्छ । त्यहाँ गएर पार्टटाइम जब नपाउन सक्छ । अझ भनौं आफूजाने कलेज वा विश्वविद्यालय नै खारेज भइसकेको हुनसक्छ । यसले गर्दा विद्यार्थीको भविष्य नै डामाडोल हुनसक्छ । त्यतिमात्र होइन, कुन कलेज वा विश्वविद्यालयले कहिले छात्रवृत्ति निकाल्छ ? त्यो कसरी भर्ने ? लगायतबारे पनि नजान्दा त्यस्ता अवसर पनि खेर जानसक्छ । यी सबै शैक्षिक परामर्शदाता संस्थाहरुलाई थाहा हुन्छ र यसबाट विद्यार्थी र अभिभावकलाई फाइदा हुन्छ ।

विद्यार्थी अध्ययनको लागि विदेश किन जाने ?
आजको दुनिया ग्लोबल भिलेजको रुपमा विकसित भइरहेको छ । नेपालको शिक्षा पूरै अपुरो, अधुरो त हामी भन्दैनौं । तर यहाँको शिक्षा परम्परागत छ अहिलेपनि । वैज्ञानिक छैन । सीपमूलक छैन जसले अध्ययनपछि जागिर दिलाओस् तथा उद्यमशील बनाओस् । नेपालको शिक्षा पद्धती सैद्धान्तिक मात्र छ । प्राक्टिकल छैन । जुन भविष्यमा गएर जीवन उपयोगी र रोजगारमूलक छैन । यहाँ पढेपनि व्याचलर, नपढेपनि ब्याचलर, व्याचलरपछि पढेपनि मास्टर डिग्री, नपढेपनि त्यहि मास्टर डिग्री, यहाँ अर्को कुनै विकल्पै छैन । अर्को कुनै ब्रिजिङ लाइनचाहिं छैन । यहाँको अध्ययन र विदेशको अध्ययन आकाश जमिनको फरक छ । यद्वपि मैले दोष दिनका लागि मात्र भनेको होइन । नेपालको शिक्षा पद्धती नै त्यस्तो छ । अर्कोचाहिं नेपालमा अस्थिरता छ । अध्ययन हुने कलेजमा आन्दोलन र हुलदंगा हुन्छ । जसले विद्यार्थीको भविष्य बिगारिरहेको छ । विदेशमा अध्ययनसँगै विद्यार्थीले संघर्ष गरिरहेको हुन्छ जुन नेपालमा सम्भव छैन । उसले अध्ययन गर्दै कामको अनुभव लिइरहेको हुन्छ । र त्यसैले खर्च धानेरपनि घर खर्चका लागि नेपाल पैसा पठाउन सक्षम हुन्छ । यो उसको लागि फाइदाको कुरा हो । त्यस्तै, विद्यार्थीले विदेशमा डिग्री ग¥यो भने त्यसले अवसर सिर्जना हुन्छ । उसले सोंचेको जस्तै योग्यता अनुसारको जागिर र तलब पाउँछ । यो नेपालमा खासै सम्भव छैन ।

शैक्षिक परामर्शदाता संस्था र म्यानपावर कम्पनी लगभग उस्तै हुन् भन्ने आरोप छ । यसबारे के भन्नु हुन्छ ?
यो गलत हो । म्यानपावर कम्पनी र हामी शैक्षिक परामर्शदाता संस्था फरक–फरक हौं । म्यानपावर कम्पनी भनेको श्रमिक (लेवर) पठाउने संस्था हो । उसले रोजगारीका लागि मानिस विदेश पठाउँछ । तर शैक्षिक परामर्श दातृ संस्थाले नितान्त शिक्षासँग सम्बन्धित रहेर परामर्श दिनेगर्छ । कसैकसैले विद्यार्थीले पनि विदेशमा काम गरेको आधारमा यस्तो आरोप लगाएका हुनसक्छन् । तर हामीले अध्ययनकै लागि विद्यार्थीलाई पठाउने गर्छौं । तर नेपालीको आर्थिक अवस्था अनुसार विदेशमा पढ्दै काम पनि गर्छन् । यो अन्यथा पनि होइन । किनकि हाम्रो उखानै छ, ‘कि पढेर जानिन्छ कि परेर ।’ तर म त अझ भन्छु, ‘पढेर कम परेर ज्यादा बुझिन्छ जीवन ।’ यसरी पार्ट टाइम काम गर्नु अनिवार्य शर्त होइन, स्वेच्छिक शर्त भित्र पर्छ । हामी शिक्षा मन्त्रालय अन्तर्गत र म्यानपावर कम्पनी श्रम मन्त्रालय अन्तर्गत रहेर काम गर्छन् । यस हिसाबले पनि हामीबीच आकाश जमिनको फरक छ ।

ईक्यान फेयरले विद्यार्थीलाई कस्तो अवसर सिर्जना गर्छ ?
ईक्यान फेयर हामीले त्यत्तिकै गरेका होइनौं । अध्ययनका लागि विदेश जाने विद्यार्थी समस्यामा परेकै कारणले हामीले शैक्षिक परामर्शदाता संस्था खोलेका हौं, नितान्त ती विद्यार्थीहरुलाई सहज रुपमा विदेशमा अध्ययन गर्ने मौका मिलोस् भनेर । अनि ईक्यान फेयरमार्फत एउटै थलोमा सबै संस्थाको बारेमा बुझ्ने अवसर सिर्जना गरोस भनेर कार्यक्रम गरेका हौं । हामीले सामाजिक भावले निःशुल्क रुपमा सेवा दिनकै लागि यो आयोजना गरेका हौं । पहिलो कुरा त कुन शैक्षिक परामर्श संस्था कस्तो हो ? भनेर बुझ्नलाई पनि सघाउँछ ईक्यान फेयरले । जसका कारण विद्यार्थीहरु अवैध संस्थामा नपुगुन् र नठगिउन् । सिधै कुनैपनि देशमा सञ्चालित कलेजका प्रतिनिधिसँग विद्यार्थी र तिनका अभिभावकले परामर्श लिनसक्छन् । यहीँबाट सम्पर्क बढाउन सक्छन् । जसका कारण विद्यार्थी विदेशमा पुगेपछि सहजै स्थापित हुनसक्छन् । यहाँ विद्यार्थीले आफू जान चाहेको देश, आफूले अध्ययन गर्न चाहेको कलेज, आफ्नो रुचीको विषय र सो अध्ययन हुने कलेजको बारेमा जानकारी लिनुका साथै त्यहाँ बस्दा आउने अवसरका बारेमासमेत जानकारी लिएर यो अवसरको सदुपयोग गर्न सक्छन् । ईक्यान फेयरमा एकपटक आएर अध्ययनका लागि विदेश जाँदा ख्याल गर्नुपर्ने कुराहरु, कुन देश जाने हो त्यो देश, त्यहाँका कलेज तथा विश्वविद्यालयका बारेमा जानकारी लिएर ढुक्क भएर मात्र विदेश जानका लागि विद्यार्थीलाई आग्रह गर्दछु ।

You might also like

Comments are closed.