विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना

दमौली । तनहुँको व्यास नगरपालिका–३ का राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उनले सो रकमको अक्षयकोष स्थापना गरेका हुन् । आफ्नो ८४औं जन्मदिनको अवसरमा गत वर्ष रु दुई लाखको अक्षयकोष स्थापना गरेका श्रेष्ठले उक्त कोषमा रु तीन लाख थप गरेका हुन् ।

उक्त रकम श्रेष्ठसहित छोरा शान्तकुमार श्रेष्ठ र बुहारी इन्द्रकला श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारी र प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई हस्तान्तरण गरे ।

सो रकम दमौलीस्थित शुभश्री बचत तथा ऋण सहकारीमा राजकुमार श्रेष्ठ छात्रवृत्ति कोषमा जम्मा गरिएको र कोषबाट प्राप्त हुने ब्याजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

अवकाशसँगै एक लाखको अक्षयकोष

सोही विद्यालयका शिक्षक झलकराज पौडेलले विद्यालयमा रु एक लाख पाँच हजारको अक्षयकोष स्थापना गरेका छन् । शिक्षकबाट अवकाश भएसँगै पौडेलले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । पौडेल ६० वर्ष उमेर पुगी सेवा निवृत भएका छन् । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको पौडेलले बताए ।

You might also like

Comments are closed.