विपन्न वर्गका मजदुरहरुलाई लायन्सहरुको सहयोग

पोखरा, १९ चैत । पोखराको फुलबारीमा रहेका मजदुरका ९ घर परिवारलाई लायन्सले राहत वितरण गरेको छ । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको समन्वयमा पोखरा क्षेत्रका लायन्स क्लबहरुले राहत वितरण गरेका हुन् ।

खाद्यान्नसहित औषधी, माक्स, सेनिटाइर लगायतका सामग्री सहयोग गरिएको डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले जानकारी दिए । ‘कोरोना भाइरस संक्रमण जोखिमका कारण मुलुक लकडाउन भएपछि दैनिक श्रम गरेर जीविकोपार्जन गर्दै आइरहेका मजदुर परिवारलाई समस्या भएको जानकारी पायौं,’ उनले भने, ‘लायन्सको तर्फबाट सहयोग गर्न पाउँदा हामी निकै खुसी छौं ।’

लायन्स क्लब अफ पोखरा मिड टाउन, पोखरा अमरबुद्ध, पोखरा वाराही टाउन, लेखनाथ, पोखरा गुडविल, पोखरा भैरव, पोखरा सप्तगण्डकी, पोखरा राइजिङस्टारले मजदुरहरुलाई सहयोग गरेका हुन् । डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले विपदको अवस्थामा विपन्न वर्गलाई आवश्यकता अनुसारको राहत वितरण गर्न आह्वान गरेपछि लायन्सहरु राहत वितरणमा जुटेका हुन् ।

विपन्न वर्गका मजदुरलाई राहत वितरण गरेर लायन्सले उदाहरणीय कार्य गरेको पोखरा महानगरपालिका वडा नं. ११ अध्यक्ष मोहनप्रसाद बास्तोलाले बताए । सहयोगबाट ९ घरपरिवारका २५ जना लाभान्वित भएको कोचिफ एडभाइजर राम बसेलले जानकारी दिए । रिजन चियरपर्सन सूर्यनारायण बराल, जोन चियरपर्सनद्वय शान्ता थापा र अमृतप्रसाद तिवारीले राहतमा विशेष सहयोग गरेका थिए ।

You might also like

Comments are closed.