विषादी परीक्षणमा प्रदेशको कडाई

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रिने तरकारी तथा फलफुल आयातमा कडाई शुरु गरेको छ । प्रदेश सरकारले गण्डकी प्रदेश भित्रिने सिद्धार्थ राजमार्गमा पर्ने स्याङ्जाको गल्याङ र पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरहनीमा स्थापना गरेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा विषादी परीक्षण शुरु गर्दै तरकारी तथा फलफुल आयातमा कडाई शुरु गरेको हो । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला गत चैतमै स्थापना गरिएपनि विषादी परीक्षण भने हालैमात्र शुरु गरिएको गण्डकी प्रदेश, भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले जानकारी दिए ।

‘क्वारेन्टाइन चेकपोष्ट नै राखेर विषादी परीक्षण शुरु गरेका छौं,’ उनले भने, ‘अब विषादीयुक्त सामान बाहिरबाट गण्डकी प्रदेश भित्रिदैन ।’ क्वारेन्टाइन चेकपोष्टमा विषादी मापन यन्त्र राखिएको छ । जसमा छिमेकी देश भारत वा नेपालकै अन्य प्रदेशबाट आएका सामानहरुको विषादी परीक्षण गरिनेछ । गाडीमा लोड गरेर ल्याइएका सामानहरुको नमूना संकलन गरेर परीक्षण गर्नेगरिएको मन्त्री थापाले बताए ।

विषादी परीक्षण पछि खान योग्य तरकारी तथा फलफुललाई मात्रै जाँचपास दिएर पठाइने गरिएको मन्त्री थापाले जानकारी दिए । खान अयोग्य भएको तरकारी तथा फलफुललाई त्यहिं राखेर विषादीको मात्रा घटेर खान योग्य भएपछि मात्रै छाडिने गरिएको उनले बताए । विषादीको मात्रा धेरै हुँदैमा डिस्पोज गरिहालिएको छैन,‘उनले भने,‘तरकारी तथा फलफुलमा राखेको विषादी दैनिक रुपमा घट्दै जान्छ, खान मिल्ने भएपछि जाँचपास दिएर पठाउँछौं, त्यतिञ्जेल सामान गाडीमै राख्ने गरेका छौं ।’ केहि समयपछि डिस्पोज गर्नुपर्ने भए त्योपनि गर्ने योजनामा रहेको उनले बताए ।

jutta mela

विषादी परीक्षणका लागि हाल २ जना कर्मचारी खटिएको मन्त्री थापाले जानकारी दिए । हाल एक जना कार्यालय प्रमुख र एक जना सहायक गरी दुई जना विषादी परीक्षणका लागि खटिएको उनले बताए । कर्मचारीहरुले विशेष गरेर राती विषादी परीक्षण गर्नेगरेका छन् । तरकारी लिएर आएका गाडीहरु राती २ बजेपछि मात्रै आइपुग्ने भएकाले राती राती विषादी परीक्षण हुनेगरेको मन्त्री थापाले स्पष्ट पारे । दिउँसो भन्दा राती मात्रै तरकारी तथा फलफुल आउँदो रहेछ,‘उनले भने,‘त्यहि भएर कर्मचारीको कामै दिनभरी सुत्ने, रातभरी ड्यूटी गर्ने भएको छ ।’

प्रदेशमा भित्रिने नाकामा २ जना कर्मचारीले नपुग्ने मन्त्री थापाले बताए । विषादी परीक्षण त शुरु गरियो,‘उनले भने,‘तर कर्मचारी अभाव भएको छ, अझै १ जना प्राविधिक भएमा मात्र राम्रोसँग परीक्षण गर्न सकिन्छ ।’ कर्मचारी समायोजन नभइसकेकाले प्राविधिक खटाउन नसकिएको उनले बताए । संघीय सरकारमै प्राविधिक भएकाले पनि खटाउन समस्या भएको बताउँदै उनले प्रदेश आफैले कर्मचारी नियुक्त गर्न पाउने भएपछि थप कर्मचारी खटाइने उनले बताए ।

बाह्य प्रदेशबाट आउने तरकारी तथा फलफुलको विषादी परीक्षण शुरु गरिएपनि प्रदेश भित्र नै उत्पादन हुने तरकारी तथा फलफुलको विषादीसमेत परीक्षण गर्नुपर्ने चुनौति प्रदेशसामु छ । यसका लागिपनि योजना बनिरहेको मन्त्री थापाले बताए । प्रदेश भित्र उत्पादन हुने तरकारी तथा फलफुलमा विषादीको मात्रा कम हुन्छ भन्ने हुँदैन,‘उनले भने,‘त्यसको पनि परीक्षण र नियन्त्रण जरुरी छ, त्यसका लागि हामी योजना बनाउँदैछौं ।’

यसअघी पोखराको नयाँबजारस्थित कृषि बजार उपज केन्द्रमा २ वर्षअघि विषादी जाँच गर्ने प्रयोगशाला स्थापना गरिएको थियो । तर हाल भने सो प्रयोगशालाको उपकरण बिग्रिएपछि प्रयोगशाला नै ६ महिनादेखि बन्द अवस्थामा छ ।

तरकारीमा विषादीको निशेधदर ३५ प्रतिशत भन्दा बढी भएमा खान योग्य मानिदैन । विषादीको निशेध दर ४५ प्रतिशत भन्दा बढी भेटिएमा तत्काल नष्ट गर्नुपर्ने र विषादीको निशेध दर ३५ देखि ४५ प्रतिशतसम्मको बिच भएमा चिस्यान केन्द्रमा राखेर पखालेर मात्रै खान उपयुक्त हुने बताईन्छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा नयाँबजारस्थित कृषि उपज थोक बजार केन्द्रमा दैनिक १०० देखी १२० मेट्रिक टनसम्म तरकारी भित्रिने गरेको बताईन्छ । त्यस्तै फलफूल दैनिक ७० देखी ८० मेट्रिक टन आउने गरेको छ ।

गण्डकी प्रदेशमा पृथ्वी राजमार्ग नाकाबाट धादिङ, चितवन, मकवानपूर, सर्लाही, झापा, मोरङ, सुनसरी, सप्तरीलगायतका जिल्लाबाट तरकारी, फलफूल तथा पशुपन्छीको आयात हुनेगर्छ । त्यस्तै दक्षिणी नाका सिद्धार्थ राजमार्गबाट रुपन्देही, कपिलबस्तु, पाल्पालगायतका जिल्ला तथा सुनौली र कृष्णनगर भन्सारबाट फलफूल, तरकारी तथा पशुपन्छी भित्रिने गरेको छ ।

You might also like

Comments are closed.