‘व्यवसायीलाई त्रासमा राखेर मुलुक चल्दैन’

पोखरा । नेपाल वितरक महासंघका अध्यक्ष सुरेश अधिकारीले उद्योगी व्यवसायीलाई त्रासमा राखेर मुलुक चल्न नसक्ने बताएका छन् । अधिकृत विक्रेता संघ (ड्याप) पोखराको १३औं साधारणसभा तथा सातौं महाधिवेशन उद्घाटनका अवसरमा बोल्दै अधिकारीले सरकार र व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । उनले सरकारले व्यवसायीलाई त्रासमा राखेर मुलुक संचालन गरिरहेको भन्दै व्यवसायमिैत्री वातावरण बनाउन आवश्यक रहेको बताए ।

‘व्यवसायीहरू पहिला गुण्डागर्दी गर्नेहरूसंग डराउनु पथ्र्यो । तर, अहिले सुरक्षा दिने राज्यसंगै डराउनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘यस्तै अवस्था अझै कायम रहेमा मुलुक धेरै दिन चल्न सक्दैन ।’ उद्योगी व्यवसायीले तिरेको कर कार्यकर्ता भरणपोषमा खर्च भएको तर व्यवसायीमैत्री वातावरणका लागि कुनै पनि गतिविधि हुन नसकेको उनले दुखेसो गरे । व्यवसायीहरू अब हेपिएर, डराएर होइन एकतावद्ध भई डटेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

jutta mela

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष विन्दु कोइराला सुवेदीले सरकारले नयाँ नीति ल्याउँदै गर्दा सम्बन्धित सरोकारवालासंग सरसल्लाह गरेर मात्रै ल्याउनुपर्नेमा जोड दिइन् । राज्यले व्यवसायीलाई सधैं पेल्ने काम मात्र गरेको भन्दै उनले यस्ता समस्या विरुद्ध व्यवसायी एकता आवश्यक भएको बताइन् । संस्थाका कानूनी सल्लाहकार जगन्नाथ ढकालले व्यवसायीहरू अत्यन्तै चनाखो भएर काम गर्नुपर्ने र राज्यका नीति नियमहरू राम्रोसंग बुझ्नुपर्नेमा जोड दिए ।

नेपाल वितरक महासंघका सचिवालय सदस्य दुर्गाराज श्रेष्ठले व्यवसायीलाई सधैं पेलिरहने राज्यको नीति ठीक नभएको भन्दै यसलाई सच्याउन सबै सरोकारवालाको ध्यान जानुपर्ने खाँचो औंल्याए । संघका अध्यक्ष हरिराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष बलराम तिमिल्सिना, संघका वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ, महासचिव मनोज श्रेष्ठ लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.