गत वर्ष कर्मा पाँच सय ५५ जातको सयपत्री फूल खेती गरेका थिए भने यसपालि ‘कर्मा त्रिपल एक ओरेन्ज’, ‘कर्मा त्रिपल आठ एल्लो’, ‘कर्मा त्रिपल फाइभ ओरेन्ज’, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा रोपिएका छन् । रु एक लाख तीन हजारको बीउ किनेर बेर्ना राखेको दशरथले बताए । सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर बेर्ना उमारेको उनले जानकारी दिए ।
उनले भने, “यसपालि दुई लाख बिरुवा बेर्ना बिक्री भैसक्यो, बिरुवाको जात हेरेर रु दुईदेखि रु ५० सम्ममा बिक्री हुने गरेको छ, बेर्ना बिक्री गरेर पनि आम्दानी गर्ने गरेका छौँ ।” कपिलवस्तुमा पहिलेदेखि नै फूल खेती भइरहेको तथा यस वर्षदेखि कोहलपुर र कैलालीमा फूल खेती विस्तार गरिएको उनले बताए । युवाहरू वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्करको भनाइ छ । बेरोजगार युवाहरूलाई कृषिमा जोड्ने उद्देश्यले उक्त फार्मको नाम नै एक सय आठ राखेका छन् । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको उनले बताए ।
जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके आयआर्जनको बलियो आधार हुने उनि बताउछन् । यसपालि फूल खेतीको क्षेत्र विस्तार गरेकाले उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने उनको धारणा छ । फूलमा नेपाललाई आत्मनिर्भर गराउने उद्देश्यले विभिन्न जिल्लामा क्षेत्र विस्तारको योजना रहेको भास्करले बताए । रासस
Comments are closed.