लेखनाथ । पोखरा महानगरपालिका वडा नं. ३० मा रहेको विपद व्यवस्थापन सहयोग तथा सञ्चालन समितिले शव बहान किन्ने भएको छ । वडासहित पोखरा तथा आसपासका क्षेत्रमा सञ्चालन गर्ने गरी शव बहान किन्न लागिएको समितिका अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए । शव बहान किन्नका लागि सहयोग संकलन भइरहेको ओझाले बताए ।

यसैक्रममा शव बहान किन्नका लागि लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालको क्लस्टर २२ अन्तर्गतका क्लबहरुको संयुक्त पहलमा समितिलाई हस्तान्तरण भएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्सका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले विपद व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र ओझा तथा वडा अध्यक्ष श्रीराम पोखरेललाई ५० हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरे ।

क्लस्टरबाट बाँकी रहेको रकम र क्लस्टर अन्तर्गतका क्लब र सदस्यहरुको सहयोगमा रकम हस्तान्तरण गरिएको रिजन चियरपर्सन सूर्यनारायण बरालले जानकारी दिए । सोही अवसरमा लायन्सका जोन चियरपर्सन शान्ता थापाले ११ हजार रुपैयाँ र लायन्स क्लब अफ लेखनाथ सिमसारले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

समितिले कोरोना महामारी तथा लकडाउनका समयमा वडामा राहत वितरण, मृगौला तथा क्यान्सरका बिरामीलाई आर्थिक सहयोग गर्दै आइरहेको ओझाले जानकारी दिए । मजदुरहरुले काम नपाएको अवस्थामा तथा निर्माण व्यवसायीले मजदुर नपाएको अवस्थामा समन्वयसमेत गरिएको उनले बताए । वडालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने गरी व्यावसायिक कृषिमा जोड दिइएको वडा अध्यक्ष श्रीराम पोखरेलले जानकारी दिए ।




Comments are closed.