शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको विकास गरी देशलाई समृद्धितर्फ लैजान महोत्सव

लालकाजी गुरुङ
अध्यक्ष, युनाइटेड क्लब, पोखरा

युनाइटेड क्लब पोखराको आयोजनामा पुस २९ देखि माघ १२ गतेसम्म पोखराको अमरसिंहचौरमा पोखरा महोत्सव हुँदैछ । महोत्सव आयोजना गर्नुको उद्देश्य, आकर्षण लगायत विविध विषयमा केन्द्रित रहेर क्लबका अध्यक्ष लालकाजी गुरुङसँग आर्थिक आवाजले गरेको कुराकानीः

महोत्सवको उद्देश्य के हो ?

महोत्सवको मुख्य उद्देश्य भनेको शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको विकास गरी देशलाई समृद्धितर्फ लैजानु हो । कला, संस्कृति, भाषा, भेषभूषाको जगेर्ना गर्दै यसको संरक्षण र प्रवद्र्धन गर्नुपनि महोत्सवको उद्देश्य हो । कलाकारहरुको कला प्रष्फूटन गर्नु, पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै पर्यटन प्रवद्र्धन गर्नुपनि महोत्सवको उद्देश्य हो । औद्योगिक उत्पादनको प्रवद्र्धन गर्नु, स्थानीय उत्पादनको बजारीकरण गर्नु, भिजिट नेपाल २०२० को प्रवद्र्धन गराउनु, आर्थिक चलायमान गराउँदै अर्थोपार्जनमा सघाउनु लगायतका कार्यहरु नै महोत्सवको मुख्य उद्देश्यहरु हुन् ।

jutta mela

महोत्सवका आकर्षणहरु के–के छन् ?

महोत्सवको मुख्य आकर्षणको रुपमा यसपटक अन्तर्राष्ट्रिय व्याण्ड हुनेछ । यसअघि एउटा मात्र अन्तर्राष्ट्रिय व्याण्ड हुन्थ्यो भने यस वर्ष २ वटा अन्तर्राष्ट्रिय व्याण्ड हुन्छ । सामुहिक नृत्य प्रतियोगिता, बाल उद्यानलगायत महोत्सवका प्रमुख आकर्षण हुन् ।

महोत्सवले आर्थिक चलायमान कसरी बनाउँछ ?

महोत्सवमा दर्शकको चहलपहल बाक्लो हुन्छ । औद्योगिकदेखि स्थानीय उत्पादनसमेत महोत्सवमा राखिन्छ । ती राखेका सामानहरु दर्शकले खरिद गर्छन् भने उद्योगी, व्यवसायी र किसानले आफूले उत्पादन गरेका सामानहरु बिक्री गर्छन् । सामान खरिद बिक्री हुनु भनेको नै आर्थिक चलायमान हुनु हो ।

भिजिट नेपाल २०२० लाईचाहिं महोत्सवले कसरी सघाउँछ ?

महोत्सवमा २ लाख भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । भिजिट नेपाल २०२० बाह्य मात्रै नभई आन्तरिक पर्यटकसमेत आएपछि मात्र सफल हुन्छ । आन्तरिक पर्यटक मेला महोत्सवका लागि आउँछन् । केही मात्रामा विदेशी पर्यटकसमेत मेला अवलोकनका लागि आउँछन् । यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटक पोखरा आउनका लागि महोत्सवले सघाउने भएकाले यसले समग्र भिजिट नेपाललाई नै सघाउँछ भन्ने हाम्रो ठम्याई हो । महोत्सवमा हामीले गण्डकी प्रदेशमा रहेका होम–स्टेहरुलाई निःशुल्क स्टल पनि उपलब्ध गराएका छौं । जसले गर्दा गाउँमा रहेका होम–स्टेको प्रवद्र्धन हुने र आएका दर्शकहरु त्यस्ता होम–स्टेबारे जानकारी लिएर पछि जानसक्ने भएकाले यसले पनि पर्यटनमा सघाउने विश्वास लिएका छौं ।

महोत्सवमा दर्शकले फरक स्वाद के पाउँछन् ?

महोत्सवमा हामीले यसपटक समूह नृत्य प्रतियोगिता आयोजना गर्दैछौं । त्यस्तै कला, संस्कृति जगेर्ना गर्ने उद्देश्यले हामीले कला, संस्कृति प्रदर्शन गर्दैछौं भने मेलाको शुभारम्भको अवसरमा झाँकी प्रदर्शनीलगायतका कार्य गर्दैछौं । महोत्सवमा हामीले शिक्षामूलक डकुमेन्ट्री प्रदर्शन गर्दैछौं । विद्यार्थीलाई दण्डरहित शिक्षा दिनुपर्छ । दण्ड दिदा विद्यार्थीमा कस्तो असर पर्छ भन्नेबारेमा निर्माण गरिएको शिक्षामूलक डकुमेन्ट्री प्रदर्शन गर्न लागेका हौं ।

हरेक महोत्सवमा नयाँ प्रोडक्ट थप्दै आउनु भएको छ । यसपटक के थपिदैछ ?

हो, हामीले हरेक वर्ष नयाँ प्रोडक्ट दिने हाम्रो प्रयास हो । हामीले यसअघि उटदेखि चिडियाखानासम्म घुमायौं । हामीले यसपटक भने हात्ती ल्याउने प्रयास गर्दैछौं ।

महोत्सवको प्रायोजकमा यहाँहरुले अल्कोहलिक व्राण्डहरु राख्नुहुन्न रे किन ?

युनाइटेड क्लब एउटा विशुद्ध सामाजिक संस्था हो । महोत्सव नाफा र मनोरञ्जनका लागि मात्रै नभएर सामाजिक उत्तरदायित्व वहन गर्नका लागि पनि गरिन्छ । महोत्सव गर्दा नकारात्मक सन्देश नजाओस् भन्नेमा हामीसचेत छौं । युवाहरु जाँड रक्सीको कुलतमा नफसुन् भन्ने उद्देश्यले नै हामीले प्रायोजकमा अल्कोहलिक व्राण्डहरु राख्दैनौं । यो हामीले स्थापना कालदेखि नै राखेका छैनौं र अबपनि राख्दैनौं ।

महोत्सवमा दर्शक किन आउने ?

महोत्सवमा दर्शक सामान खरिद गर्न आउनुपर्छ । यहाँ अन्य ठाउँको तुलनामा सस्तोमा सामान पाइन्छ । प्रत्येक दर्शकको टिकटको आधारमा पोखरा मिट प्रोडक्टले २५ देखि ३० रुपैयाँ सस्तोमा मासु प्राप्त गर्ने भएकाले योपनि दर्शकका लागि मौका हो । सांगीतिक कार्यक्रममा झुम्दै मनोरञ्जन लिनका लागि, बाल उद्यानमा बालबालिकासँगै आफूपनि रमाउनका लागि, औद्योगिकदेखि हस्तकलाका सामानसम्म कसरी उत्पादन हुन्छ जानकारी लिनका लागि अर्थात दर्शकले चाहेको सबै कुरा महोत्सवमा भएकाले जसलाई जे चाहिएको छ त्यो प्राप्त गर्नका लागि मेलामा आउनुपर्छ । म मेलामा आएर आफूलाई चाहिए अनुसारको सेवा लिनुहुनपनि अनुरोध गर्दछु ।

You might also like

Comments are closed.