शिथिल पर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्न ऋणमा पुर्नताजगीकरण

व्याजमा अनुदान तथा थप कर्जा प्रवाह गरिने

पोखरा ।

गण्डकी प्रदेश सरकारले कोरोना महामारीका कारण शिथिल पर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्न भूमिका खेल्ने भएको छ । गण्डकी प्रदेश सभाको बजेट अधिवेशनमा बुधबार ‘विनियोजन विधेयक २०७७÷७८ को सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कोरोना महामारीका कारण शिथिल पर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्न ऋणमा पुर्नताजगीकरण, व्याजमा अनुदान तथा थप कर्जा प्रवाह गर्न गराउन वैंकिङ तथा वित्तिय संस्थाहरुसँग समन्वय र सहजीकरण गर्ने जानकारी दिएका हुन् । उनले पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि प्रदेशको श्रोत र साधनका आधारमा विशेष कार्यक्रम सञ्चालन पनि गर्ने बताए ।

आगामी आर्थिक वर्षको बजेट कोरोना केन्द्रित भएर आउने बताउँदै उनले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्ने कार्य प्रभावकारी बनाउँदै यसले अर्थतन्त्रमा पारेको प्रभावबाट राष्ट्रिय अर्थतन्त्रका सबै क्षेत्रलाई बचाउने, जोगाउने र पुरानै अवस्थामा फर्काउनुपर्ने गरी बजेट आउने जानकारी दिए ।

मन्त्री गुरुङले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार प्रभावकारी बनाउन आवश्यक श्रोत र साधन सुनिश्चित गरिने, क्वारेन्टिनहरुको गुणस्तर र क्षमता अभिबृद्धि तथा व्यवस्थापन, संक्रमितहरुको प्रभावकारी उपचारका लागि विशेष अस्पताल निर्माण गरिने बताए । कोरोनाका कारण रोकिएका, चालु महत्वपूर्ण योजनाहरुलाई प्राथमिकताका साथ बजेट छुट्याइने पनि उनले बताए । कोरोना महामारीका कारण रोजगारी गुमेका श्रमिकको सीप र क्षमताका आधारमा वैकल्पिक रोजगारीको ब्यबस्था गर्ने जनाएको छ ।

प्रदेश सरकारले दीगो र समावेशी विकासमार्फत आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उन्मुख बजेट ल्याउने जनाएको छ । जसका लागि सार्वजनिक खर्चमा वित्तिय पारदर्शिता, मितव्ययिता र उत्तरदायित्वलाई कडाईका साथ पालना गर्दै आर्थिक अनुुशासन, वित्तिय सुशासन कायम गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित आन्तरिक उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने, स्वरोजगार तथा रोजगारी सिर्जना गर्ने र गरिबी निवारणमा सहयोग पु¥याउने कार्यक्रमलाई जोड दिइने मन्त्री गुरुङले जानकारी दिए ।

बृहद पोखरा चक्रपथ, प्रदेश बसपार्क र मेट्रो बसपार्कको सम्भाव्यता अध्ययन तथा निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने, प्रदेशका सबै घरधुरीमा खानेपानीको पहुँच पु¥याउने, गण्डकी प्रदेश उज्यालो प्रदेश, नवीकरणीय उर्जा कार्यक्रम, जनता आवास कार्यक्रमलाई निरन्तरता दिइने, पोखरा स्याटेलाइट सिटी उपसहर निर्माणलाई निरन्तरता दिइनेपनि उनले उल्लेख गरे ।

प्रदेशमा अत्याधुनिक प्रविधिसहितको संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ । गण्डकी विश्वविद्यालय अन्तर्गत एक शिक्षण अस्पताल स्थापना निर्माण गर्नका लागि बजेट विनियोजन गरिने उनले उल्लेख गरे ।

सरकारले आगामी वर्ष गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने कार्यक्रम ल्याउने जनाएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण, प्रतियोगिता आयोजना, खेलाडीलाई प्रोत्साहनका साथै आगामी वर्ष गण्डकी प्रदेशमा हुने नवौं खेलकुदको लागि आवश्यक बजेट विनियोजन गरिने जनाइएको छ । महिला उत्थान, लैंगिक समानता कायम गर्न जोड दिइनेपनि उनले उल्लेख गरे ।

सरकारले कृषि क्षेत्रमा रोजगारीको सिर्जना गर्दै उत्पादन बृद्धि ल्याउने कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ भने सामुहिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने, कृषि विमा, मूख्य कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने, मूल्य श्रृंखलामा आधारित उद्योग÷व्यवसायलाई प्रोत्साहित गर्ने मन्त्री गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.